• नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समुहले चैत्र ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ । शनिबार नेकपा(एमाले) माधव नेपाल समूहको केन्द्रीय कमिटी सदस्य र सांसदहरुको भेलाले चैत्र ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो । 


    कार्यकर्ता भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरु, संघीय र प्रदेश सांसदहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरु, पालिकाहरुमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, पालिकाका पार्टी कमिटीका पदाधिकारीहरु, जनवर्गीय संगठनका केन्द्रीय कमिटी सदस्यहरु, प्रदेश पदाधिकारीहरु केन्द्रीय विभागका सदस्यहरु र जिल्ला अध्यक्षहरू उपस्थित हुने नेकपा(एमाले) माधव समुहका नेता भिम रावलले जानकारी दिए । राष्ट्रिय भेलाले महत्वपूर्ण निर्णय गर्ने उनको भनाइ छ । 


    शनिबारको भेलाले प्रधानमन्त्री ओलीले नेकपा(एमाले)लाई फुटाउने गरी शुक्रबार जिम्मेवारी हेरफेर सम्बन्धी निर्णय गरिएको भन्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको पनि नेता रावलले जानकारी दिए । 


    प्रधानमन्त्री ओलीले गरेको निर्णय विधान र नियमावली विपरित रहेको उनले बताए । उनले भने, ‘यो भेलाबाट हामीले नेकपा(एमाले) को एकतालाई टुटाउने, पार्टी फुटाउने गरी जसरी पार्टीका अध्यक्ष रहनुभएका केपी शर्मा ओलीले बालुवाटारमा हिजो आफ्नो गुटको भेला गरेर जुन प्रकारको निर्णय गर्नुभएको छ, त्यसलाई हामीले अस्वीकार गरेका छौँ । त्यसको भर्त्सना गरेका छौँ । त्यसको निन्दा गरेका छौँ । नेकपा(एमाले) को विधान विपरित, नियमावली विपरित, यसको प्रणाली विपरित र यसको कार्यशैली विपरित जसरी काम गर्नुभयो । त्यो अत्यन्त आपत्तिजनक छ, अवैध र उहाँले जुन प्रकारले घोषणा गर्नुभयो त्यो हाँस्यास्पद पनि छ । यसले कुनै विधि, प्रणाली, प्रक्रियाको अवलम्बन गरेको छैन र त्यो बैठक बारेमा केन्द्रीय कमिटीका पदाधिकारीहरु, सदस्यहरुलाई जानकारी पनि गराइएको छैन ।’


    नेता रावलले सर्वोच्च अदालतको फैसला र पार्टीको विधान विपरित अवैध तरिकाले माओवादी(केन्द्र)का नेताहरुलाई एमालेमा मनोनित गरिएको पनि बताए । उनले भने, ‘अझ हास्यास्पद कुरा त के छ भने उहाँले त्यो बैठकबाट सर्वोच्च अदालतको फैसला विपरित अर्को पार्टी नेकपा(माओवादी केन्द्र)मा रहेका व्यक्तिहरुलाई नेकपा(एमाले)मा मनोनयन गरे भनेर अर्को अवैध र हास्यास्पद निर्णय गर्नुभएको छ । हाम्रो पार्टीको विधान अनुरुप कुनैपनि व्यक्ति केन्द्रीय कमिटीमा आउनका लागि वा मनोनयन गर्नका लागि स्पष्ट व्यवस्था गरिएको छ । थप सदस्य मनोनयन गर्ने अधिकार छैन । जानकारी नगराइएको बैठक, बहुमत नपुगेको बैठकको निर्णय अवैध छ । विधि, प्रणाली विपरित छन् । अमान्य छन् ।’

    माधव समुहको भेलाले केही नेताहरुलाई जिम्मेवारी समेत दिएको छ । प्रदेश नं. १ को इन्चार्जमा भीम आचार्य, प्रदेश नं. २ मा घनश्याम भुसाल, बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली प्रदेशमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा भीम रावललाई जिम्मेवारी दिइएको छ । त्यसैगरी रघुजी पन्तलाई युवा, गोकर्ण विष्टलाई विद्यार्थी, प्रमेश हमाललाई बुद्धिजीवी र योगेश भट्टराईले प्रचार विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

सम्वन्धित समाचार

मोरङ । पूर्बी नेपालमा प्रयोगहुने वान्तावा र चाम्लिङ (राई) भाषालाई सरकारी कामकाजको भाषाको मन्यता दिनुपर्ने…

मोरङ । बालिका होटलमा ल्याएर यौन कार्य गरेको अभियोगमा ३५ बर्षिय देबजित दासलाई जबरजस्ति करणी मुद्धा दर्ता भ…

मोरङ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिले पास भएको शिक्षा सम्बन्धि विधेयकको विभिन्न बुँ…

सुनसरी । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नं. प्रदेश समितिले मंगलबार धरानमा पहिचान पत्रका…