• म्याग्दी, १८ कात्तिक 

    म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा निर्माणाधीन स्वास्थ्य चौकी भवन अलपत्र परेको छ । 

    चार वर्षअघि निर्माण सुरु भएको स्वाथ्य चौकीको भवनले पूर्णता पाउन नसक्दा पूर्वाधार जीर्ण बन्दै गएको छ भने स्वास्थ्य चौकीको सेवा प्रवाह समेत प्रभावित भएको छ । १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको निर्माण कम्पनीको लापरबाहीका कारण भवन अलपत्र परेको स्थानीयवासी भीम छन्त्यालले बताउनुभयो । 

    “ठेकेदारकै कारण यो भवन बन्न सकेको छैन । दुई वर्ष अघिनै बनिसक्नुपर्ने हो,” उहाँले भन्नुभयो, “अहिले जीर्ण अवस्थाको भवनबाट सेवा लिन परेको छ । भवन बनेको भए नागरिकलाई स्वास्थ्य सेवा लिन सहज हुने थियो ।”अठार महिनामा सम्पन्न गर्ने लक्ष्यसहित दुई तले १४ कोठे भवनमा बिरामीको उपचारका लागि श्यया, औषधि भण्डारण, कर्मचारी आवास, प्रशासन, तालिम हलका लागि छुट्टाछुट्टै कक्ष रहने गरी ठेक्का सम्झौता भएको थियो । 

    भवन छाउने, रङगरोगन गर्ने, फर्निचर, विद्युत्, पानी जडान, पर्खाल र घेराबार लगायतका काम बाँकी छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयबाट भवन निर्माण गर्न प्रतिस्पर्धामार्फत वोल्ड वाइड मालीका भगवती जेभीले विसं २०७४ मा रु एक करोड ७४ लाखमा ठेक्का सम्झौता गरेको थियो । गत वैशाख महिनादेखि निर्माण व्यवसायीले काम गरेका छैनन् । मौखिक रुपमा पटकपटक ताकेता गरिएको भएपनि निर्माण कम्पनीले बेवास्ता गर्दा भवनको संरचना समेत जीर्ण र पुरानो हुँदै गएको वडाध्यक्ष खर्ककुमारी छन्त्यालले जानकारी दिनुभयो । 

    “पूर्वाधार अभावमा स्वास्थ्य चौकीको सेवा प्रभावित बनेको छ,” उहाँले भन्नुभयो, “पुरानो, जीर्ण र साँघुरो कोठा भएको भवनबाट स्वास्थ्य चौकी सञ्चालन गर्न समस्या भएको हो ।” स्वास्थ्य चौकीका अहेब लेखनाथ गौतमले पूर्वाधार अभावमा सेवा प्रभावित बनेको बताउनुभयो । “कच्ची भवनका कोठा साँघुरा छन्”, उहाँले भन्नुभयो, “बर्खामा पानी चुहिने जीर्ण भवनमा दुःखकष्टका साथ सेवा दिएका छांै ।” करिब २५० घरधुरीले सेवा लिने स्वास्थ्य चौकीको कामकाज प्रभावित बनेको हो । जीर्ण, साँघुरो र पानी चुहिने कच्ची भवनमा स्वास्थ्य संस्था सञ्चालन गर्दा नागरिकलाई समस्या भएको छ । छानोबाट पानी चुहिन्छ । 

    प्रसूति गराउने, बिरामीको स्वास्थ्य परीक्षण र घाउ, चोटपटक सफा गर्ने ठाउँ साँघुरो छ । सिङ्गो स्वास्थ्य चौकी तीन वटा कोठामा सीमित छ । पर्याप्त कार्यकक्ष नहुँदा सेवा प्रवाहमा समस्या भएको अहेब गौतमले बताउनुभयो । एउटा कोठामा प्रशासन र बिरामीको उपचार गर्ने कक्ष राखिएको छ । एउटामा औषधि भण्डारण र अर्कोमा प्रसूति कक्ष राखिएको छ । गोप्य कक्ष नहुँदा सेवाग्राहीले लाज मानेर आफ्ना समस्या खुलेर स्वास्थ्यकर्मीलाई बताउन सक्दैनन् । 

    यस स्वास्थ्य चौकीका दैनिक १० जनाको अनुपातमा सेवाग्राही आउने गर्छन् । विभिन्न तहका ६ जनाको दरबन्दी भएको स्वास्थ्य चौकीमा हाल कार्यरत तीनमध्ये एक जना मासिका बाहेक अरु दुई जना करारका हुन् । 

    स्थानीय सहायक ठेकेदारले अधकल्चो बनाएर करिब एक वर्ष रोकिएको भवन निर्माणकार्य आगामी चैत महिनाभित्र सम्पन्न गर्ने निर्माण ब्यवसायी गोपाल भट्टचनले प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो “अहिले बर्खाको कारणले सामान लैजान नसकेर रोकिएको हो । बर्खा रोकिएपछि काम सुचारु हुन्छ । चैतसम्म म्याद थपिएको छ । त्यसबेला सम्म निर्माण भैसक्छ ।”

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…