काठमाडौं – विगतमा माधवकुमार नेपालको पक्षमा उभिँदै आएका कुल अठतीस (३८) सांसदमध्ये अधिकाङ्श एमालेमै फर्किने भएका छन् ।
सांसदहरूमध्ये माया ज्ञवाली, गोपाल बम र कृष्णभक्त पोखरेल शुरुमै एमालेमा फर्किएका थिए भने झपट रावल, राजबहादुर बुढा, ध्रुव शाही, मेटमणि चौधरी, विरोध खतिवडा, हिराचन्द्र केसी, नारायण खतिवडा, जयकुमार राई, भवानी खापुङ, यज्ञराज सुनुवार, पवित्रा निरौला, गणेश पहाडी, कृष्णलाल महर्जन, दीपकप्रकाश भट्ट, योगेश भट्टराई र झलनाथ खनालसम्म पनि माधव नेपालसँगै सती जाने मानसिकतामा देखिएनन् ।
समानुपातिक सांसदहरू गंगा चौधरी, समीन हुसेन, बिनादेवी मगर, कल्याणी खड्का, मुकुन्द न्यौपाने, निरादेवी जैरु, लक्ष्मी चौधरी, सरलाकुमारी यादव, पार्वती बिसुङ्खे, पुष्पाकुमारी कर्ण र कालिका खान पनि एमालेमै रहने मानसिकतामा भएको बुझिन्छ । माधवकुमार नेपालका सम्धी सोमप्रसाद पाण्डे पनि केपीको सम्पर्कमा रहेको बताइन्छ ।
माधवसमर्थक भनेर चिनिएकामध्ये सत्र जनाले केपीलाई समर्थन नगरे पनि जसपा-एमाले गठबन्धनलाई तात्विक असर गर्न सक्ने देखिँदैन । तर, माधवको पक्षमा दृढतापूर्वक उभिनेहरूमा सुरेन्द्र पाण्डे, भीम रावल, सोमप्रसाद पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रामकुमारी झाँक्रीको नाम मात्र लिने गरेको पाइएको छ ।
एमालेमा अर्का ‘सीपी’ बन्दै माधव !
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका पूर्व वरिष्ठ नेता माधवकुमार नेपाल राजनीतिक रूपमा जीवनमै सबभन्दा ठूलो सङ्कटको सामना गर्दै हुनुहुन्छ । ६ महिनाका निमित्त नेपालसहित उहाँका खास हितैषी मानिएका भीम रावलको समेत पार्टी सदस्यता निलम्बनमा परेपछि सङ्कटको नयाँ शुरुवात भएको हो ।
प्राप्त जानकारीअनुसार शुरुमा केपी शर्मा ओलीले साना-ठूला सत्र नेतालाई कारवाही गर्ने मानसिकता बनाउनुभएको थियो । तर पछि उहाँले सोच बदलेर चार जना (माधव नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाल) लाई मात्र कारबाही गर्ने तय गर्नुभएको र, सोहीअनुरुप स्पष्टिकरण मागिएको थियो ।
नेपाल र रावलले दिएको स्पष्टिकरणमा आफ्ना गल्ती स्वीकार गरी आत्मालोचनासम्म नगरिएपछि उहाँहरूलाई ६ महिनाका निम्ति पार्टीबाट निलम्बन गरिएको छ । सुरेन्द्र पाण्डे र घनश्याम भुसालले स्पष्टिकरण नदिएपछि चौबिस घण्टाको समय-सीमा राखेर अर्को स्पष्टिकरण मागिएकोमा मंगलबार (चैत १७ गते) उहाँहरूले आफ्नो स्पष्टिकरण दिनुभएको छ । आफ्ना विगतको भूमिकाप्रति आत्मालोचना नगरिए उहाँहरूलाई पनि कारबाही गर्ने मानसिकता पार्टी अध्यक्ष ओलीले बनाउनुभएको बुझिएको छ ।
नेकपा एमालेको सङ्गठन निर्माणमा पञ्चायतकालदेखि नै विशिष्ट योगदान पुऱ्याउनुहुने पाण्डेलाई कारबाही गराउन उक्त पार्टीको दोस्रो पुस्ताका केही नेताहरू विशेष किसिमले लागिपरेको बताइन्छ ।
तर अधिकाङ्श युवा नेताहरू सुरेन्द्र पाण्डेमाथि कारबाही नहोस् भन्ने चाहना राख्दछन् । युवा पङ्क्तिको यस्तो चाहनालाई निस्तेज तुल्याउन केहीले ‘मूख्य षडयन्त्रकारी नै सुरेन्द्र भएको’ भनी केपीलाई सुनाउने गरिरहेका छन् । त्यसैले स्पष्टिकरणको ब्यहोरा हेरेर ‘उचित’ निर्णयमा केपी पुग्नुहुने बताइएको छ ।
