• २०७४ फाल्गुन १५ मंगलबार

    काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले स्वैच्छिक अवकाशमा जाने कर्मचारीहरूका लागि करिब १५ अर्ब खर्च हुने अनुमान गरेको छ ।

    सोमबारसम्म देशभरका कार्यालयबाट कुल ४४ सय ६२ जनाले स्वैच्छिक अवकाशका लागि निवेदन दिएको सामान्य प्रशासन मन्त्रालयको स्वैच्छिक अवकाश एकाइका उपसचिव धर्मराज रोकायले बताए ।

    स्वैच्छिक अवकाशका लागि दर्ता भएका निवेदन संकलन जारी छ ।

    १९ फागुनसम्म संकलन गर्ने समय रहेकाले अवकाश रोज्नेको संख्या बढ्न सक्ने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

    स्वैच्छिक अवकाश रोज्नेको संख्या करिब पाँच हजार पुग्ने अनुमान मन्त्रालयको छ । यो आधारमा उनीहरूका लागि करिब १५ अर्ब खर्च गर्नुपर्ने हिसाब निकालिएको हो ।

    मन्त्रालयका अनुसार स्वैच्छिक अवकाशका लागि तीनजना सचिवले निवेदन दिएका छन् ।

    भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव शम्भु कोइराला तथा संसद् सेवातर्फका सचिवद्वय हिमलाल सुवेदी र वीरेन्द्रबहादुर कार्की छन् ।

    संघीयतामा जान नचाहने कर्मचारीका लागि ल्याएको अवकाशको प्याकेजको दुरुपयोग गर्दै अनिवार्य अवकाश पाउने अवस्थामा रहेका उनीहरूले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका हुन् ।

    १४ जना सहसचिवले पनि स्वैच्छिक अवकाशका लागि निवेदन दिएका छन् ।

    उनीहरूमध्ये चारजना भर्खरै मात्र वरिष्ठताका आधारमा उपसचिवबाट सहसचिवमा बढुवा भएका थिए ।

    चतुर्भुज ज्ञवाली, कृष्ण मुरारी न्यौपाने, भरत ढुंगाना र राजेश्वर पौडेल अवकाश रोज्ने सहसचिव हुन् । अरू पनि स्वतः अवकाश पाउने समय थोरै बाँकी भएकाहरू छन् ।

    मन्त्रालयले स्वैच्छिक अवकाशका लागि निवेदन दिनेहरूमा उपसचिवतर्फ करिब ४५ जना रहेको जनाएको छ ।

    मन्त्रालयले स्वैच्छिक अवकाशका लागि निवेदन दिनेहरूमध्ये करिब ८० प्रतिशत राजपत्र अनंकित सुब्बा, खरदार, कार्यालय सहयोगी र सवारीचालक रहेको जनाएको छ । नयाँ पत्रिका दैनिक

     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…