पालुङटार (गोरखा), १३ कात्तिक
गोरखाको लुइँटेलमा रहेको अमरज्योति जनता माध्यमिक विद्यालयलाई कम्युटर सहयोग गरिएको छ । पालुङटार नगरपालिका वडा नं ४ लुइँटेलमा रहेको उक्त विद्यालयलाई आज इन्गेज नेपालले १० थान कम्युटर सहयोग गरेको हो ।
विद्यालयका पूर्वविद्यार्थी एवं युनिभर्सिटी अफ मिनिसोटा मोरिसका अर्थशास्त्रका सह–प्राध्यापक डा सतिशचन्द्र देवकोटाको सक्रियतामा नेपालका लागि अमेरिकाका पूर्वराजदूत स्टक एच डेलिसी सङ्लग्न संस्था इन्गेज नेपालबाट उक्त कम्युटर सहयोग गरिएको हो । कम्युटर विद्यालयका पूर्वविद्यार्थी एवं भूगर्भविद् डा कृष्णचन्द्र देवकोटा र पालुङटार नगरपालिकाका नगरप्रमुख इञ्जिनीयर दीपकबाबु कँडेलले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गङ्गा सुनार र प्राचार्य माधवराज देवकोटालाई संयुक्तरुपमा हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा नगरप्रमुख कँडेलले अमरज्योति जनता माविलाई नगरपालिकाको मात्र नभएर जिल्लाको नमूना विद्यालय बनाउनका लागि नगरपालिका कटिबद्ध भएर लागेको बताउनुभयो । “पालुङटार नगरपालिकालाई शिक्षाको हव निर्माणका लागि हामी लागिरहेका छौँ”, नगरप्रमुख कँडेलले भन्नुभयो । डा देवकोटाले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि कम्युटरले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
इन्गेज नेपालका कोषाध्यक्ष खेमराज सेढाइँले राजधानीबाट टाढा रहेको सरकारी विद्यालयलाई अमेरिकामा बसेर सहयोग गर्न पाउँदा आफूहरुलाई साह्रै खुसी लागेको बताउनुभयो । इन्गेज नेपालले स्थापनाको छ वर्षको अवधिमा रु छ करोडभन्दा बढी आर्थिक सहयोग गरिसकेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा भूगर्भविद् डा देवकोटाले अहिलेका विद्यार्थीले आफूलाई प्रविधिमा ढाल्नका लागि कम्युटरले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विद्यालयको इतिहासलाई आगामी दिनमा कायम राख्न दत्तचित्त भएर लाग्न विद्यार्थीलाई उहाँले आग्रहसमेत गर्नुभयो ।
पालुङटार नगरपालिका वडा नं ४ का कार्यवाहक वडाध्यक्ष डिलेन्द्रबहादुर देवकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनार, विद्यालयका प्राचार्य देवकोटालगायतले प्रविधिमैत्री विद्यालय निर्माणका लागि कम्युटर सहयोगले राहत मिलेको बताउनुभयो । विद्यालयलाई ५० कम्युटरसहितको सुविधासम्पन्न प्रयोगशाला निर्माणमा लागेको प्राचार्य देवकोटाको भनाइ छ ।
गोविन्दराज देवकोटाको सक्रियतामा कृष्णप्रसाद धिताल संस्थापक अध्यक्ष रहेर विसं २०१७ फागुन ९ मा स्थापना भएको उक्त विद्यालय सुरुआती समयदेखि नै युनाइटेड मिसन टु नेपालको आर्थिक एवं प्रशासनिक सहयोगमा सञ्चालनमा रहेको थियो । राष्ट्रिय शिक्षा योजना २०२८ अनुसार विसं २०३० देखि उक्त विद्यालयलाई नेपाल सरकारले सरकारी विद्यालयका रुपमा जिम्मा लिएर सञ्चालन हुँदै आएको सो विद्यालयका पूर्वप्राचार्य गोविन्दप्रसाद खनालले जानकारी दिनुभयो । उक्त विद्यालयले विसं २०२२ देखि एसएलसी परीक्षामा विद्यार्थीलाई सम्मिलित गराएको थियो ।
उक्त विद्यालय पालुङटार नगरपालिकाभित्रकै एकमात्र नमूना तथा आवासीय विद्यालय हो । यस विद्यालयमा विशेष शिक्षाअन्तर्गत लामो समयदेखि न्यून दृष्टिविहीन भएकालाई पनि पठनपाठन गराउँदै आएको छ । उक्त विद्यालयमा हाल ७५० विद्यार्थी अध्ययनरत रहेका छन् भने ३२ शिक्षक कार्यरत रहेको सो विद्यालयका शिक्षक सोमप्रसाद मुडवरीले राससलाई जानकारी दिनुभयो । उक्त विद्यालयले विसं २०६६ देखि उच्च मावितर्फ विज्ञान र व्यवस्थापन सङ्कायको पठनपाठनसमेत सुरु गरिसकेको छ ।