काठमाडौं ,१३ फागुन । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको एक्ला एक्लै वार्ताले प्रस्ताव गरेको आलोपालोेलाई नै संस्थागत गरेको पाइयो यो हप्ता । दुई शीर्ष नेताबीचको वार्ताले आलोपालो प्रंधानमन्त्री र पालैपालो अध्यक्षता गर्ने सहमति जुटाएको थियो । फागुन ७ गते त्यसैलाई संस्थागत गरियो ।
यद्यपि उनीहरुले यो सहमतिलाई लिखित भने गरेनन् । यसलाई भद्रसहमति भनेका छन् । माओवादीले विगतमा भएका लिखित सहमतिहरु पालना नभएको शंका जीवितै राखेका बेला ओली र दाहालबीच फेरि अर्को भद्र सहमति भयो यो दिन ।
भनियो प्रधानमन्त्री आलोपालो चलाउने कुरा सार्वजनिक घोषणा गर्दा सरकार कमजोर हुने र कर्मचारीहरुले पनि सरकारलाई नटेर्ने भएकाले यो सहमतिलाई भद्र सहमतिका रुपमा मात्रै लिइने छ । यसले स्पष्ट हुमत रहेको बाम गठवन्धन एक भपछि पनि देशचाहिँ भद्र सहमतिबाट नै चल्ने संकेत देखाएको छ जुन विगतमा यही कुरा सबभन्दा अभद्र हुँदै आएको थियो ।
माघ २७ र २८मा चितवनमा गएर प्रचण्डले जुन सुकै बेला फड्को मार्ने धम्की दिएका थिए । त्यसको आठाँै दिन यस्तो सम्झौता भयो । ओली सरकार छोडेर शेरबहादुर देउवासँग मिसिन पुगेका प्रचण्डले आफू प्रधानमन्त्री हुँदा जसरी नयाँ कुरा गर्ने भनेका थिए । उनले त्यही जुक्ति यहाँ पनि प्रयोग गरे ।
ओली सरकार ढालेपछि देउवासँग १६ बुँदे सहमति भएको भनिएको थियो त्यसबेला । तर त्यो १६ बुँदे बाहिर देखाइएन, बाहिर अर्कै ‘फर्मेट’ देखाइयो । यतिसम्म कि दाहालले त्यो १६ बुँदेपछि दोस्रो तहका नेतालाई निर्णायक भूमिकामा राखेनन् ।
सबै जिम्मा पार्टी अध्यक्षलाई नै दिने परिपाटी नै विकसित गरे । अहिले पनि पार्टी एकताका लागि भद्र वा लिखित सहमति जे भने पनि, सचिवालयले उनैलाई जिम्मा दियो र यसैलाई वान टु वान वार्ता भनियो । थुप्रै पटकका एक्ला एक्लै वार्ताले दुई नेताको व्यवस्थापन टुंगो लगाउन सकेको थिएन लामो समयसम्म ।
ओली र दाहालबीच फागुन ७ बिहान एक्लाएक्लै वार्तापछि पार्टी एकताको विषय टुंगो लागेको हो यो दिन मध्यरातमा । यसमा पनि बाहिर धेरै कुरा भनिएको छैन । कुरा ‘हाइसेक्रेसी’ को छ । जसरी पहिले देउवासँग ‘हाइसेक्रेसी’ को सम्झौता भएको थियो । एमाले नेताहरुले अहिले नै धरै कुरा गर्दा बिग्रिने बताउँदै आएकोबाट यो सम्झौताको म्याद कति होला भन्ने सुरुमै अड्कलबाजी भइरहे ।
एकीकरणपछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ मात्रै राख्ने शीर्ष तहमा सहमति भयो । पार्टीको अध्यक्ष यहीँबाट आलोपालो गर्ने भनिएको हो । दुई पार्टीका अध्यक्षले अब आलोपालो बैठकको अध्यक्षता गर्नेछन् । एउटा बैठकमा एकजना अध्यक्ष अगुवा हुने र अर्को बैठकमा अर्को अध्यक्ष अगुवा हुनेगरी सहमति जुटेको हो । नेपालमा अहिले पनि केही राजनीतिक दल संयुक्त नेतृत्वमा चलिरहेका छन् । त्यही परम्परालाई यो एकीकरणले पनि अनुसरण गरेको पाइयो ।
एउटा संयोग हो कि के हो ? दुई कम्युनिष्ट पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी भनी नामकरण भएको दिन फागुन ७ प्रजातन्त्र दिवसका अवसरमा भयो । यसले शकुन ल्यााउला कि अपशकुन भन्ने चाहिँ हेर्न बाँकी नै छ । यस दिन एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच पार्टी एकतालाई अन्तिम रुप दिँदै सातबुँदे सहमति गरे । दुई पार्टीहरुले पार्टी एकीकरणका प्रारम्भिक आधारहरुमा सहमति गर्दा भनियो –
नेकपा.(एमाले) र नेकपा (माओवादी केन्द्र) का बीचमा एकीकरणका प्रारम्भिक आधारहरु
१) एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहनेछ ।
२) पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहनेछ ।
३) नेकपा (एमाले)ले अवलम्बन गरीआएको ‘जनताको बहुदलीय जनवाद’ र नेकपा (माओवादी केन्द्र)ले अवलम्बन गरी आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिनेछ ।
४) नेकपा एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद’ अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत आफ्ना श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निर्माण गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।
५) उपर्युक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोहीअनुसार एकीकृत पार्टी सञ्चालन गरिनेछ ।
६) प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिक रुपान्तरणमार्फत समाजवादका आधार निर्माण गरिनेछ ।
७) आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिनेछ ।
