•  घर छाउने ढुङ्गा, स्लेट र जडीबुटीको प्रचुर सम्भावना भएको म्याग्दीको रुम गाउँ सरोकारवाला निकायको बेवास्ताका कारण ‘भिल्लाको देशमा मणि’को नियति भोग्न बाध्य भएको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने रुम गाउँको सिरानमा रहेको डुडे लेकमा घर छाउनी ढुङ्गा, स्लेट र औषधिजन्य जडीबुटीको खानी नै भए पनि त्यबाट स्थानीय सरकारले पर्याप्त लाभ लिन भने सकेको छैन । 

    गाउँको शिरानमा रहेको भीरालो पाखोमा विदेशबाट आयातित संगमर्मरभन्दा पनि स्तरीय स्लेट ढुङ्गा खानी रहेको छ । सो ढुङ्गा खानीलाई व्यवस्थितरुपमा सञ्चालन गर्ने हो भने स्थानीयले रोजगारी पाउनुका साथै गाउँपालिकालाई समेत मनग्गे आम्दानी हुने स्थानीय टेकबहादुर रोकाले बताउनुभयो ।
    “यहाँको स्लेट र ढुङ्गा गुणस्तरका हिसाबले साह्रै उत्कृष्ट छ । प्रविधि र प्रशोधनको व्यवस्था हुनसक्ने हो भने अन्तर्राष्ट्रिय बजारमा समेत यहाँको स्लेट अब्बल ठहरिने सम्भावना हुँदाहुँदै पनि सरोकारवाला निकायले ध्यान दिन सकेको छैन”, रोकाले भन्नुभयो ।

    रुमका विभिन्न सात ठाउँमा स्लेट खानी रहेका छन् । त्यसबाहेक व्यक्तिगत जग्गा र पाखोमा समेत स्लेट खानी रहेका स्थानीय जगबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारी पाखोमा रहेका खानीबाट वडालाई अलिअलि आम्दानी हुने गरेको भए पनि ती खानीलाई व्यवस्थापन गर्न नसक्दा ठूलो राजस्व गुमेको छ । 

    रुम स्लेट र जडीबुटीका लागि महत्वपूर्ण ठाउँ भएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । यहाँ रहेका सम्पदाको पहिचान र व्यवस्थापन गरी तिनीहरुलाई स्थानीय तहको आयसँग जोड्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । केही वर्ष अघिसम्म म्याग्दी, पर्वत, बागलुङ, कास्की, स्याङ्जा, अर्घाखाँचीलगायतका जिल्लाका विभिन्न गाउँबाट यहाँका घर छाउने ढुङ्गाको माग आउने गर्दथ्यो तर हिजोआज पक्की घर निर्माण गर्ने क्रम बढ्दै गएपछि म्याग्दीबाहेक अन्य जिल्लाबाट माग आउन छोडेको विगत ४० वर्षदेखि खानीबाट ढुङ्गा निकाल्दै आउनुभएका ७२ वर्षीय छेमबहादुर विकले बताउनुभयो ।

    बबियाचौंर र लभ्लीहिलमा हरियाली पार्क निर्माण

    म्याग्दीका दुई वटा स्थानीय तहका पर्यटकीयस्थलमा हरियाली पार्क निर्माण गरिएको छ । बेनी नगरपालिका–२ ज्यामरुककोटको खबरामा पर्ने लम्भीहिल र मङ्गला गाउँपालिका–२ बाबियाचौरमा हरियाली पार्क निर्माण गरिएको हो ।

    गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा पर्या–पर्यटन कार्यक्रमअन्तर्गत प्रदेश सरकारको रु १८ लाखको लागतमा मङ्गलाको बाबियाचौर तथा रु १२ लाखको लागतमा लभ्लीहिलमा हरियाली पार्क निर्माण भएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । शहरी क्षेत्रको बढ्दो प्रदूषणबाट बच्न र पर्यावरणको समेत संरक्षण गर्ने उद्देश्यसहित हरियाली पार्क निर्माणको अभियान सञ्चालन गरिएको हो । 

    पर्यटकको चहलपहल बढाउन तथा बालबालिका, ज्येष्ठ नागरिक र पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको हरियाली पार्कमा विभिन्न प्रजातिका सुगन्धवाल फलफूलका बिरुवा रोपिएका छन् । अक्सिजन उत्सर्जन गर्न, पर्यटकलाई वनस्पतिसम्बन्धी विषयमा सूचना दिन र जैविक विविधताको संरक्षण एवं अभिवृद्धि गर्ने उद्देश्यले हरियाली पार्क निर्माण गरिएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले बताउनुभयो । 

        सामुदायिक वन क्षेत्रमा रहेका खाली तथा पाखो जग्गालाई हरियाली बनाई सफा र स्वच्छ हावा लिनका लागिसमेत पार्क निर्माणमा जोड दिइएको छ । म्याग्दीको विभिन्न स्थानमा सामुदायिक वनअन्तर्गत खाली जग्गाजमिन र पाखो क्षेत्रलाई उपयोग गर्ने गरी हरियाली पार्क निर्माण गरिएको हो । निर्माण गरिएका पार्कमा दुबो, धुपी, कपुर, अशोक, बुलमहर, कल्कीफूल प्रजातिका सदाबहार हरियाली भइरहने र सुगन्धवाल बिरुवा रोपिएका छन् । 

    लभ्लीहिलमा हरियाली पार्क बनाएर विभिन्न प्रजातिका बोटबिरुवा रोपेसँगै पछिल्लोपटक लभ्लीहिल भ्रमण गर्ने आन्तरिक पर्यटक बढ्दै जान थालेको खबराका स्थानीय चन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । मङ्गला गाउँपालिकाले भने गत आर्थिक वर्षमा मङ्गला इन्द्रेणी पार्क निर्माणमा रु २५ लाख बजेट विनियोजन गरेको थियो । बाबियाचौर निवासी क्या इन्द्रबहादुर अधिकारीले करीब चार रोपनी जग्गा निःशुल्क दिएपछि इन्द्रेणी पार्क निर्माण गरिएको छ । 

    इन्द्रेणी पार्क पसिरमा दुबो, धुपीलगायत सुगन्धवाल फलफूलका बिरुवा रोपिएको गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले बताउनुभयो । दुवै ठाउँमा निर्माण गरिएका हरियाली पार्कले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको समेत चहलपहल बढाउने अपेक्षा गरिएको छ । 

        यसैबीच चालु आर्थिक वर्षमा पनि म्याग्दी जिल्लाको विभिन्न स्थानमा प्रदेश सरकारको आर्थिक सहयोगमा गुराँस पार्क, हरियाली पार्क, रावणपार्क, वनभोजस्थल, साइकल लेन बनाउनेजस्ता योजना रहेका छन् । कार्यक्रमअनुसार सामुदायिक वन क्षेत्रको खाली जग्गामा गह्रा निर्माण गरी बगैँचा बनाउने, बोटबिरुवा रोप्ने, वृक्षरोपण गर्ने, शोभनीय खालका नयाँनयाँ बिरुवा लगाउने र बस्न मिल्ने ठाउँ बनाई हरियाली पार्कमा रुपान्तरण गर्ने तयारी अगाडि बढाइएको छ । पार्क निर्माण भएपछि यहाँ आउने पर्यटक र बालबालिका तथा वृद्धवृद्धालाई समेत निकै सहज भएको छ ।
     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…