• जनकपुरधाम । हतियारधारी लुटेरा समूहले लहानमा एक सुनचाँदी व्यवसायीको हत्या गरेको घटना सेलाउन नपाउँदै सोमवार साँझ अर्का व्यवसायीहरुको घरमा लुटपाट गरेका छन् ।

    लहान नगरपालिका–७ स्थित सुनचाँदी व्यवसायी राजेश शारडाको घरमा लुटेराहरुले फिल्मी शैलीमा लुटपाट गरेका हुन् । ५÷७ जनाको सूहमा आएका लुटेराहरु सोमवार करिब ७ बजे एक्कासी व्यवसायी शारडाको घरमा प्रवेश गरे । रोक्ने प्रयास गर्दा शारडाका बुवा र श्रीमतीको कन्चटमा पेस्तोल तेर्साएर कुटपिट गरे र लुटपाट गरी भागे ।

    लुटेरा समूहको कुटपिटबाट शारडाका बुवा भागीरथ र श्रीमती सामान्य घाइते भएका छन् । उनी दुवैको लहान अस्पतालमा उपचार भएको छ । ‘तीनजना मात्र घरमा प्रवेश गरेका थिए’, भागीरथ शारडाले भने, ‘उनीहरुसँग हतियार पनि थियो ।’ लुटेरालाई चिन्न नसकेको र हल्ला गर्न खोज्दा पेस्तोल तेस्र्याएर मार्ने धम्की दिएकाले आफू चुप लाग्न बाध्य भएको उनले सुनाए ।

    लुटेराले शारडाकै बा १० च ९३०२ नम्बरको जीप लिएर भागेका थिए । उक्त जीप कल्याणपुर नगरपालिका १२ मा मध्यरातमै फेला परेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपनकुमार दाहालले बताएका छन् । उनका अनुसार गाडी फसेपछि स्टार्ट अवस्थामै छाडेर लुटेराहरु भागेका थिए ।

    खोजतलास जारी राखेकै बेला स्थानीयले बेल्हामा जीप छाडेर लुटेरा भागेको खबर गरेपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । राती नै जीप लहान लगिएको छ । जीपमा लुटपाट गरिएको सुनचाँदीका गहना र नगद रुपैया पनि भेटिएको छ । यद्दपी लुटपाट गरिएका सबै गरगहना र नगद रहेको कि आंशिक भन्ने कुरा प्रहरीले सार्वजनिक गरेको छैन ।

    सिरहाको पूर्वी सीमा लहानमा लुटपाट हुनु र लुटेर लगिएको कार पश्चिमी सिमा बेल्हामा फेला पर्नुले सिरहाको सुरक्षा अवस्था कमजोर रहेको प्रमाणित हुन्छ । लहानबाट बेल्हासम्म पुग्दा थुप्रै ठाउँमा प्रहरी चोकपोष्ट छ । तर कुनै ठाउँको प्रहरीले समात्न नसक्नुले प्रशासनमाथि गम्भीर प्रश्न उठेको छ ।

    लुटपाट भएको शारडाको घर ईलाका प्रहरी कार्यालय लहानदेखि मात्र ३ किलोमिटर दूरीमा छ । तर लुटेरा फरार भएपछि मात्र प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थल पुगेका प्रहरीमाथि आक्रोशित स्थानीय जाइलागेका थिए । प्रहरी प्रशासनले शान्ति सुरक्षा दिन नसकेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

    शनिवार राति मात्रै लहान नगरपालिका २३ मा सुनचाँदी व्यवसायी ४० बर्षीय प्रदीप विश्वकर्माको लुटेरा समूहले गोली हानी हत्या गरेको थियो । यसअघि चैत १ मा लहानस्थित मालपोत कार्यालयमा भीडभाड रहेकै बेला गराइएको बम विस्फोटमा ८ जना घाइते भएका थिए । एकपछि अर्को अपराधिक घटना घट्न थालेपछि लहानका व्यवसायी र सर्वसधारण त्रसित बनेका छन् ।
    नेपाल प्रेस

सम्वन्धित समाचार

 कञ्चनपुर, २३ माघ : बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल…

दमौली, ९ माघ : तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर …

 बेनी (म्याग्दी), २४ पुस :  बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आ…

 लमजुङ, २१ पुस : लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ । सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता,…