विराटनगर / नेपालमा कोरोना भाइरसको सङ्क्रमण तीव्र बढेसँगै बालबालिकामा पनि कोभिडको जोखिम बढिरहेको छ ।
बालबालिका र बढी उमेर भएकाहरू कोरोना भाइरसबाट सङ्क्रमित भए देखिने लक्षण लगभग उस्तै नै हुन्छन् । प्रायजसो बच्चामा सङ्क्रमणका कारण श्वासप्रश्वास असहज हुने, ज्वरो आउने र निमोनिया देखिने गरेको पाइएको छ ।
सामान्यतया बच्चाको अवस्था नराम्रो भएको अभिभावकलाई थाहा हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक बालरोग विशेषज्ञ डा. कृष्णप्रसाद पौडेल बताउँछन् ।
उनका अनुसार बच्चाले राम्रोसँग नखाएमा, छिटोछिटो सास फेर्न थालेमा, खेल्न मन नगरेमा, झाडापखाला, खोकी वा सबैभन्दा महत्त्वपूर्ण ज्वरो देखिएका तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्ने र बेलैमा परीक्षण गर्नुपर्ने हुन्छ । समयमा बच्चाको अवस्था थाहा पाए उपचार गर्न सहज हुन्छ । उपचारका क्रममा चिकित्सकलाई सही सूचना दिन पनि जरुरी हुने उनको भनाइ छ ।
ठूला व्यक्तिहरूको तुलनामा बालबालिकाहरूको कोरोना जाँच पनि कम हुन्छ । नेपाल पेडियाट्रिक सोसाइटीका अनुसार कतिपय बालबालिका सङ्क्रमित भए पनि लक्षण देखाउँदैनन् । लक्षण नदेखिए पनि बालबालिकाले अन्यलाई सजिलै सङ्क्रमण सर्न सक्छन् । विश्वमा धेरै बच्चामा सङ्क्रमण भएको चारदेखि छ सातापछि बच्चामा मल्टी सिस्टम इन्फ्लामेटरी सिन्ड्रम (एमआइएससी) देखिएको छ ।
एमआइएससीले बच्चाको अवस्था गम्भीर हुने, आइसियूको आवश्यकतासँगै वा बच्चाको मृत्युसमेत हुनसक्छ । एमआइएससी भएमा बच्चाहरूमा ज्वरो, कडा प्रकारको झाडापखाला, अत्यधिक पेट दुख्ने, सास फेर्न गाह्रो हुने, शरीरमा डाबर आउनेजस्ता लक्षण देखिनुको साथै मुटुको समस्या पनि हुनसक्छ ।