• काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताएका छन् । बुधबार राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको २०औँ स्थापना दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष ओलीले नेपाल अब विकास र सुशासनको बाटोमा अघि बढेको बताएका हुन् ।

    हिंसाको बाटामा हिँडेकालाई शान्तिको मूलधारमा ल्याउन आफ्नो सरकार सफल भएको जनाउँदै उनले पृथकतावादी सोचलाई समेत टुंग्याइएको बताए ।

    “हामी राष्ट्रिय एकताको भावका साथ अघि बढेका छौँ”, प्रधानमन्त्री ओलीले भने, “अब देशमा हिंसाको अन्त्य भएको छ, नेपाल शान्तिको नयाँ युगमा प्रवेश गरेको छ ।” यसका लागि सुरक्षा परिषद्को नीतिले पनि उल्लेख्य काम गरेको उनको भनाइ थियो ।

    प्रधानमन्त्री ओलीले आफू राष्ट्रिय एकताको भावका साथ अघि बढेको तथा देशमा शान्ति, सुशासन र राष्ट्रिय एकताको ढोका खोल्ने काम आफूले गरेको स्पष्ट पारे ।

    छिमेकी देशसितको सम्बन्ध सुमधुर बनाइएको जनाउँदै उनले केही समस्या भए वार्ताका माध्यमबाट नै हल गरिने स्पष्ट पारे । उथलपुथल र उतारचढावका समयमा परिषद्को सचिवालयको स्थापना भएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले हासिल गरिएका अनुभवका आधारमा काम गर्दै अघि बढ्न सुझाव दिए ।

    नेपाली सेनाको परिचालन र प्रयोग सही ढङ्गले हुँदै आएको भन्दै उनले नेपाल विश्वमा शान्ति स्थापनाका पक्षमा रहेको स्पष्ट गरे । “ठूलो होस् वा सानो देश, विश्वमा न्यायोचित हकको रक्षाका लागि मात्र सेना परिचालन गरिनुपर्छ”, प्रधानमन्त्री ओलीले भने । विश्वमा अर्काको अहित हुने गरी सेनाको परिचालन गर्न नहुनेमा उनले जोड दिए ।

    असहज र अप्ठयारो अवस्थामा सेनाको प्रयोग गरिँदै आएको प्रसङ्ग जनाउँदै प्रधानमन्त्री ओलीले सुरक्षा, सेवा र निर्माणका काममा सेना अहोरात्र खटिँदै आएको स्मरण गरे । अन्तरराष्ट्रिय क्षेत्रमा समेत नेपाली सेनाले शान्ति स्थापनार्थ उल्लेखनीय योगदान दिँदै आएको बताउँदै प्रधानमन्त्रीले भने, “सेनाले आफू जोखिम मोलेर भए पनि शान्ति स्थापनाका लागि काम गर्दै आएको छ ।”

    विश्वसनीय र भरपर्दो निकाय नेपाली सेनाले सेवा र निर्माणका क्षेत्रमा जनताको मन छुने गरी काम गर्दै आएको प्रधानमन्त्रीले बताए । कतिपय समयमा सेनालाई अनावश्यक विवादमा तान्ने कामसमेत भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सेनाले आफ्नो प्रतिष्ठा जोगाएर काम गर्दै आएको बताए । “सेना जस्तो संस्थालाई वादविवादमा तान्न उचित हुन्न”, उनले भने ।

    जनतालाई भ्रममा पार्ने तत्वसँग सचेत हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले मूल कानून संविधान मानेर सबै अघि बढ्नुपर्ने सुझाव दिए । परिषद्को स्थापना लड्न र भिड्नलाई मात्र नभएको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले यसको काम शान्ति सुरक्षाको वातावरण कायम गर्नु भएको जनाए ।

     

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…