सिरिजङ्घा गाउँपालिकाले कोभिडका बिरामीलाई अन्यत्र उपचारका लागि लैजानु परे निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।
गाउँपालिकाको केन्द्र तेल्लोकमा रहेको अस्थायी कोभिड अस्पतालमा बिरामीको उपचार हुन नसकि अन्य कोभिड अस्पतालमा लैजानु परेमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने
गाउँपालिकाले जनाएको हो । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका सम्बन्धमा सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले निःशुल्क एम्बुलेन्स सेवा प्रदानसहित माताहतका १०
वटै स्वास्थ्य संस्थामा ‘फिवर क्लिनिक’ सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । “दिनानुदिन बढिरहेको सङ्क्रमणलाई रोकथाम र नियन्त्रणका लागि हामीले आफ्नो श्रोत र साधनले भ्याएसम्म
काम गर्न खोजि रहेका छौँ, सर्वसाधरण नागरिकको स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै सबै स्वास्थ्य संस्थामा केही उपकरण थपगरी सेवा बढाउने, यसमा खटिने स्वास्थ्य कर्मचारीलाई प्रोत्साहन दिने
, कोभिडका बिरामीलाई निःशुल्क एम्बुलेन्स र पोषणयुक्त खानाको सुविधा दिने पनि निर्णय भएको छ”, गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले भन्नुभयो ।
उहाँका अनुसार माताहतका १० वटा स्वास्थ्य संस्थाका लागि उच्च रक्तचापको मापन, अक्सिजनको मात्रा र पल्सको दर हेर्न उपयोगी भाइटल मोनिटर तत्काल खरिद गरिने भएको छ ।
यस्तै प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा रहेको पाँच शय्याको अस्थायी कोभिड अस्पतालमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, कार्यालय सहयोगी र एम्बुलेन्स चालकलाई मासिक तलब शुरु
स्केलको ५० प्रतिशत थप गरी प्रोत्साहन स्वरूप उपलब्ध गराउने समेत गाउँपालिकाले निर्णय गरेको छ ।
सङ्क्रमणका विरुद्ध आवस्यकताअनुसार स्वास्थ्यकर्मीको टोलीलाई टोलटोलमा खटाउने, सङ्क्रमण रोकथामका लागि खटिएका गाउँपालिका क्षेत्रभित्रका स्वास्थ्य संस्थाका ईन्चार्ज र टोल
विकास संस्थाका अध्यक्षलाई मासिकरूपमा सञ्चार खर्च उपलब्धसमेत गराउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो ।
अस्थायी कोभिड अस्पतालमा रहेका बिरामीलाई खाजा खानाको व्यवस्थापन गाउँपालिकाले मिलाउने छ भने होम आईसोलेशनमा रहेका सङ्क्रमित बिरामीलाई पोषणयुक्त खानाका लागि दुई
हजारका दरले प्रदान गरिने भएको छ । यता होम आईसोलेशनमा नै रहेका बिरामीलाई चिकित्सकको सिफारिसमा स्वास्थ्यकर्मीमार्फत औषधिको प्याकेज उपलब्ध गराउने बताइएको छ ।
सङ्क्रमणकै कारण निधन भए दाहसंस्कारका लागि रु २० हजारसमेत उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।