विराटनगर / सुनसरीको इनरुवा नगरपालिका–३ मा होम आइसोलेसनमा बसेकी वृद्धा महिलाको मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेकी ८४ वर्षीय ओझा थरकी वृद्धाको मृत्यु भएको हो ।
वडा नम्बर ३ का अध्यक्ष कालुराम गुरुङका अनुसार नोबेल मेडिकल कलेजमा पिसिआर जाँच गर्दा ८४ वर्षीय वृद्धासँगै परिवारका सबै सदस्यलाई कोरोना देखिएको थियो । घरमा बसेकी वृद्धाको बुधबार बेलुका मृत्यु भएको उनले बताए । बिहीबार अन्तिम संस्कार गरिएको उनले बताए ।
वृद्धाका छोरा भने अस्पतालमा उपचाररत छन् । कोरोना पोजेटिभ देखिएका छोरालाई स्वास्थ्यमा समस्या देखिएपछि विराट मेडिकल कलेजमा भर्ना गरिएको उनले जानकारी दिए । उनका अनुसार परिवारका पाँच सदस्य होम आइसोलेसनमा छन् ।