काठमाडौँ — नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्र्याएर पार्टीमा फर्काइएको टिप्पणी गरेका छन् ।
बृहत् नागरिक आन्दोलनद्वारा शनिबार काठमाडौंमा आयोजित समसामयिक विषयको अन्तरक्रियामा सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलालाई संकेत गर्दै नेता नेपालले आफूलाई प्रतिगमनकारी केपी ओलीकै पार्टीमा जान बाध्य पारिएको र त्यहाँ बस्न अप्ठेरो लागिरहेको बताए ।
उनले भने, ‘दुःखका साथ भन्नुपर्छ अहिलेका हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट जुन प्रतिगमनकारी कदम चालियो त्यसको विरुद्धमा तपाईहरु संघर्षको मैदानमा हुनुहुन्थ्यो । आज म अप्ठेरो महसुस गर्दैछु, त्यही पार्टीमा मलाई फेरि सार्वोच्च अदालतले घोक्र्याएर पठाइदिएको छ । सर्वोच्च अदालतले विचित्रको फैसला गरेको छ ।’
एमालेबाट समेत आफूलाई निष्कासन गर्ने स्थितिको अनुमान गर्दै नेता नेपालले त्यसबाट आफू नडराउने पनि प्रस्ट पारे । उनले भने, ‘हामी पुरानो ठाउँमा फर्किन खोजिरहेका छौं । तर बिडम्बना भन्न पनि कस्तो गाह्रो छ भन्दा यो पार्टी भित्रको कुरा फेरि डबलीमा आएर भन्यो माधव नेपालले भनेर फेरि अर्को आरोप लाग्ला । त्यसपछि कुन दिन मलाई घोक्र्याएर त्यहाँबाट पनि निकाल्दिने स्थिति बन्ला । त्यस्ता कुराबाट डराउनेवाला माधाव नेपाल होइन ।’
उनले कांग्रेस र जसपाको साथ रहेसम्म ओली सरकार रहिरहने पनि बताए । उनले भने, ‘महन्थजीको र मिनेन्द्रजीको दयाकृपा रहेसम्म यो सरकार रहिरहन्छ ।’ पार्टीभित्र फरक गुट चलाएको आरोप लगाउँदै एमाले केपी ओली समूहले माधव नेपालसहित चार नेतालाई केन्द्रीय समिति बैठकबाट स्पष्टीकरण सोधेकोमा नेपाल र उपाध्यक्ष भीम रावलले लिखित जवाफ दिइसकेको छ । नेपाल र रावलको जवाफ कारबाहीयोग्य रहेको पार्टी अध्यक्ष ओलीले प्रारम्भिक प्रतिक्रिया जनाइसकेका छन् ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले कम्युनिष्ट पार्टीहरुले नै केपी ओलीको सरकारलाई समर्थन गर्ने तर दोष आफूहरुमाथि लाग्ने गरेको बताए । ओली सरकारमा भएका कारण आफूहरुका माग पूरा गराउन ओलीसँग कुरा गरेको पनि प्रस्ट पारे ।
उनले आफ्नो दलले माओवादी केन्द्रको विरोध नगरेको पनि बताए । उनले भने, ‘अहिले स्वार्थको लडाइँ भइरहेको छ कम्युनिष्ट पार्टीभित्र । त्यसमा हामीलाई किन उ गर्ने । तपाईं अविश्वासको प्रस्ताव भन्नुहुन्छ । आफ्नो पार्टीमा अविश्वासको प्रस्ताव ल्याएर त्यसको समाधान गर्नुहोस् न । त्यो भइरहेको छैन ।’ उनले प्रचण्डको र आफूहरुको पीडा फरक रहेको पनि बताए ।
यस्तै कांग्रेस नेता मिनेन्द्र रिजालले केपी शर्मा ओली नेतृत्वको सरकारलाईं कांग्रेसले विश्वासको मत दिन नसक्ने बताएका छन् । उनले ओली प्रधानमन्त्री भएकै दिनदेखि नै आफूहरुले विश्वासको मत नदिएको बताए । उनले भने, ‘हामीहरुले कुनै पनि हालतमा प्रमुख प्रतिपक्षी दलले अविश्वासको प्रस्ताव जहाँसुकैबाट जसरी आए पनि अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्छ ।
अहिलेका प्रधानमन्त्रीसँग प्रधानमन्त्री भएकै दिनदेखि हाम्रो विश्वास छैन ।’ तर अहिले प्रधानमन्त्री ओली गठबन्धनको सरकार बनाउने भन्दा पनि संसद्को ठूलो दलको हैसियतमा धारा ७६(३) अनुसारको सरकार बनाएर प्रतिनिधिसभा विघटन गरी चुनावमा जाने मनसायमा रहेको बताए ।