free webpage hit counter पत्रकारितासँगै कृषि उद्यममा गौतम - RatoKalam.com is No one news portal.

पत्रकारितासँगै कृषि उद्यममा गौतम

मधुमल्ला:पूर्वी मोरङका सञ्चारकर्मी सन्तोष गौतम पत्रकारितासँगै कृषि उद्यमतिर लागेका छन् । विगत ७ बर्षदेखि ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका मोरङ मिक्लाजुङका गौतमले १ बर्षदेखि कृषि पेशा अंगालेका हुन् । उनको पत्रकारिता पेशाको लगाव र निरन्तरता लोभलाग्दो छ ।

पूर्वी मोरङका पत्रकारहरुको संस्था सञ्चार क्लब नेपालको सचिबसमेत रहेका सन्तोष स्थानीय संचारमाध्यममा आबद्ध रहेका छन् । उर्लाबारीबाट प्रकाशित हुने राष्ट्रिय समाचार पत्रको मिक्लाजुङ समाचारदाता सन्तोष नेपाल पत्रकार महासंघ मोरङको साधारण सदस्य पनि हुन् । सन्तोष कृषि र खोजी पत्रकारितामा दख्खल राख्छन् । उनको परिचय यतिबेला पत्रकारितामा मात्र सीमित छैन । उनी यतिबेला मिक्लाजुङका अगुवा कृषकका रुपमा परिचित छन् । उनी नेपाल बोइलर कुखुरा पालक किसान संघका मोरङ जिल्ला सह–सचिब हुन्् । सन्तोषले बुवा रुद्रप्रसाद गौतम, काका सोमनाथ गौतम र दाजु दिपक गौतमसँग मिलेर कृषि फार्मलाई अगाडि बढाएका छन् । उनीहरुले मिक्लाजुङ वडा नं. ७ मा डेढ विगाहा जग्गा खरिद गरी ७० लाख रुपैयाँको लगानीमा गौतम कृषि फार्म सञ्चालन गरेका छन् । उक्त फार्ममा ३ हजार बोइलर कुखुरा छन् भने ५ सय हाँस छन् । १५ कट्ठा क्षेत्रफलमा माछापानल गरिएको छ ।

उक्त कृषि फार्मबाट मासिक रुपमा १ लाख रुपैयाँदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ । समाचारको खेती गर्ने पत्रकारिता पेशासँगै कृषि पेशा सन्तोषले आर्यआर्जनको अर्काे आधार बनाएका छन् । अहिले उनले कृषि पेशाबाट वार्षिक २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । पछिल्लो समय सन्तोषले आफ्नो ध्यान पत्रकारितासँगै कृषि पेशामा केन्द्रित गरेको बताए । सरकारले कृषिलाई प्राथमिकतामा राखेपनि राहत तथा अनुदान सम्बन्धि कृषकसम्म पुर्याउन नसकेको उनको गुनासो छ । सरकारले कृषकले उत्पादन गरेको बोइलर कुखुराको उचित मूल्य निर्धारण गर्न नसकेको कारण पछिल्लो समयमा आन्दोलित बन्नु परेको उनले बताए । दाना तथा चल्ला उद्योगहरुले आफू खुशी मूल्य निर्धारण गर्ने गरेको तर, कृषकले उत्पादन गरेको कुखुराको मूल्य कोल्ड स्टोर र डिलरहरुको हातमा निर्भर रहने परम्पराको अन्त्य भएको खण्डामा कुखुरा पालनबाट मनग्गे आम्दानी गर्न सकिने उनको भनाई छ । नेपालमा अधिकांश खुल्ला सीमाना रहेकाले सिमानामा उच्च निगरानी, भारतीय कुखुराहरुलाई नेपालमा रोक, किसानलाई सहुलीयत दरमा बित्तिय संस्थाहरुले ऋण प्रवाह, महामारी फैलने सक्ने व्यवसाय भएकाले किसानलाई राहत कोषको व्यवस्था, पोल्ट्री सेक्टरमा प्रयोग हुने सामग्रीहरुको गुणस्तर निर्धारण, दाना र चल्लाको मुल्यमा स्थिरतालगायतका माग राखेर कुखुरा पालकहरु आन्दोलित बनेको उनले बताए । राज्यले सही निति ल्याएको खण्डमा कृषि पेशाबाट राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ । निरन्तर पालनमा झन्झट भएपनि उपभोक्ताले चल्लादेखि ठूलो भइसकेका कुखुरा फार्मबाटै लान थालेपछि यो व्यवसाय फस्टाउँदै गएको भएपनि लागतअनुसारको मूल्य निर्धारण हुन नसकेको उनको भनाई छ । ‘पहिलो पटक कुखुरा पालन अरुबाटै सिके, सुरुमा झन्झट लागेपनि कमाई राम्रै हुन थालेपछि यसमा जोड दिँदै गए, सन्तोषले हुर्किरहेका चल्ला देखाउँदै भने, ‘बिस्तारै यसबारे ज्ञान बढ्दै गएपछि जाँगर चल्न थाल्यो ।’ उनको उन्नती देखेपछि गाउँमा चल्ला किनेर कुखुरापालन व्यवसायसँगै कृषि उद्यममा लाग्ने लहर नै चलेको छ । ‘कुखुरा पालेर के गर्छस्, पत्रकार भनेर धेरैको आलोचना सहे, सन्तोषले विगत सम्झँदै भने, ‘मलाई भाग्यले साथ दियो ।’ ‘पत्रकारितासँगै कृषि क्षेत्रमा पनि केही गर्न सक्नु पर्छ भन्ने लाग्यो’ उनले थप्दै भने–‘त्यसपछि कुखुरा, हाँस र माछापालन थाले ।’ ‘सुरुमा ढंग नपुर्याएकाले समस्या भयो, केही कुखुरा मरे, फेरि पछाडी फर्कनु परेन् ’ उनले सफलताको बारेमा सुनाए ।

अन्तरवार्ता

थप...