• -सुरेश मानन्धर 

    प्रधानमन्त्री केपी शर्मा ओलीले खानुभएको शपथ विवादमा परेको छ । विवाद मात्र होइन,महाविवादै भने पनि हुन्छ । किनभने यो शपथविरुद्ध सर्वोच्च अदालतमा चार वटा जति त मुद्दै दर्ता भइसकेको छ । राजनीतिक वृत्तमा विवाद,सञ्चारमाध्यममा विवाद, सामाजिक सञ्जालमा विवाद त अझ बाँकी नै छ ।


    आरोप छ कि उहाँले शपथ ठीकसँग खानुभएन । सही ढंगले शपथ नखाएको कारण यो दोषभागी छ । यसरी शपथ खाएर हुँदैन । यो त शपथकै अपमान भयो ।

    शपथमाथि चलेको यो बबाल देखेर म भने चकित खाइरहेको छु । प्रधानमन्त्रीले शपथ मिल्ने गरी खानोस् वा नमिल्ने गरी खानोस् त्यल्ले असरचाहिँ के गर्छ हँ ! आखिर मिल्ने गरी शपथ खाए पनि शपथ खाएअनुसार काम गर्ने त पक्कै होइन क्यारे !

    योभन्दा अघि त उहाँले मिल्ने गरी नै शपथ खानुभएको थियो नि ! मिल्ने गरी शपथ खाएअनुसार मिल्ने गरी काम गर्नुभयो त ? संविधानअनुसार काम गर्छु भनेर शपथ खानुभएको थियो । मिल्ने गरी नै खानुभएको थियो ।

    तर, कामचाहिँ संविधानकै उल्टो हुने गरी संसद् विघटन गरिदिनुभयो । मिल्ने गरी शपथ खाएर पनि केही नाप्यो ? जब मिल्ने गरी नै शपथ खाए पनि त्यसको कुनै अर्थ छैन भने अब नमिल्ने गरी शपथ खाएकोमा किन टाउको दुखाउनु ? यस्तोमा अन्तरिम आदेश जारी गरेर किन भागबण्डामा भाँडभैलो गर्नु,हैन त श्रीमान !

    सर्वोच्चले भन्ला – त्यो पर्दैन !
    प्रधानमन्त्रीले खाएको शपथविरुद्ध सर्वोच्चमा मुद्दा परेपछि अब यो ‘शपथ काण्ड’ राजनीतिक मात्र होइन कानुनी पनि भइदियो । शपथविरुद्ध मुद्दा हाल्न वकिल साबहरू कोरोनाको ख्यालै नगरी अदालत कुदिरहेका छन् ।

    बाहिर त अहिले निषेधाज्ञा लागू भइरहेको छ । यसमा एम्बुलेन्स र पत्रकारलाई मात्रै छुट हुन्छ भनिएको थियो । अदालतमा मुद्दा हाल्नेहरूलाई पनि छुट छ र ? छ भने यसलाई तुरुन्तै रोक्नुपर्यो ।

    त्यसो त मुद्दा हालिएकै रहेछ भने पनि घबराउनु पर्ने कुनै कारण छैन । किनभने मुद्दा हालिएको त सर्वोच्च अदालतमा हो नि । त्यो पनि ओलीविरुद्ध । अब ओलीविरुद्ध सर्वोच्चमा मुद्दा हालेपछि त्यहाँबाट कस्तो फैसला आउला त्यो भनिरहनु पर्ला र ?

    मुद्दा हाल्नेहरूको जिकिर छ– यो शपथ खारेजै गर्नुपर्छ ! ओलीलाई पुनः शपथग्रहण गराउनुपर्छ ! प्रमले गरेका जम्मै काम अवैध घोषणा गर्नुपर्छ ! अर्को काम गर्नै दिनुहुन्न ! माफी मगाउन लगाउनुपर्छ !

    जिकिरहरू त धेरै होलान् । तर जस्तोसुकै जिकिर भए पनि अन्ततः सर्वोच्चले फैसला सुनाएको छ – त्यो पर्दैन !-सुरेश मानन्धर जन आस्थाबाट साभार 

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरीमा देशभरबाट तेक्वण्दो खेलाडीहरु खेल प्रतिष्पर्धाको लागि आउने भएका हुन्  नेपा…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आजदेखि ‘सहिद रत्नकुमार वान्तावा चौथो राष्ट्रब्यापी रेटिङ बुद्…

मोरङ । नेकपा (एमालें) पथरीशनिश्चरेको दोस्रो नगर अधिवेशनमा अध्यक्षमा ४ र सचिवमा १० जना आकांक्षी देखि…

मोरङ । साल्पा सिलिचुङमा भौतिक मिर्माण र संरचना निर्माणको नाममा संकलित रकम तथा हिनामिनाबारे किरात राई य…