काठमाडौं, चैत्र २
नेकपा एमालेभित्र देखिएको विवाद समाधान गर्नेतर्फ नेताहरु अग्रसर भएका छन् । विगतमा भएका तितामिठा अनुभवहरुलाई एक आपसमा पोख्दै मन माझ्ने काम सोमबारबाट शुरु भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा सोमबार अनपेक्षित रुपमा भएको दुवै पक्षको वार्ता निक्कै सकरात्मक बनेको एक नेताले जानकारी दिनुभयो । उहाका अनुसार आज पहिलो बैठक भएकाले नेताहरुका मनमा लागेका कुरा खुलस्त रुपमा प्रस्तुत गर्न थाल्नु भएको छ । नेकपामा हुँदा बखत देखिएको विवाद, त्यसमा नेताहरुले दिएका अभिव्यक्ति र आफुलाई परेका पिर, अर्को पक्षबाट भएको व्यहारदेखी पछिल्लो पटक एमाले पुनःस्थापना हुँदाका विवादसम्म छलफलमा प्रवेश पाएका थिए ।
प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीले बैठकमा सम्बोधन गर्दै नेकपामा भएको व्यवहारदेखीका विषयहरु उठाउनु भएको थियो । उहाले आफुमाथी गरिएको व्यवहार, देश र जनताका पक्षमा आवाज उठाउन नसकेको र सरकारलाई नेताहरुले सकरात्मक व्यवहार गर्न नसकेको भन्दै कुरा राख्नु भएको थियो । नेकपा रहँदा प्रचण्डसँग मिलेर माधव नेपाल पक्षले सकेजति सबै ज्यादती गरेको दुखेसो पोख्दै बिगत सम्झेर अब बदला लिने सोच आफूमा नरहेको बताउनु भयो । उहाले आफुमा कुनै बदलाको भाव नभएको भन्दै देश, जनता र पार्टीलाई केन्द्रविन्दुमा राखेर आउन नेपालसँग आग्रह गर्नुभयो ।
‘तपाईंहरूले त सक्ने भए मलाई के बाँकी राख्नुहुन्थ्यो । एउटा बच्चालाई लगेर ढुंगामा बजारेको जसरी तपाईंहरूले मलाई केही बाँकी राख्नुभएन । अदालतको फैसलापछि एउटा स्थितिले मेरो राजनीतिक जीवन जोगिएको हो नत्र सिध्याउनै लाग्नुभएको थियो । मैले तपाईंहरूबाट अपेक्षा गर्ने भनेको त्यो गल्तीको रियलाइजेशन हो । सबै कुरा कोट्याएर जान चाहान्न’, प्रधानमन्त्री ओलीको भनाईलाई उदृत गर्दै छलफलमा सहभागी एक नेताले जानकारी दिनुभयो ।
अध्यक्ष ओली लचिलो रुपमा प्रस्तुत भएपनि नेता नेपाल भने आफुहरुबाट कुनै गल्ती नभएको शैलीमा शुरुमा प्रस्तुत हुनु भएको थियो । तर, उहाले पनि विस्तारै विस्तारै आफुहरुबाट गल्ती भएको आभाष छलफलमा उठाउनु भएको नेताहरुको भनाई छ । स्रोतका अनुसार एमालेलाई एक ढिक्का बनाउन केही विषयमा दुवै पक्ष लचिलो हुने संकेत देखा परेको बताएको छ । त्यसका लागि केही दिनभित्रै पुनः दुवै पक्षबीच एक्लाएक्लै वा सामुहिक छलफल हुने बताइएको छ । एमालेलाई पुनः एक ढिक्का भएर अगाडी बढेको चाँडै देख्न सकिने एक नेताले बताउनु भयो ।