प्रधानमन्त्री केपी ओलीविरुद्ध सबैभन्दा उद्दण्ड ढङ्गले प्रस्तुत हुँदै आएकी समानुपातिक सांसद रामकुमारी झाँक्रीलाई उनको आगामी क्रियाकलाप हेरेर कस्तो किसिमको कारबाही गर्ने हो सो तय हुने सम्वद्ध सूत्रले जनाएको छ ।
रघुजी पन्त र योगेश भट्टराई पनि केपी ओलीविरुद्ध उत्तेजित ढङ्गले जाइलाग्नेमा पर्दछन् । पन्तले पछिल्लो समयमा मौनता कायम गरेको भए पनि योगेश भट्टराईले भने बाहिर-बाहिर केपीको विरोध गर्दै आन्तरिक रूपमा केपीसँग समझदारी बनाएको बुझिएको छ ।
उता राजेन्द्र पाण्डेले चाहिँ आफू सहयोगी भूमिका निर्वाह गर्न तयार रहेको जानकारी केपीलाई गराएका छन् । अहिलेसम्मको स्थिति हेर्दा माधव नेपालको साथमा रहेका अधिकाङ्शले केपीलाई समर्थन गर्ने देखिएको छ । समर्थन नगर्ने र पार्टी अनुशासन भङ्ग गर्नेहरूलाई ठीक समयमा उपयुक्त कारबाही गर्ने मानसिकतामा केपी रहनुभएको बुझिन्छ ।
२०५० सालमा मदन भण्डारीको निधनपछि माधवकुमार नेपाललाई महासचिव बनाउन सहयोग गर्नुभएका केपी ओली पन्ध्र वर्षसम्म माधवको रक्षाकवच बनेर बस्नुभएको थियो ।
२०६६ सालमा संसदीय दलको नेता र पार्टी अध्यक्ष झलनाथ खनाल हुँदाहुँदै पनि मनोनित अवस्थाका सभासद् माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन केपी ओलीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । तर आफूलाई माधवले कहिल्यै सहयोग नगरेको र पछिल्लो समयमा प्रचण्डलाई आफ्नाविरुद्ध भड्काउन समेत माधवकै मूख्य भूमिका रहने गरेको भन्ने केपीको ठहर छ ।
बितेका केही महिनायता खासगरी कात्तिकदेखि यता माधव नेपालको कार्य व्यवहारबाट केपी अत्यन्तै ‘इरिट्रेड’ हुनुहुन्थ्यो । त्यसैले माधवले बुद्धि पुऱ्याउनुभएन भने उहाँ ‘दोस्रो सीपी’ बन्न सक्ने प्रबल सम्भावना छ । मधेशकेन्द्रीत दलसँग सत्ता गठबन्धन भइसकेपछि केपीले पार्टीभित्र रहेर अनुशासनहीन व्यवहार गर्नेहरूप्रति थप कठोर व्यवहार गर्न सक्ने सम्भावना देखिएको छ ।
यतिबेला केपी र माधवबीच समन्वय गराउन सक्ने ताकत एमालेभित्र कसैमा पनि देखिएको छैन । त्यसैले माधव नेपालबिनाको एमाले अघि बढाउने दृढता जुन केपीमा देखिन्छ, त्यसले केपी सक्रिय रहिन्जेल एमालेमा माधवको सम्मानित स्थान नरहने सङ्केत दिएको छ ।
आगामी महाधिवेशनबाट पनि केपी या उहाँले चाहेकै व्यक्ति अध्यक्ष बन्ने र अन्य पदाधिकारी तथा सदस्यहरू समेत केपीकै इच्छाअनुसार चयन हुन सक्ने अवस्था रहेकोले पनि एमालेमा माधव नेपालको भविष्य नदेखिएको हो ।
नेपालसँग एमालेमा चुपचाप धैर्य गरेर बस्ने या एमालेभित्रको एउटा सानो कित्तालाई लिएर प्रचण्डसँग मिल्ने र नयाँ पार्टी बनाउने या राजनीतिबाट सन्यास लिनेबाहेकको विकल्प तत्कालका लागि देखिएको छैन । पार्टीअध्यक्ष र प्रधानमन्त्री ताकेर केही महिनाअघि प्रचण्डसँगको सहकार्यमा केपी ओलीविरुद्ध शुरु गरिएको ‘जेहाद’ले माधवलाई अहिले ‘सीपी’ बन्ने ठाउँमा ल्याइपुऱ्याएको छ । घटना र विचारबाट