free webpage hit counter कविता- म, आदीम देशभक्त - RatoKalam.com is No one news portal.

कविता- म, आदीम देशभक्त

– मञ्जुल मितेरी

तिम्रो कल्पना, स्वेरकल्पनाभन्दा पर
तिम्रो ‘कलियूग’भन्दा पर
जतिखेर तपोबनका पिपलहरु
बिरुवा सर्दैथिए यही हिमालको काखमुनि
र, म बुर्कुसी खेल्दै
नाघिहिंड्दथे तिनलाई यही पहाडको फेदमुनि

तिमी थिएनौ त्यतिबेला
थियो त केवल यो हिमाल
अनि यो पहाड
यी नदीहरुको त भर्खरै रेखाङ्कन हुदैथियो
तिमी थिएनौ त्यतिबेला
थियो त केवल यो जुन
अनि यो घाम
यी ऋतुहरुको त भर्खरै पहिचान हुदैथियो

म नाङ्गै थिए
नाङ्गै हिंड्दथें, नाङ्गै निदाउॅथे
भोर्लेका पातहरु त
धेरैपछि मेरो आङ ढाक्न आएका हुन्

पछि
धेरै पछि
जब पत्ता लगाए मैले
मेरो शरीरको बान्की
अनि
यी हिउॅद र बर्खाको चिसो तातो
भोर्लेका पातलाई मैले नै बनाएको हुॅ
धोती, कछाड, दौरा शुरुवाल
चौबन्दी र फरीया
प्रत्येक बिहान मैले देख्ने
सगर छुने हिमाललाई
मेरो शीरमा सजाउन
मैले नै बनाएको हो ढाका टोपी
ती उकाली ओरालीका सुस्केराहरुमा
मैले नै गुन्गुनाएको हो
पालाम, मारुनी, रोधी र देउडा

ती समथर फाॅटहरुमा मैले
धान फलाए, मकै फलाए
ती पाखेबारीहरुमा मैले
कोदो फलाए, जुनेलो फलाए
बग्दै गरेका कोशी, गण्डकीलाई छेक्न
खेतमा आली बनाए, गारो बनाए
भस्मे र खोरिया फाॅडेर मैले
हसिंया बनाए, कोदालो बनाए
मैले नै फेला पारेको हो, भेला पारेको हो
वेद, मुन्धुम र त्रिपिटकका ठेलीहरु

माटोसॅग खेल्दाखेल्दै
म कालो भए, म गोरो भए
आरन र औजारसॅग खेल्दाखेल्दै
म कुरुप भए, म सुन्दरभए
वेद, मुन्धुम र त्रिपिटक पढ्दापढ्दै
म अग्लो भए, म होंचो भए

म बयेली खेल्थें ती बतासहरुसॅग
अनि निर्धक्क हुईंकिन्थें
मेची र कालीका किनार किनारसम्म
मलाई मेरो देशको मानचित्र थाहा थिएन
मलाई मेरो देशको रङ्ग थाहा थिएन
त्यो सेतो हिमालको छातीदेखि तल
तराईका हरिया जङ्गलदेखि माथी
धोती कछाड, दौरा सुरुवाल
चौबन्दी र फरीयामा
देश बोकेर म
पालाम, मारुनी, रोधी र देउडा नाच्दथें

मैले लगाएको टोपीमा –
देश थियो
मैले आरनमा पिटेको फलाममा –
देश थियो
मैले रोपेको धान,मकै,कोदो र जुनेलोमा –
देश थियो
मैले पढेका मुन्धुम, वेद र त्रिपिटकमा –
देश थियो
म जन्मदा मर्दा, रुॅदा हाॅस्दा –
यहाॅ देशैदेश थियो
केवल मेरो देश थियो ।

तर,
पछि
धेरै पछि
त्यो मेरो आदीम देशप्रेमलाई
अंशबण्डा लगायौ, परिभाषा लगायौ
तिमीले ।

तिमी कसरी भन्न सक्छौ?
मैले कछाड लगाए – त्यसैले मात्रै म देशभक्त
मैले धोती लगाए – त्यसैले मात्रै म देशभक्त?
मैले दौरा सुरुवाल लगाए – त्यसैले मात्रै म देशभक्त
मैले चौबन्दी र फरीया लगाए- त्यसैले मात्रै म देशभक्त?
मैले आरनमा फलाम पिटेर
बन्दुक र तरवार बनाए – त्यसैले मात्रै म देशभक्त
मैले वेद, मुन्धुम वा त्रिपिटक गुन्गुनाए
त्यसैले मात्रै म देशभक्त?
म कालो भए – त्यसैले मात्रै म देशभक्त
म गोरो भए – त्यसैले मात्रै म देशभक्त?
मैले झण्डा सिलाए- त्यसैले मात्रै म देशभक्त
मैले तरवार चलाए – त्यसैले मात्रै म देशभक्त?

अहॅ, होईन
हुदै होईन ।
म त एक आदीम देशभक्त हुॅ
भो
मेरो यो देशभक्तीलाई परिभाषा नलगाऊ
मेरो देशभक्तिमाथी औंला उठाउने
तिम्रो कुनै औकात छैन
किनकी
तिम्रो कल्पना, स्वेरकल्पनाभन्दा पर
तिम्रो ‘कलियूग’भन्दा पर
जतिखेर तपोबनका पिपलहरु
बिरुवा सर्दैथिए यही हिमालको काखमुनि
र, म बुर्कुसी खेल्दै
नाघिहिंड्दथे तिनलाई यही पहाडको फेदमुनि
हो त्यतिखेरैदेखि
म देशभक्त थिए
छु
र रहिरहनेछु ।

 

अन्तरवार्ता

थप...