हावाहुरी आए भत्किएला झैँ झुप्रो छ । पश्चिममा ६ फिट चौडाइ र ७ फिट लम्बाइ रहेको झ्याल नभएको एउटा कोठा छ ।
त्यसैमा भान्सा रहेको कोठामा दुई जना सरस्वती नाम गरेकी महिला बस्नु हुन्छ । एउटीको थर दास हो भने अर्कीको चौधरी । दुबैको मुहार हिजोआज मलिन छ ।
सस्तोमा पाइएकाले सप्तरीको राजविराज–४ भलुवाही खोला किनारमा एउटा सानो कोठा डेरा लिएका उहाहरूसँगै दासकी १२ वर्षीया छोरी प्रियंका पनि बस्छिन् ।
एउटा खाटमा सुत्न ठाउँ नपुगेपछि खाटसँग जोडेर बेञ्च लगाइएको छ । प्रियंका पनि निन्याउरो र चिन्तित मुद्रामा आमाको छेउमा सँगै देखिन्छिन् ।
राजविराज नगरपालिका–६ माइत भएकी सरस्वती दासको १६ वर्षकै उमेरमा सप्तरीको हनुमाननगर बजारका उमेश दाससँग मागी विवाह भयो ।
विवाह भएर घर गएपछि मात्र उहाँलाई थाहा भयो कि त्यो घर आफ्नो नभई सासुको माइती रहेछ । केही महिनापछि सासुलाई उहाँका माइतीले घरबाट निकालेपछि सरस्वतीको परिवार
घरवारविहीन भयो । सासुले त उहाँको अर्को भाइकोमा शरण पाउनुभयो । तर नवविवाहिता उहाँले सहारा पाउनु भएन ।
श्रीमान सन्तोष साहुजीको पसलमा मिठाइ बनाउनु हुन्थ्यो र केही रकम हात लाग्थ्यो । दासका अनुसार उहाँ पनि मादकपदार्थ र नशालु पदार्थ सेवनकर्ता भएकाले त्यसैमा पैसा सक्नुहुन्थ्यो ।
दास भन्नुहुन्छ,‘‘श्रीमानले त्यतिबेला छाडनु भयो, जतिबेला सबैभन्दा बढी सहाराको जरुरी थियो ।
’’ गर्भवती भएका बेलामा श्रीमानले छाडेर बेपत्ता भएको घटनालाई उहाँ सबैभन्दा अप्ठ्यारो समयको रूपमा सम्झिनु हुन्छ । गर्भवती भएका बेला घरपरिवारबाट कुनै पनि सहयोग नपाएपछि
माइती घरमा नै गएर छोरीलाई जन्म दिएको उहाँले सुनाउनुभयो । सानै उमेरमा विवाह गरी आमा बन्नुभएकी दासले रोजीरोटीका लागि तरकारी पनि बेच्नुभयो ।
रोजगारी तथा कमाइखान तरकारी बेच्ने व्यवसाय उहाँको लागि सुरक्षित भएन । तरकारी कुहिने र पर्याप्त पुँजी नभएपछि गुजारा चलाउन उहाँलाई समस्या भयो ।
पछिल्लो समय उहाँ होटलमा भाँडा माझ्ने काम गर्नु हुन्छ । तरकारी बिक्री गर्दा दासको चिनजान भवन निर्माणमा मजदूरी गर्दै आएकी सरस्वती चौधरीसँग भयो ।
एउटै नाम भएका उहाँहरूको चिनजान मित्रतामा परिणत भयो । सुनसरीको भोक्राहा गाउँपालिका–६ नरसिंह घर भएकी चौधरीका श्रीमान् दमका रोगी थिए ।
श्रीमानको मृत्यु र एक मात्र छोरीको विवाहपछि एक्ली बन्नु भएकी ३९ वर्षीया सरस्वती मजदूरी गर्दै राजविराज आउनुभयो ।
भवन निर्माणको ज्याला मजदूरीको काम दैनिक रूपमा नपाएपछि उहाँ स्थायी कामको खोजीमा हुनुहुन्थ्यो ।
यस काममा दासले सघाउनु भयो र उहाँलाई पनि होटलमा सँगै काम दिलाउनु भयो । बिहान ७ बजे होटल जाने गर्नुभएका उहाँहरूले राति साढे ९ बजे छुट्टी पाउनु हुन्छ ।
दुबै जनाले महिनाको सात÷सात रुपैयाँ हजार पाउनु हुन्छ । खर्च बचतका हिसाबले दुबै जनासँगै एउटा कोठामा बस्न थाल्नु भएको हो ।
उहाँहरू काम गर्दै आउनु भएको होटल कोभिड–१९ रोकथामका लागि भएको लगातारको बन्दाबन्दीका कारण अहिले बन्द छ ।
बन्दाबन्दी खुल्ने अनिश्चित भएसँगै होटल खुल्ने पनि अनिश्चित बनेपछि होटल सञ्चालकले उहाँहरूलाई छुट्टी दिएका छन् ।
न्यून तलबमा जसोतसो गुजारा चलाइरहेका उहाँहरूलाई अहिले हातमुख कसरी जोर्ने भन्ने चिन्ता छ ।
उहाँहरूलाई कोभिड–१९ को सन्त्रासभन्दा पनि भोकभोकै मरिन्छ कि भन्ने चिन्ताले सताउन थालेको छ ।
छोरी जन्मिदा र हुर्कदा माइतीको सहयोग भए पनि हाल सहयोग नभएको दासले बताउनुभयो । लकडाउनका बेला माइत जाँदा भाइ बुहारीले कोरोनाका बेला नआउन भनेको बताउनु भयो ।
बन्दाबन्दीले होटल बन्द भई काम गर्न नपाउँदा आफूहरूलाई घरखर्च चलाउन निकै समस्या परेको उहाँहरूको भनाई छ ।
बन्दाबन्दी भएको १७ दिन पुगेको छ । उहाँहरूसँग भएको पैसा पनि सकिएको छ । उहाँहरूसँग नत पैसा छ, नत एक छाक गाँसको व्यवस्था गर्ने अन्य उपाय नै छ ।
पोषणयुक्त खाना खाने कुरा त परै जाओस् घरमा साँझ, बिहानको छाक कसरी टार्ने भन्ने उहाँहरूलाई चिन्ता छ ।
चौधरीको श्रीमानको मृत्यु भइसकेको छ भने दासको श्रीमान सम्पर्कमा छैनन्् । चौधरीको एक मात्र छोरीको विवाह भइसकेको छ भने दासको एउटी छोरी नाबालिका छिन् ।
होटलमा काम गर्दै आउनु भएका उहाँहरूले कोभिड–१९ रोकथामका लागि शुरु भएको बन्दाबन्दीका कारण काम गर्न पाउनु भएको छैन् ।
बन्दाबन्दीका कारण काम गर्न नपाएपछि उहाँहरूलाई दैनिक छाक टार्न समेत मुस्किल परेको छ ।
काम गर्ने होटलमा नै दुई छाक खान पाइरहेका उहाँहरूको होटल बन्द भएपछि खाने समस्या भएको हो । त्यसै माथि १२ वर्षीया छोरी भोकाउँदा झनै पिडा थपिने गरेको दासले बताउनु भयो ।
आँखाभरि आँसु लिदै दासले भन्नुभयो– “आफ्नो भोकभन्दा पनि छोरीलाई भोकले तडपिएको देख्दा निकै गाह्रो हुन्छ ।”