झापा । विश्वव्यापी रूपमा कोरोना तीव्र गतिमा फैलिँदै गएपछि संक्रमितको उपचारका लागि बेड अभाव हुन थालेको छ । कोभिड संक्रमितलाई उपचारका लागि काठमाडौँबाट बाहिरी जिल्ला झापा सम्म पुर्याउन थालिएको छ । काठमाडौँमा उपचारका लागि बेड अभाव भएपछि एक बिरामीलाई बिर्तामोड स्थित विएण्डसी अस्पताल ल्याइएको छ ।
काठमाडौँमा बेड अभाव भएपछि हेलिकप्टरबाट बिर्तामोड स्थित विएण्डसी अस्पताल ल्याइएको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले बताए । झापा शिवसताक्षी ८ घर भई काठमाडौँ बस्दै आएका ६८ वर्षीय पुरुषलाई उपचारका लागि बिर्तामोड ल्याइएको हो । काठमाडौँमा उपचार सहज नभएपछि उनलाई झापा ल्याइएको बताइएको छ ।
साथै कोरोना भाइरसको संक्रमणका कारण झापा गाउँपालिकाका एक जना पुरुषको बुधवार मृत्यु भएको छ। झापा गाउँपालिका वडा नं ४ का स्थानीय ५५ वर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। दम र मधुमेह रोगबाट ग्रसित उनको उपचारका क्रममा मृत्यु भएको हो । उनको अचानक श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि विराटनगरको नोबेल हस्पिटल लगिएको थियो ।