• गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरपालिकाभित्र रहेका १६ सामुदायिक विद्यालयको स्तरोन्नति गरिएको बताउनुभएको छ । वडा नं १ को बाटुलेचौरमा रहेको श्री रामजानकी आधारभूत विद्यालयको २८औँ वार्षिकोत्सव एवं अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरप्रमुख चालिसेले स्तरीय पठनपाठनका लागि विद्यालयमा पढाइको वातावरण महत्वपूर्ण विषय भएकाले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार र जनशक्तिको क्षमता अभिवृद्धिलाई अभियानका रूपमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

    जोरपाटी–सुन्दरीजल सडकखण्डमा ढल निर्माणलगायतका काम अन्तिम चरणमा रहेको र यही फागुन १९ गतेदेखि सडक कालोपत्र शुरु गरिने उहाँले बताउनुभयो । दुई महिनाभित्र सडक कालोपत्र पूरा गरिने नगरपालिकाको प्रतिबद्धता छ । काठमाडौंको गुह्येश्वरीदेखि वागद्वारसम्मको क्षेत्रलाई धार्मिक पर्यटन परिपथको रूपमा विकास गर्न लागिएको उल्लेख गर्दै नगरप्रमुख चालिसेले आगामी वैशाख १ गते मोटरसाइकलबाट वागद्वार जान सकिने बताउनुभयो । 

    नगरपालिकाका सल्लाहकार दीपक रिसालले नगरपालिकाले आधारभूत आवश्यकताको पहिचान गरी छुट्याएको बजेटको नतिजा देखिन थालेको बताउनुभयो । कक्षा १ देखि ८ सम्म स्थानीय विषय समेटिएको पुस्तक लागू गरिएकामा यसकोे प्रभाव राम्रो देखिएको उहाँले बताउनुभयो । वडा नं १ का अध्यक्ष राम मानन्धरले विद्यालय एवं सांस्कृतिक सम्पदाको संरक्षणका लागि विशेष पहल भइरहेको बताउनुभयो । त्यस अवसरमा विद्यालयमा दिवा खाजा सञ्चालन एवं शैक्षिक उन्नयनका लागि स्थापना गरिएको अक्षयकोषमा रकम जम्मा गर्ने दाता र विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

    नगरपालिकाको धार्मिक एवं सांस्कृतिक समितिद्वारा सम्मान

    नगरपालिकाको धार्मिक एवं सांस्कृतिक समितिले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउनुहुने व्यक्तिलाई सम्मान गरेको छ । नगरप्रमुख चालिसे, प्रमुख सल्लाहकार रिसाल, वडाध्यक्ष मानन्धर, प्रा डा ऋषिराम पोखरेल र समितिका संयोजक दामोदर खनालले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउनुहुने १२ जनालाई संयुक्तरूपमा सम्मान गर्नुभएको हो ।

    योग शिक्षाको विस्तारमा योगदान गरेवापत अच्युत अर्याल, बुद्ध संस्कृति र परम्पराको विकासमा योगदान गरेवापत शङ्करमान तामाङ र सामाज सेवामा योगदान गरेवापत श्रीप्रसाद अर्याल, सविता चालिसे, रामचन्द्र खड्का, केशवप्रसाद  खनाल, अष्टमान श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, नरेश मानन्धर, जगदीश पोखरेल, दिनेश बस्नेत र लक्ष्मी चालिसे सम्मानित हुनुभएको छ । त्यस अवसरमा नगरप्रमुख चालिसेले मठमन्दिर, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षणमा नगरपालिकाले विशेष ध्यान दिएको बताउनुभयो ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…