उर्लाबारी, १४ चैत
अहिले नेकपा एमाले भित्रको विवाद गाउँ स्तरसम्म आइपुगेको छ । जसको प्रत्यक्ष असर प्रदेश, जिल्ला, नगर, गाउँ हुँदै वडा तहसम्म देखिएको छ । सर्वोच्च अदालतले नेकपा एमाले व्युँताइदिएपछि मोरङको उर्लाबारी नगर कमिटीले पार्टीको बोर्ड राख्ने कार्यक्रममा माधव नेपाल पक्षलाई नबोलाएको भन्दै असन्तुष्टि समेत बाहिर आएको छ । अहिले केपी ओली र माधव नेपाल पक्षबीच मन मिल्न सकिरहेको अवस्ता छैन । यसबारेमा हाल नेकपा एमाले उर्लाबारीका नगर कमिटी अध्यक्ष उमाकान्त गौतमले भने, ‘एमालेलाई बलियो बनाउनु हाम्रो दायित्व हो ।’
एमालेलाई अदालतले व्युँताइसकेपछि कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन हामीले एक भएर अघि बढ्नुको विकल्प नरहेको उनले बताएका
छन् । व्यालेटको राजनीति गर्ने पार्टीले भोलिको नतिजा के आउला भन्ने कुरालाई ध्यान दिनुपर्ने उनको भनाई छ । आफ्ना असहमति छन् भने छलफल र समीक्षा गरेर अघि बढ्न सकिने भन्दै अध्यक्ष गौतम भन्छन्, ‘म सबै साथीहरुलाई के अनुरोध गर्छु भने नेकपा एमालेलाई बलियो
बनाएर अघि बढ्नुको विकल्प
छैन ।’
अहिलेको राजनीतिको बारेमा अध्यक्ष गौतम भन्छन्, ‘असहमति भए आन्तरिक रुपले छलफल गर्नुपर्छ, आत्मालोचना गर्ने ठाउँ भए त्यो पनि गर्नुपर्छ । कमी कमजोरी भए सच्याएर अघि बढ्नु उत्तम उपाय हो । केन्द्रीय कमिटीले जे निणर्य गर्छ त्यो नै आधिकारिक हो, चाहे त्यहाँ केपी ओलीले नेतृत्व गर्नुभएको होस् चाहे त्यहाँ अध्यक्ष निर्वाचित भएर माधव नेपालले नेतृत्व गर्नुभएको होस् । नवौं महाधिवेशलने निर्वाचित गरेको अध्यक्ष, महासचिव नै आधिकारिक हो भन्ने हामीले बुझ्नु पर्छ ।’ ‘निश्चित समयावधिभित्र पार्टीका लाइनमा आएर पार्टीका शीर्षस्थ नेताहरु एक ढिक्का भएर जानुहुन्छ भन्ने हामीलाई विश्वास छ । जतिसुकै वेमेल भएपनि उहाँहरुले पार्टी फुटाउनेभन्दा एक बनाउने
कुरामा भूमिका निर्वाह गर्नुहुन्छ भन्ने मलाई लाग्दछ ।’उनले
भने ।
अध्यक्ष गौतम २०३६ सालदेखि बामपन्थी राजनीतिमा लागेका हुन् । २०४७ सालमा एमालेको संगठित सदस्य हुँदै तत्कालीन राजघाट गाउँ कमिटी सदस्य, सहसचिव, सचिव, इलाका सहसचिव, क्षेत्रीय सचिव हुँदै पार्टी एकीकरणपछि नेकपा उर्लाबारीको अध्यक्ष भएका हुन् । अहिले नेकपा एमाले पहिलेकै अवस्थामा फर्किएपछि एमाले उर्लाबारी
नगर कमिटीको अध्यक्ष गौतम नै हुन् ।
एमाले व्युँतिएपछि उर्लाबारीमा पार्टी कार्यालयको बोर्ड राख्ने कार्यक्रममा नेपाल पक्षलाई बोलाइएन भन्ने गुनासोका बारेमा उनी भन्छन्,‘केही साथीहरु आउनुभएन । कार्यालयका
कर्मचारीलाई कमिटी र जनप्रतिनिधिलाई फोन गर्न भनेको थियौं । तर, पार्टी पहिलेकै अवस्थामा आएको, यो अवस्थामा कमिटीगत रुपमा मात्र बोर्ड
राख्नेभन्दा पनि आम संगठित सदस्यले यसको जानकारी पाउनु पर्छ भन्ने लागेपछि उर्लाबारीका सबै संगठित सदस्यलाई
जानकारी गराउन फोनबाट सम्भव भएन । त्यसैले फोन गर्न छोडेर पार्टीको फेसबुक पेजबाट सबैलाई निमन्त्रणा गरिएको थियो । कार्यक्रममा अनुपस्थित हुने साथीहरुले पनि खबर भने पाउनु भएको थियो । नियतवश कसैलाई बोलाउने कसैलाई नबोलाउने गर्न खोजिएको थिएन ।’