झापा – आफ्नो निर्वाचन क्षेत्र झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई चुनौती दिएका छन्। प्रचण्ड–नेपालको बढ्दो राजनीतिक भेटघाटलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले विभिन्न थरी नन्दी भृङ्गी मिलेर सरकार बनाउन कसरत गरेको टिप्पणी गरे।
‘तपाईंहरुले मुद्दा लडेर संसद् ल्याउनुभएको छ, केपी ओलीलाई हटाएर देखाउनुस्,’ उनले भने,‘अविश्वासको प्रस्ताव राख्नुस्, पास गर्नुस्।’ उनले पहिले पनि आफूलाई अविश्वासबाट हटाएको र जनतबाट फर्किएको जानकारी दिँदै फेरि हटाए पनि जनताबाट दुई तिहाई लिएर आउने दाबी गरे।
प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिन आग्रह गरेको र देउवाले विचार गरौंला भनेर फर्काएको पनि जिकिर गरेका छन्। उनले देशको विकास रोक्न आफूलाई हटाउन खोजेको आरोप लगाएका छन्।