• फुङ्लिङ, ३० असोज

    विजयादशमी दसैँको मुख्य दिन हो । मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद लिन प्रायः सबै व्यस्त हुन्छन् तर लेकाली समुदायमा न  दसैँ आउँछ, न त तिहार नै ।

        त्यही लेकाली समुदायका एक हुनुहुन्छ ६५ वर्षीय योन्जेन शेर्पा । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका उहाँ याक–चौँरीगाईसँग रमाउन थालेको ६५ वर्ष भयो ।समुद्र सतहदेखि चार हजार ३०० मिटर उचाइको मौवटारमा उहाँको गोठ छ । छोराछोरीलाई अंशका रुपमा चौँरी बाँडेर पनि उहाँसँग अहिले ३० वटा छ । दशवटा दुहुना छन् । बिहान उठ्ने बित्तिकै एक गिलास दूध चिया लिए पछि झिसमिसेदेखि दुहुना चौँरी बटुलेर दूध दुहुँदा घाम लागिसक्छ ।  

        तिनलाई चरन क्षेत्रमा पु¥याएर गोठमा आएर खाना खाँदा आधा दिन गइसकेको हुन्छ । बिहान दुहेको दूधलाई मोही, घ्यू र छुर्फी बनाउँदासम्ममा घाम क्षितिजपारी पुगिसक्छ । साँझ परेपछि छरिएका चौँरी र याकलाई जम्मा गर्दै आफ्नो गोठमा ल्याउँदासम्म जुन उदाइसक्छ । यसैगरी लेकाली बस्तीका समुदायको दिन बित्छ ।

        उनीहरूको मुख्य पुर्खौली पेसा चौँरी–याकपालन नै हो । वर्ष दिनमा आउने दसैँ तिहारजस्ता पर्वबारे आफूहरूलाई थाहै नहुने भएकाले चासो नभएको फक्ताङलुङ गाउँपालिकाका हेम्वे शेर्पाले बताउनुभयो । चौँरी याकसँग हिमाल डुल्दाडुल्दै कतिखेर दसैँ आउँछ कति खेर तिहार आउँछ थाहा नै नहुने गरेको अर्का स्थानीयवासी तेन्जिङ शेर्पाले बताउनुभयो । मौवटारमा चार, सिंजेको पोखोरी क्षेत्रमा तीन, र याङमा क्षेत्रमा नौवटा याकको घुम्ती गोठ छ । मिक्वाखोला गाउँपालिका—५ तोक्पेगोला क्षेत्रमा ३५ घुम्ती गोठ रहेको मिक्वाखोला गाउँपालिका–५ वडाध्यक्ष डण्डु लामाले बताउनुभयो । 

        ताप्लेजुङ हिमाली जिल्ला भएकाले यहाँ धेरै लेकाली बस्ती छ । हिमाली बस्तीमा बासोबास गर्ने समुदाय पशुपालनमै निर्भर हुने भएकाले दसैँको खासै महत्व नहुने फक्ताङलुङ–७ का चुङदाक शेर्पाले बताउनुभयो । सहर बजारमा दसैँको उत्साह छाए पनि हिमाली बस्तीमा दसैँ तिहारको न उत्साह न त उमङग नै दैनिक चौँरी याक चराउँदैमा उनीहरूको दिन बित्नेगर्छ । 

सम्वन्धित समाचार

मोरङ । मनकामना सामुदायिक वनको चर्चा अमेरिकामा समेत हुने गरेको मोरङ पथरीशनिश्चरे नगरपालिका—१ नं.…

मोरङ । मोरङको कानेपोखरी ७ स्थित जंगलमा बेवारिसे शव फेला परेको छ ।  मुख्य सडकदेखि करिव ३ सय मिटर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—२, मा रहेको हरियाली सामुदायिक वन लिमिटेडद्वारा सञ्चालित स्वी…

मोरङ । नक्कली भुटानी शरणार्थी ठगि मुद्दाको फायल खोल्ने साथ पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, प…