• महोत्तरी — साविकको नेकपा पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहकी नेता रामकुमारी झाँक्रीले सर्वाेच्चको फैसलाले आफूहरुलाई कुनै संकट नआएको बताएकी छन् ।

    १ सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (मार्च ८)का अवसरमा अखिल नेपाल महिला संघ महोत्तरीले बर्दिवासमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता झाँक्रीले आफूहरुलाई नपरेको संकट सत्तामा रजगज गरिरहेकालाई पर्ने बताइन् ।

    ‘हामी दुई महिनादेखि सडकमा थियौँ । हामीलाई के संकट परोस् ?,’ झाँक्रीले भनिन्, ‘संकट त उनीहरुलाई पर्नेछ जो अहिले सत्तामा रजगज गरिरहेका छन् ।’

    मागदाबी नै नगरिएको विषयमा प्रवेश गरेर पार्टीको आन्तरिक जीवनमा सर्वाेच्च प्रवेश गर्न मिल्छ कि मिल्दैन भन्ने गम्भीर प्रश्न उब्जिएकाले आइतबार सर्वाेच्चले गरेको फैसलामा आफूहरु पुनरावलोकनमा जाने पनि झाँक्रीले बताइन् ।

    ‘म जुन दलको सदस्य हुँ मेरो राजनीतिक असहमति मैले पार्टीभित्र राख्न पाउने कि नपाउने ?,’ झाँक्रीले सर्वाेच्चलाई प्रश्न गरिन्, ‘नेकपा नाम हामीले नपाउने निर्णयसम्म हुन सक्थ्यो होला तर राजनीतिक असहमति राखेर विद्रोह गरिरहेकै आधारमा मेरो पार्टी र चुनाव चिह्न नै खोस्नु ममाथि कुन न्याय भयो ?’ दुई महिनादेखि विद्रोह गरिरहेको पार्टीभित्र धकेल्ने गरी भएको निर्णय जनता र व्यवस्थामाथि नै आघात पुग्ने खालको निर्णय भएकाले यस फैसलाको समीक्षा हुनुपर्ने उनले बताइन् ।

    अब पार्टीको नाम र चुनाव चिह्न के हुन्छ भनेर चिन्ता गर्नेलाई यसको चिन्ता नलिन उनले आग्रह गरिन् । ‘पार्टीको नाम र चुनाव चिह्न के हुन्छ भनेर चिन्ता नगर्नुस्, हामी सही राजनीतिक विचार र सिद्धान्त लिएर आउनेछौँ ।’ लोकतन्त्रको सवालमा र जनताको माझमा गलत विचार र सिद्धान्त लिएर अघि बढ्नेलाई इतिहासले क्षमा नगर्ने उनले बताइन् ।

    महोत्तरीमा बोक्सीको आरोपमा मलमुत्र खुवाएर दुव्र्यवहार गरिएकी मरणीदेवी र बलात्कार पछि हत्या भएकी बर्दिवासकी गुलाबसा खातुनकाजस्ता हजारौं घटनाको अन्त्य गराउँदै न्याय दिने र गरिब, दलित र शोषित वर्गको पक्षमा काम गर्ने पार्टीको रुपमा आफ्नो पार्टी रहने उनले बताइन् ।

    राज्यले महिलाको हकअधिकार र सुरक्षाको प्रत्याभूति गराउन नसकेको भन्दै उनले महिलाले यसविरुद्ध सङ्घर्ष गरिराख्न पर्ने बताइन् ।

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…