• रसुवा, ११ कात्तिक 

    नेपालको उत्तरीनाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात गरिएका छन् । सहरी क्षेत्रलाई केन्द्रित गरी व्यवसायीबाट आयात गरिएका २२ वटा  माइक्रोबस बुधबार साँझसम्म नेपाल भित्रिएका हुन् । माइक्रोबसको सिट क्षमता १२ रहेको छ ।

    चीनबाट दिन प्रतिदिन सवारी साधन आयात भइरहेका र दसैँलगत्तै भित्रिएका माइक्रोबसको भन्सार प्रक्रिया पूरा गरी गन्तव्यतर्फ पठाइसकिएको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो । दसैँअगावै १०० विद्युतीय कार आयात भएका थिए भने पछिल्लो समय माइक्रोबस आयात हुने क्रम बढेको भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

    सहरी क्षेत्र केन्द्रित गरी आयात गरिएका माइक्रोबसका पाङ्ग्रा होचा भएका कारण कच्ची सडकमा गुडाइ काठमाडौँ लान निकै चुनौती रहेको सवारी चालकले प्रतिक्रिया दिएका छन् । रसुवागढीदेखि गल्छीसम्मका अधिकांश सडकमा बढी खाल्डाखुल्डी भएकाले साना र होचा सवारी साधन सहजरूपले लैजान बढी असहज हुने गरेको बताइन्छ ।

    दसैँ अगाडि आयात भएका सानाखाले केही सवारी साधन भने मालधनी एवं उसका प्रतिनिधि नपुग्दा भन्सार हातामा थन्किएका छन् । विद्युतीय सवारी साधनको आयातले प्रदूषणको न्यूनीकरण एवं सहरी क्षेत्रमा वातावरणको स्वच्छता बढ्ने र पेट्रोलियम पदार्थबाट चल्ने यात्रुबाहक साधन क्रमिकरूपले हट्दै जाने बताइएको छ ।

    सवारी साधनमा रहने ब्याट्री एक पटक चार्ज गरेपछि  चार घण्टासम्म पुग्ने भएकाले बिना आवाज सहरी क्षेत्रको यात्रा अत्यन्तै सहज हुने जनाइएको छ । आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि हालसम्म ९०० भन्दा बढी सानाठूला सवारी साधन आयात भएको भन्सार कार्यालयले जनाएको छ । आयात भएका सवारी साधनबाट नियमानुसार भन्सार शुल्कबापत रु ६५ करोडभन्दा बढी राजस्वसमेत दाखिला भइसकेको भन्सार अधिकारीले बताएका छन् ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…