काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा एमालेका वरीष्ठ नेता माधव कुमार नेपालका लागि आजको दिन दुईवटा निर्णयका कारण खराब रह्यो ।
पहिलो थियो, सर्वोच्च अदालतको निर्णय । आज सर्वोच्चले ललिता निवास जग्गा प्रकरणमा नेपालसँगै बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेका निर्णयहरु झिकाउन आदेश दिएको छ।
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने गरी मन्त्रिपरिषदबाट भएको निर्णयको सक्कलप्रति झिकाउन न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले आदेश दिएको हो ।
सर्वोच्चको यो निर्णयले अबका दिन नेपालका लागि सहज नभएको संकेत गरेको छ । जबसम्म नेपालले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहमती गरेर उनको निर्णय शिरोधार्य गर्दैनन् तबसम्म ललिता निवास जग्गा प्रकरणको तरबार उनको टाउकोमाथि झुन्डिरहने छ।
सर्वोच्चको आजको निर्णयको मसी सुक्न नपाउँदै नेपालमाथि अर्को बज्रपात प-यो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले भीम रावलसँगै नेपाललाई पनि पार्टीबाट ६ महिनाका लागि निलम्बन गरि दिए । पार्टीको हितविपरित गतिविधि गरेको भन्दै पार्टीले सोधेको स्पष्टीकरण चित्त नबुझेको भन्दै दुवै नेतालाई पार्टीबाट निलम्बन गरिएको हो ।
यतिमात्र होइन उनलाई पार्टीको दशौँ महाधिवेशन कमिटीको सदस्य, पार्टीको अन्य जिम्मेवारी तथा पार्टी सदस्यताबाटै ओलीले निष्काशन गरे । पार्टी अध्यक्ष ओलीलाई सायद यतिले पनि पुगेनछ । उनले थप कडा कारबाही गर्ने संकेत पनि कारवाही पत्रमा गरेका छन् ।
आफूमाथि कारवाही गरेपछि नेपालले सार्वजनिक रुपमा आफ्नो प्रतिक्रिया दिएका छन् । उनले ओलीको निर्णयलाई अस्वीकार गरेका छन् । ओलीले यस किसिमको निर्णय गर्न सक्ने संकेत आफूले पाएको बताउँदै उनले भनेका छन्,‘यो निर्णय स्वेच्छाचारी हो र कदम निरकुंश हो । ओलीले पार्टीलाई विभाजनतिर धकेलेका छन् । म कार्यकर्तामाझ जान्छु’ ‘केपी ओली एमालेको अध्यक्ष नै होइनन्,यो उनको अराजकतामात्र हो । उनले गरेको कारबाही स्वीकार गरिन्न,’नेपालको प्रतिक्रिया छ,‘नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई पार्टीले हटाइसकेको छ, उहाँ अहिले एमालेको एउटा गुटको अध्यक्ष मात्र हो, यसैले कारवाही वा निलम्बनको कुनै अर्थ छैन।’