सहमतिमा केपी ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, पुष्पकमल दाहाल, रामबहादुर थापा ‘बादल’ र नारायणकाजी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
यति हो देखाइएको र लिपिबद्ध भएको सहमतिका सूत्र ।
जे भए पनि यस दिनदेखि एमाले माओवादी अब एउटै कम्युनिस्ट पार्टी भए नै । सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गरे । एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्नुले त्यही बुझाउँछ । सरकार गठन गर्दा सामेल नभएको माओेवादी अब भने सरकारमा जाने भयो । प्रधानमन्त्री निवास बालुवाटारमा सो दिन राति ११ बजेसम्म चलेको एकता संयोजन समिति बैठकले यस्तो निर्णय गरेको हो ।
दुवै दलका अध्यक्षसहित आठ जनाले पार्टी एकता गर्ने सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गरे । हस्ताक्षर गर्नेमा एमालेका वरिष्ठसहित चार र माओवादीका तीन जना छन् । सहमतिअनुसार एकीकृत पार्टीको निर्देशक सिद्धान्त माक्र्सवाद र लेनिनवाद रहनेछ । माओवादीले दश वर्षसम्म माओवादका नाममा कथित जनयद्ध चलाउको थियो । त्यसबाट २० हजार मान्छेको ज्यान गएको पछिल्लो अध्ययनले देखाएको छ । तर यतिबेला भने उसले यो माओवाद नै छाडेको पाइयो ।
सम्झौतामा नै भनिएको छ एमालेले अपनाउँदै आएको जनताको बहुदलीय जनवादअन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायत मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा माओवादी केन्द्रको पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्नेलगायत मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएको छ,’ ।
यसले बुझाउँछ माओवादका नाममा भएका त्यस्ता वितण्डालाई यो दलले आफँै गलत भएको मान्नु हो । एमालेले अवलम्बन गर्दै आएको जनताको बहदुलीय जनवाद र माओवादी केन्द्रले अवलम्बन गरीआएको माओवाद तथा एक्काइसौं शताब्दीमा जनवादसम्बन्धी विषयमा छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने भन्ने कुराले यो युद्धको निरर्थकता बुझाउँछ । माओवादी केन्द्रले अवलम्बन गरीआएको माओवाद तथा एक्काइसौं शताब्दीमा जनवादसम्बन्धी विषय यो दलले पछिमात्र सूत्रपात गरेको हो । यो सहमतिपत्रमा जनयुद्ध भन्ने शब्द कतै परेको छैन ।
यही आधारमा अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोहीअनुसार एकीकृत पार्टी सञ्चालन गरिने भनिएको छ । यसको विस्तृत रुप दिइएको छैन । ‘प्राप्त उपलब्धिको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक, आर्थिक रुपान्तरणमार्फत् समाजवादका आधार निर्माण गरिनेछ,’ सहमतिपत्रमा भनिएको छ, ‘आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा समझदारीका साथ भव्यरूपमा सम्पन्न गरिनेछ ।’
भन्नुले सबैकुरा महाधिवेशनलाई छाडेको बुझाउँछ केवल अध्यक्ष र प्रधानमन्त्रीको आलोपालोबाहेक । एकता संयोजन समिति बैठकले जारी गरेको सातबुँदे सहमतिपत्रमा पार्टी नेतृत्व, सरकारमा सहभागिता, राष्ट्रपति, सभामुखलगायत पद बाँडफाँटका विषय उल्लेख छैन । महाधिवेशनको मिति पनि तोकिएको छैन । महाधिवेशन नभएसम्म संगठन र नेतृत्वका विषयमा पनि सहमतिपत्र मौन छ ।
यसका बारे कुनै नेताले थप जानकारी दिन चाहेको पाइएन । एमाले महासचिव ईश्वर पोखरेलले बैठकमा भएको सहमति लिखितरुपमा दिएकाले यसबाहेक थप कुरा नभएको बताउनुले पनि यसबारे सबै मौन बस्न चाहेको देखाउँछ । यसको दुई दिन पहिले शनिबार र आइतबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीच भएका छलफलले एकताका मुद्दामा सहमति जुटाएको थियो ।
दुई पार्टीका नेता सम्मिलित एकता संयोजन समिति बैठकले अध्यक्षहरूबीच भएको सहमतिलाई अन्तिम रूप दिएको हो । यो सहमति फागुन २ गते एकता सहमतिपत्रमा हस्ताक्षर गर्ने भनिए पनि त्यसको एकहप्ता ढिलो गरेर यो काम भयो । गत असोज १७ गते दुवै पार्टीले चुनावी तालमेलको घोषणा गरेका थिए ।
एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच लगातार सात दिन कुराकानी भएपछि दुई नेताबीच प्रतिनिधि र प्रदेश सभामा चुनावी तालमेल गर्ने र चुनावपछि पार्टी एकता गर्ने सहमति दसैंअघि नै जुटेको थियो । मिलेर चुनाव लडेका दुवै पार्टीले प्रतिनिधि र राष्ट्रिय सभामा बहुमत ल्याएका छन् । माओवादी समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री भैसकेका छन् भने त्यसबेला माओवादी भने अनुपस्थित रहेको थियो । अरु जे भए पनि यो एकता रोकिनुमा पदकै कुरा चर्को थियो । त्यसलाई अब आलोपालोमा यसरी मिलाइएको छ ।
तर यो कुरा लिखितमा नआएको कारणले केही प्रश्न भने खडा भएका छन् । एकता महाधिवेशनसम्म टिक्ने हो कि होइन भन्ने पनि त्यस्तै ।