• पाँच महिनादेखि ज्याला नपाएपछि भूजीखोलाका ७० मजदुर आर्थिक समस्यामा परेका छन् । बागलुङको ढोरपाटन नगरपालिकास्थित भूजीखोला पाँचौँ लघुजलविद्युत् आयोजना निर्माणमा खटिएका मजदुरले पाँच महिनादेखि ज्याला नपाएपछि समस्यामा परेका हुन् ।

    गत भदौ १७ गते राति आएको बाढीले उक्त जलविद्युत् आयोजनाको नहर र विद्युत्गृहमा ठूलो क्षति पु¥याएको थियो । ८४ किलोवाट क्षमता भएको आयोजनाका ७० मजदुरले २७ दिन लगाएर काम गरी पुनः सञ्चालनमा ल्याएका थिए । काम सकिएर विद्युत् सञ्चालन भएको पाँच महिना पुगे पनि आफूले गरेको मजदुरीको ज्याला अहिलेसम्म नपाएको स्थानीय मजदुर ओमकार विकले बताउनुभयो । विकले २५ दिनसम्म लगातार काम गरेको तर अहिलेसम्म पूरा ज्याला नपाएको गुनासो गर्नुभयो ।

    “बाढीले बिजुलीको कुलो र पावरहाउसमा ठूलो क्षति गरेको थियो, गाउँकै युवा मिलेर करिब एक महिना काम ग¥यौँ, बिजली छिट्टै नै बाल्यौँ, तर अहिलेसम्म पनि पूरा पैसा पाउन सकेको छैनौँ”, विकले भन्नुभयो, “काम गरेको पैसा नपाउँदा खर्च चलाउनै हम्मेहम्मे भएको छ ।” मजदुरी गरेरै पाँच जनाको परिवार पाल्दै आएका विक काम गरेको पैसा नपाउँदा परिवार पाल्न समस्या भएको गुनासो गर्नुहुन्छ ।

    दिनको रु एक हजारका दरले पारिश्रमिक पाउने गरी सम्झौता गरेर महिना दिन काम गरेको भए पनि जम्मा रु नौ हजारमात्रै पाएको उहाँको भनाइ छ । काम गरेको पारिश्रमिक नपाएपछि विद्युत्गृहमा काम गरेका मजदुरले केही समय पहिले विद्युत्गृहमै तालाबन्दीसमेत गरेका थिए । तर केही दिनमै पारिश्रमिक दिन्छौँ भन्ने प्रतिबद्धतापछि एक दिनमै ताला खोलेको उनीहरुको भनाइ छ ।

    बाढी पसेर विद्युत्गृहमा क्षति पुगेपछि गाउँमा निरन्तर बत्ती नबल्दासम्म आफूहरुले खटेर काम गरेको भए पनि आयोजनाले पारिश्रमिक नदिएको अर्का मजदुर टेकबहादुर विकको गुनासो छ । विद्युत्गृहको नहरमा भौतिक संरचनामा पुगेको क्षतिलाई सामान्य बनाउन २७ दिन काम गरेको उहाँको भनाइ छ । भूजीखोला पाँचौँ लघुजलविद्युत् आयोजनाका अध्यक्ष पदम घर्तीमगरले ऋण धन गरेर बाढीले क्षति पु¥याएको विद्युत् सञ्चालनमा ल्याएको भन्दै सरकारी निकायबाट सहयोग नहुँदा आफूहरु नै समस्यामा परेको बताउनुहुन्छ ।

    अहिलेसम्म, वडा, नगरपालिका, प्रदेश र केन्द्रबाट कुनै पनि सहयोग नभएको दुखेसो पोख्दै अवलोकन गर्न आउने नेताहरूले आश्वासन मात्रै दिएको उहाँ बताउनुहुन्छ । सहयोग गर्छौँ भनेकाहरूले सहयोग नगर्दा मजदुरको पारिश्रमिक समयमा दिन नसकेको घर्तीले बताउनुभयो ।

    ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले रु पाँच लाख दिने आश्वासन दिएको तर अहिले प्रदेशबाट आउँछ भन्दै उम्किएको बताउनुभयो । गण्डकी प्रदेश सरकारले रु २२ लाख सहयोग गर्ने भने पनि त्यो सहयोगसमेत अझैसम्म नपाएको उहाँको दुखेसो छ । “बाढीले पीडित बनेका गाउँलेलाई लगाएर काम गरियो, उनीहरूले पैसापैसा भनेर अत्याएका छन् तर आयोजनासँग पैसा छैन, कहाँबाट दिने”, उहाँले भन्नुभयो । 

    विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट रु चार लाख ५० हजार सहयोग भएको भन्दै अन्य सबै आफूहरूले व्यवस्थापन गरेको उहाँको भनाइ छ । बाढीले उक्त आयोजनाको १५० मिटर कुलो बगाएको थियो भने विद्युत्गृहको जेनेरेटर, टर्वाइनलगायत मेसेरेनरी सामानमा क्षति पु¥याएको थियो । बाढीले क्षति पु¥याएको विद्युत् मर्मत गर्नका लागि रु २२ लाख बढी खर्च भएको अध्यक्ष घर्तीमगरको भनाइ छ । यस आयोजनाबाट ढोरपाटन नगरपालिका वडा नं ८ र ९ का आठ १०० घरधुरी जनता लाभान्वित छन् । बाढीले क्षति पु¥याएको विद्युत् आयोजना ४१ दिनपछि सञ्चालनमा आएको थियो । अध्यक्ष घर्तीमगरले रु १२ लाख बढी मजदुरको ज्याला र अन्य सामान खरिदमा खर्च भएको बताउनुभयो । मजदुरलाई रु छ लाख भुक्तानी गर्न बाँकी छ ।

सम्वन्धित समाचार

काठमाडौं, २४ चैतसडक दुर्घटनामा गम्भिर घाइते कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले …

 नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष…

पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अ…

मोरङ । तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म पुस्तकका मोरङ पथरीशनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई सम्मानि …