free webpage hit counter युएईमा डम्फू साँझ कार्यक्रम नै किन?अनिस तामाङ्ग - RatoKalam.com is No one news portal.

युएईमा डम्फू साँझ कार्यक्रम नै किन?अनिस तामाङ्ग

रातोकलम अनलाइन,युएई
चैत्र-१२

यो सवाल विशेषगरि गैरतामाङ समुदायका साथीहरूले उठाउनुभएको छ। हाम्रो नेपालका पूराना बाजाहरुमध्ये डम्फू पनि एक पूरानो बाजा हो। विशेषतः तामाङ समुदायमा प्रयोग हुने पहिचानयुक्त यो बाजालाई तामाङ भाषामा ठाउँ विशेषअनुसार डम्फा, डम्बा वा डम्बु भन्ने गरिन्छ। डम्फू घोरलको छाला, कोइराला काठको घेरा, बाँसको ३२ किला, समात्ने स्थानमा चोयाको ‘टेपटेप’, त्यसको ठीकमाथि डाँफे चराको प्रतीक बनाइएको हुन्छ। डम्फूको निर्माण पेङदोर्जेले गरेका हुन्।

डम्फूको घेराले घामलाई सङ्केत गर्छ। त्यस्तैगरि ३२ किलाले मानिसको गुणका साथ चराले डाँफेलाई प्रतीकात्मक रूपमा जनाएको हुन्छ। तामाङ संस्कार संस्कृति मौखिक छन्, मौखिक परम्परा कुनै लिखित रुपमा आएका छैनन्। तर, पनि यसलाई गाउँमा तम्बा गन्बा वा डम्फूरेहरुले अडाइरहेका छन्, बचाइरहेका छन्। त्योसंगै डम्फू प्रतीकको रुपमा आइरहेको छ भने यदि डम्फू हरायो भने बिस्तारै तामाङ समुदायको संस्कृति पनि बिस्तारै हराउँदै जान्छ। तामाङ संस्कृति हराउनु देशको एक मौलिक संस्कृतिमा चुनौति निम्तनु हो, देशको संस्कृति लोप हुँदा त्यसको अप्रत्यक्ष प्रभाव खस–आर्य लगायतका सबै समुदायमा पनि पर्दछ।

तामाङ समुदायको चाडपर्व होस् वा विवाह छेवार होस् त्यसमा ताम्बा गान्बाहरुले डम्फूको माध्यमले सवाल जवाफ गरेको पाउछौं। फापर ह्वाई अर्थात् फापर गीतमार्फत् डम्फू बजाउँदै तामाङ इतिहासदेखि कुल देवतासम्मको सवालजवाफ खोतल्ने गरेका पाउँछौं, त्यहाँ आफ्नो पहिचान खोजिन्छ। डम्फूले दुखसुख साट्नुका साथै आफ्नो संस्कार संस्कृतिको उजागर गर्छ। त्यसैले डम्फू लोप भयो भने तामाङ समुदायको संस्कार संस्कृति पनि लोप हुने खतरा बढ्दछ। त्यसैले डम्फूको व्यापक प्रचार–प्रसार र यसको महत्त्वबारे पछिल्लो युवा पुस्तालाई जानकारी गराउनु हाम्रो कर्तव्य सम्झेर नै युएईमा पहिलो ऐतिहासिक डम्फू साँझ कार्यक्रम गर्ने निधो गरेका हौँ।

कतिपय साथीहरूले डम्फू साँझको सट्टा मादल साँझ गर्न मिल्दैन ? भनेर प्रश्न पनि गर्नुभएको थियो। पक्कै पनि डम्फू साँझको ठाउँमा मादल साँझ गर्न पनि सकिन्छ। तर, हरेक कार्यक्रमको एउटा न एउटा उद्देश्य हुन्छ नै। यो कुरा बैठकमा छलफल हुँदा पनि नउठेको होइन। मादल नेपाली गीत संगीतमा धेरै प्रयोग भइरहेको छ, राज्यले पनि मान्यता दिएकै छ, लोप हुने अवस्था पनि छैन। तर, डम्फू नेपालको पूरानो बाजा भएर पनि न यसको कुनै गीत संगीतमा प्रयोग भएको छ, न राज्यले संरक्षण नै गरेको छ। त्यसैले जुन चीजको अलि धेरै संरक्षणको जरुरत छ, त्यसकै नामबाट कार्यक्रम गर्नु उपयुक्त ठानेर हामी यो निर्णयमा पुगेका हौं। तसर्थ, यसलाई जातिवादी कोणबाट हेर्नु गल्ती हुन जान्छ।

म मादलको घिन्ताङको तालमा कम्मर भाँच्न सक्छु भने मेरो डम्फूको डमडममा कम्मर मर्काउने हिम्मत अरु समुदायका साथीहरूले पनि गर्नुपर्छ। म बाहुनले लगाउने ढाका टोपी र दौरासुरुवाल लगाएर शानले नेपाली भनेर गर्व गर्न सक्छु भने मेरो समुदायको तामाङ टोपी र तामाङ पहिरन लगाएर नेपाली हुँ भनेर अरु समुदायका साथीहरूले पनि गर्व गर्न सक्नुपर्छ। अनि, मात्रै त्यहाँ जातीय सहिष्णुता हुन्छ, साँचो अर्थमा राष्ट्रियता र बन्धुत्वको भावना हुन्छ। यसो गर्दा हामीलाई केही पनि नोक्सान हुँदैन, हाम्रो केही गुम्दैन।

तामाङ, गुरुङ, राई, लिम्बू, मगर होस वा बाहुन क्षेत्री, सबैले एकको अस्तित्व अर्कोले स्वीकार गर्दै जान सकिएन भने नेपाली भनेर गर्व गर्नु पनि बेकार नै हुन्छ। किनभने नेपाल भनेकै विभिन्न जातजाति, भाषाभाषी, धर्म, संस्कृति मिलेर बनेको मौलिक पहिचान बोकेको देश हो। त्यसैले हामीले युएईमा पहिलोपटक नेपाली पूरानो बाजा डम्फूको नाउँमा बृहत सांस्कृतिक कार्यक्रम गर्दैछौं।

डम्फू तामाङ समुदायभन्दा माथि उठाउन नसक्दा झनझन खुम्चिँदै गएकाले डम्फू सिंगो नेपालीको बाजाका रुपमा स्थापित गर्ने हाम्रो प्रयास हो। तसर्थ, नेपालको मौलिक बाजा सम्फू साँझ–२०१९ मा खुल्ला दिलले सहभागी भइदिनु हुन दुबईबासी नेपाली दाजुभाइ, दिदीबहिनीमा म हृदयदेखि अपील गर्दछु।

-लेखक तामाङ, डम्फू साँझ-२०१९ का आयाेजक एवं नेपाल आदिबासी जनजाति पत्रकार महासङ्घ युएईका अध्यक्ष हुन्।

अन्तरवार्ता

थप...