• मोरङ । मोरङको पथरीशनिश्चरे–१ मा रहेका तीन वटा सहकारी संस्था एकीकरण भएको छ । 
    आज (सुक्रबार) तीन वटा सहकारी संस्थाहरुको एकीकृत साधारण सभा भएको हो । 

    पथरीमा रहेका जय भगवती, तिरुपति र किर्तन बचत तथा ऋण सहकारी संस्था एकीकरण भएको हो । निक्कै लामो पहल, प्रयासबाट २०७७ कार्तिक १७ गतेदेखि तीन वटा सहकारी संस्था एकीकरण भएको थियो । तीन वटा सहकारी एकतापछि भौतिक रुपमा जय भगवती बचत तथा ऋण सहकारी संस्थाको नाममा कारोबार हुँदै आएको छ । कानूनी प्रकृया पुरा गरेर संस्थाको नाम पथरीशनिश्चरे बचत तथा ऋण सहकारी संस्था बनाउने निर्णय भएको सचिव शान्तिराम तिम्सिनाले बताए । 

    संस्थाको अध्यक्ष गुरुप्रसाद दाहालको सभापतित्वमा भएको एकीकृत साधारण सभा कार्यक्रममा बचत तथा ऋण सहकारी संघ (नेप्सकुन) जिल्ला सदस्य गोमा नेपाल, प्रेमप्रसाद कोइरला, राष्ट्रिय सहकारी बैंकका बिनोद चुडाल, पथरीको अष्टलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाकी सचिव दुर्गा सुबेदी लगायतले शुभकामना दिएका थिए । 

    तीन वटा सहकारी एकतापछि तीन हजार ८२ जना शेयर सदस्य भएका छन् । संस्थामा तीन करोड १६ लाख २४ हजार शेयर पुँजी र साढे ११ करोड निक्षेप करिव करिव ६ लाख खुद नाफा रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
     
    २०६२ पुस २६ मा जय भगवती, सोही बर्ष माघ १२ गते तिरुपति र २०६८ फागुन २६ गते किर्तन बचत तथा ऋण सहकारी संस्थाको स्थापित भएको थियो । तीन वटा सहकारी संस्थाको संयुक्त कारोबार करिव एक महिना अघिदेखि भएपनि २०७७ मंसिर १७ गते एकीकरणको औपचारिक घोषणा भएको थियो । 

    नियन्त्रण र अनुगमण गर्न सहज होेस भन्ने उदेश्यले संघीय सरकारले सहकारी संस्थाहरुको संख्या घटाउन समान प्रकृतिको सहकारी संस्थाहरु एकीकरण र एक जना ब्यक्ति एउटा स्थानीय तहको एकै प्रकृतिको एक सहकारी संस्थामा मात्र शेयर सदस्य हुन पाउने नीति लिएको छ । 

    प्रभावकारी नियन्त्रण हुन नसक्दा पथरी शनिश्चरेको दर्जन जाति सहकारी संस्थाहरुको आर्थिक हिसावमा समस्या देखिएको छ । केही सहकारी संस्थाका सञ्चालकहरुले ठूलो भोम्युममा ऋण लिने र हिसाव नबुझाउने त केहीमा सञ्चालक समितिको लापार्बाहीको कारण शेयर सदस्यहरु मारमा पर्दै आएका छन् । 


     

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …