• हाम्रो शरीरमा सबैभन्दा स्थूल रुपमा जलतत्व नै छ । भन्नुको मतलब हाम्रो शरीररचनामा अन्य तत्वहरुको तुलनामा जलतत्व सबैभन्दा बढी हुन्छ । जल या पानी एक अति आवश्यक अन्तःकोशिकीय माध्यम हो जसद्वारा चायापचाया प्रक्रिया (पाचन प्रक्रिया) एवं जैव रासायनिक प्रतिक्रियाहरु सम्पन्न हुन्छन् । शरीरमा अम्ल र क्षारको सन्तुलनता बनाएर राख्न पनि कोशिकाहरुको भित्र र बाहिर जल एक प्रमुख माध्यम हो । शरीरमा पानीको मात्रा कम हुनुको प्रभावले रगतको आयतन पनि कम हुन थाल्दछ । फलस्वरुप यस्तो स्थितिमा क्रियाशील पेशीहरुले उष्मालाई वातावरणमा विस्तारित गर्नको लागि छालासम्म पुर्याउने र अत्यधिक क्रियाशील पेशीहरुसम्म अक्सिजन लैजाने कार्यका लागि रगतको आयतन अपर्याप्त हुन जान्छ । यदि यस्तो स्थिति बनिरह्यो भने छालामा भएको रक्तप्रवाहको कमीले शरीरको तापक्रम बढ्न थाल्दछ ।

    शरीरको लागि आवश्यक पानी जब बाहिरबाट आपूर्ति हुँदैन तब भोजनमा भएको पानीलाई उसले अवशोषण गर्न थाल्दछ । फलस्वरुप भोजनको पाचन एवं पाचनपश्चात पोषक तत्वको अवशोषण प्रक्रिया ठिकसँग सञ्चालन हुन सक्दैन । ठूलो आन्द्रामा संकलित मल बढी सुख्खा हुन्छ र गतिशून्यता आई कब्जको स्थिति पैदा गर्दछ ।

    उपर्युक्त तथ्यहरु थाहा पाईसकेपछि एक प्रश्न उठ्दछ । त्यो के भने पानी प्रतिदिन कति पिउनु पर्दछ त ? प्रतिदिन पानी पिउने दर निर्धारण गर्नुभन्दा पहिले उक्त व्यक्तिको भोजन,उसले गर्ने काम,उमेर,शारीरिक बनावट एवं उ रहने वातावरणको तापक्रम आदिबारे जान्नु जरुरी हुन्छ । यी कुराहरुको जानकारीबाट मात्र पानी कति पिउनु आवश्यक छ भन्न सकिन्छ । हल्का काम गर्ने,चिसो वातावरण या मौसम,जमिनमुनि र घरभित्र काम गर्नेहरुलाई कम पानी पिएर पनि शरीरलाई आवश्यक जलतत्व पूरा भइरहेको हुन्छ । कडा मेहनत गर्नेहरु,गर्मी वातावरण या मौसम,बाहिर घाममा काम गर्नेहरु खेलाडिहरु आदिले अत्यधिक पानी पिउनुपर्ने हुन्छ । साधारणतया हरेक व्यक्तिले २४ घण्टामा सरदर ३ देखि ४ लिटर पानी पिउनु पर्दछ ।

    धेरै कडा व्यायाम गर्नेहरु,खेलाडिहरु,लामो दूरीका धावकहरु,झाडा पखाला र बहुमूत्रका रोगीहरुले अवस्था हेरी धेरै पानी पिउनु पर्दछ । अध्ययनाट थाहा भए अनुसार खेल खेल्दा  खेलाडिहरु कठिन व्यायामको दौरान व्यायामकर्ताहरुको शरीरबाट प्रति घण्टा २००० मिलिलिटर (२ लिटर) सम्म पसिना निस्कन्छ ।

    सामान्य अवस्थामा मानिसले पिएको पानीको ६० प्रतिशत पिसाबका रुपमा,२५ प्रतिशत पसिनाका रुपमा,१२ प्रतिशत फोक्सोद्वारा बाहिर फ्याँक्ने वायुको साथमा एवं ३ प्रतिशत मलको साथ बाहिर निस्कन्छ । सामान्यतः मानवशरीरको कुल संयोजनमा पानीको मात्रा मस्तिष्कमा ७४.५ प्रतिशत, हड्डिहरुमा २२ प्रतिशत,मांसपेशीहरुमा ७५.६ प्रतिशत र रगतमा ८३ प्रतिशत हुन्छ । शरीर सञ्चालनमा पानीको घटबढ भइरहन्छ र त्यो घटबढलाई सन्तुलित गर्न सफा पानी पिउनु आवश्यक हुन्छ । स्वस्थ मानिसको शरीरमा औसत ६५ प्रतिशत पानी हुन्छ र त्यस सन्तुलनमा १२ प्रतिशत भन्दा कमी आयो भने मानिस तत्काल मर्दछ । हाम्रो शरीरमा पानीको मात्रा उसको तौलको ७० प्रतिशतसम्म हुन्छ । कमजोर रोगीहरुको शरीरले पानी शरीरबाट प्रशस्त मात्रामा बाहिर फ्याँक्न सक्दैन । फलस्वरुप शरीरमा जल संकलन सुरु हुन्छ । यस्ता मानिसहरुले पानी कम पिउनु पर्दछ । महिलाहरुको शरीरमा औसत ५२ प्रतिशत पानी हुन्छ किनकी उनीहरुको शरीरमा यस्ता बोसे कोषहरु हुन्छन् जसलाई पानी प्रिय हुँदैन । यसैले पुरुषको अपेक्षामा महिलाहरुले कम पानी पिए पुग्छ ।

    हाम्रो शरीरमा पानीले पोषण,अक्सिजन र लवणहरुलाई घोलेर रक्त परिसञ्चारण तन्त्रको मद्दतले विभिन्न अंगसम्म पुर्याउनुका साथै शरीरका लागि अनावश्यक विजातीय द्रव्यहरुलाई बाहिर निकाल्ने र मांसपेशीहरुमा गति प्रदान गर्ने काम पनि गर्दछ । यहाँसम्म कि पानीविना हामीहरु आँखा झिम्क्याउन पनि सक्दैनौं । 

    उपर्युक्त पंक्तिहरुबाट हाम्रो शरीर र  जलतत्वको सम्बन्ध स्पष्ट हुन्छ । अब पानी पिउने उत्तम समय एवं तरीकाहरुबारे तल उल्लेख गरिन्छ । 

    पानी पिउने उत्तम समय 

    १. बिहान सुतेर उठ्ने बित्तिकै शौच जानुभन्दा पहिले या चार बजे रात्रीपछि पेटभर पानी पिउनु हितकर छ । गर्मी समयमा साधारण तापक्रमको सफा पानी र जाडो समयमा मनतातो पानी पिउनु स्वास्थ्यकर हुन्छ ।

    २. बिहानको खाना खानुभन्दा एकघण्टा अगाडि या दुइ घण्टापछि पानी पिउनु राम्रो हुन्छ । 

    ३ राती सुत्ने बेलामा जाडो समयमा मनतातो पानी पिएर सुत्नाले निकै फाइदा गर्छ । गलामा कफ जम्न नदिनुका साथै बिहान शौच सफा हुन्छ । 
    ४. जसलाई सम्भव छ उनीहरुले हरेक एक घण्टामा एक गिलास पानी पिउनु बढी लाभदायक हुन्छ ।

    ५. सम्भव भएमा तीन चार बजे दिउँसोको नास्ता र पानीको  बदला फलफूलको रस या सागपातको सुप पिउनु बढी लाभदायक हुन्छ । 

    पानी पिउँदा अपनाउनुपर्ने सावधानीहरु

    १. भोजनको साथमा भुलेर पनि पानी पिउनु हुँदैन । मोही एक या दुइ गिलाससम्म पिउन सकिन्छ । भोजनको साथमा धेरै पानी पिउनाले पाचनक्रिया सञ्चालन गर्ने पाचक रस पातलो हुन्छ,फलस्वरुप भोजन ठीकसँग पच्दैन ।

    २. चिल्लो  भोजनपछि तत्काल चिसो पानी पिउनाले भोजन नलीमा चिल्लो टाँसिएर खसखस पैदा गर्दछ । आमाशयमा पुगेको चिल्लो पच्न कठिन हुन्छ । बरु चिल्लो भोजनपछि आधा गिलास मनतातो पानी पिउनु स्वास्थ्यकर हुन्छ ।

    ३. भोको मानिसले पहिले भोजन गर्नु,तिर्खाएकोले पहिले पानी पिउनु राम्रो हुन्छ । भोको मानिसले पेटभर पानी पिउँदा जलोदर नामक रोग हुने डर हुन्छ । तिर्खाएकोले पानी पिउनुभन्दा पहिले भोजन गरेमा गुल्म या गानो नामक पेटको दर्दनाक रोग हुने डर रहन्छ । तर यो एक दुइ पटक असावधान हुँदैमा हुने नभई लामो समयसम्म बराबर असावधान रहेमा हुन जान्छ ।

    ४. पानी नपिउनु या धेरै पानी पिउनु दुबै खतरनाक मानिन्छन् । अवस्था हेरी आवश्यक पानी पिउनु पर्दछ । कब्जबाट मुक्त हुन चाहेमा प्रतिदिन सरदर तीनदेखि चार लिटर पानी पिउनु पर्दछ । उच्च रक्तचापका रोगीहरुले अवस्था हेरी पाँचदेखि आठ लिटरसम्म प्रतिदिन पानी पिउनुपर्दछ ।

    ५. धेरै तिर्खा लागेका बेला मानिसहरु एकै पटक धेरै पानी पिउँछन् । एक पटकमा एक गिलासभन्दा बढी पानी पिउनु स्वास्थ्य अनुकूल हुँदैन । एक पटक पानी पिएपछि आधा या एक घण्टाभन्दा पहिले पानी पिउनु आवश्यक हुँदैन । चौबीस घण्टामा केवल एक पटक बिहान पेटभरी  पानी पिउनु लाभदायक छ । यसले मलनिष्काशनमा सहयता गर्दछ अन्यथा अरु समयमा थोरै थोरै गरी धेरैपटक पानी पिउनु स्वास्थ्यको अनुकूल छ; एकै पटक धेरै पानी पिउनु हुँदैन ।

    ६. पसिना आउने गरी व्यायाम गरेर,चर्को घाममा बाहिरबाट हिँडेर आएर या दौडिएर आएर या खेल्दाखेल्दैका अवस्थाहरु जतिबेला पसिना आएको,श्वास बढेको र शरीरको तापक्रम बढेको हुन्छ त्यतिबेला शरीर साधारण तापक्रममा नआएसम्म चिसो पानी या अन्य पेय पिउनु हुँदैन । सामान्य तापक्रमको पेय ढिलो–ढिलो गरी पिउनु पर्दछ । सकेसम्म विश्राम गरी पसिना सुकेपछि मात्र पानी पिउनु पर्दछ ।  (‘आरोग्यको मूलबाटो’ )

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…