• नुवाकोट, १८ कात्तिक

     महाकवि लक्ष्मीप्रसाद देवकोटाले कुञ्जिनी खण्डकाव्य लेखेकोस्थल नुवाकोटको झिल्टुङमा कुञ्जिनी उद्यान निर्माण गरिने भएको छ । 

    बेलकोटगढी नगरपालिका–५ झिल्टुङ खड्काछापमा साहित्यप्रेमीको साहित्यिक धामको रुपमा विकास गर्ने योजनासाथ कुञ्जिनी उद्यान निर्माण गरिन लागिएको हो ।  

     बेलकोटगढी नगरपालिकाले पार्क निर्माणका लागि चालू आर्थिक वर्षमा रु पाँच लाख बजेट विनियोजन गरेर काम अघि बढाइएको महाकवि देवकोटा साहित्य प्रतिष्ठानका अध्यक्ष केदारप्रसाद नेपालले जानकारी दिनुभयो । 

    ११३औँ लक्ष्मी जयन्तीको अवसरमा हिजो बेलकोटगढी नगरपालिकाका उपप्रमुख कविता ढुङ्गानाले कुञ्जिनी उद्यानको शिलान्यास गर्दै यो उद्यानलाई पूर्णता दिनका लागि विनियोजित बजेट कम हुने भएकाले यसमा थप गर्न सकिने बताउनुभयो । 

    उहाँले महाकवि देवकोटाले यो क्षेत्रमा आएर खण्डकाव्य लेखी संसारलाई नै चिनाएको सम्झनाका लागि यसलाई साहित्यिक धामको रुपमा विकास गर्न नगरपालिका इच्छुक रहेको बताउनुभयो । बेलकोटगढी नगरपालिका–५ का वडाध्यक्ष अनन्तराम नेपालले व्यवस्थित सडक निर्माण गरेर कञ्जिनी उद्यानमा आउन सहज बनाउनुपर्ने र गाउँ छाडेर गएका स्थानीयवासीलाई आफ्नै थलोमा फर्काएर यो क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो । 

    महाकवि देवकोटाले विसं १९९७ मा झिल्टुङस्थित मामा ससुराली आएको बेलामा कुञ्जिनी खण्डकाव्य लेखेका थिए । देवकोटाले कुञ्जिनीको साथमा पहाडी जीवन निबन्ध पनि झिल्टुङको परिवेशमा लेखेकाले यसलाई चिनाउन कुञ्जिनी उद्यानको निर्माण थालिएको उद्यान निर्माणका अभियन्ता नारायण नेपालले बताउनुभयो ।

    सो अवसरमा देवकोटा सम्मान र विद्यालयस्तरीय कविता प्रतियोगिता पनि सञ्चालन गरिएको थियो । कार्यक्रममा ११ वर्षदेखि रूपायन साहित्यिक पत्रिका प्रकाशन गरेर जिल्लाको साहित्यिक पत्रकारितालाई योगदान पु¥याएको भन्दै नवदीप श्रेष्ठ र जिल्लामा साहित्यिक गतिविधि आयोजना गरी योगदान दिएको भन्दै साहित्य सङ्गम नुवाकोटकी अध्यक्ष सुमित्रा सुमीलाई सम्मान गरिएको थियो ।

    यस्तै, कविता प्रतियोगितामा महादेव माविकी बबिना लामिछाने पहिलो, कामरु माविका प्रवीना नेपाल दोस्रो, गौलिङ्गेश्वर माविकी प्रतिमा सुवेदी तेस्रो र मालिका माविकी सुस्मिता नेपाल सान्त्वना हुनुभएको थियो ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…