•  उदयपुर, ७ मङ्सिर  

    चौदण्डीगढी नगरपालिकाको पहाडी क्षेत्रमा रहेको ऐतिहासिक चौदण्डीगढी क्षेत्रमा पर्यटकको आगमन बढ्दै गएको छ । मङ्सिर लागेपछि घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।

    गत वर्ष चैतदेखि यस वर्ष कात्तिकसम्म कोभिड–१९ सङ्क्रमण महामारी र लकडाउनका कारण पर्यटन आगमन ठप्प भएको सो क्षेत्रमा विस्तारै आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका चौदण्डी पर्यटन विकास व्यवस्थापन समितिका संयोजक रोहित तामाङले बताउनुभयो । कोभिड–१९ का कारण लामो समयदेखि उक्त क्षेत्रमा पर्यटक आगमन ठप्प थियो । छिमेकी भारतबाट समेत पर्यटक चौदण्डीको भ्रमणमा आउन थालेको संयोजक तामाङले बताउनुभयो ।

    चौदण्डीगढी नपाका प्रमुख खगेन्द्र राईका अनुसार चौदण्डीगढीको पर्यटन विकासको पूर्वाधारका सम्पूर्ण काम निर्माण तथा व्यवस्थापन भइसकेका कारण पर्यटकलाई आवतजावत गर्न सहज भएको हो । “अब पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ”, उहाँले भन्नुभयो । चौदण्डीमा भ्यूटावर, खानेपानीसहित सडक व्यवस्थापन कार्य सम्पन्न भइसकेको छ । त्यसैले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो । 

    नगरपालिकाले प्रदेश सरकार र सङ्घीय सरकारसँग सहकार्य गर्दै चौदण्डीको पर्यटन विकासमा नयाँ योजना सञ्चालन गरेको नगरप्रमुख राईले बताउनुभयो । समुद्री सतहबाट एक हजार ८०० मिटर उचाइमा अवस्थित चौदण्डीगढीबाट उत्तरी क्षेत्रको महत्वपूर्ण आठ हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । यहाँबाट प्रदेश नं १ को धनकुटा, भोजपुर, खोटाङ र सङ्खुवासभाको अवलोकन गर्न सकिन्छ । 

    यस्तै तराईका सुनसरी, झापा, मोरङ, सप्तरी र सिरहाका साथै सप्तकोशी नदीको सुन्दर दृश्य र दक्षिण भारतको विहार क्षेत्रसहित वीरपुर, सुपौलाको अवलोकन गर्न सकिने संयोजक तामाङ बताउनुहुन्छ । सन् १७७३ सम्म ऐतिहासिकरूपमा पूर्वकै सेनवंशको राजधानी र राज्य रहेको उदयपुरको पूर्वी पहाडी क्षेत्र चौदण्डीगढीमा केही वर्षयतादेखि पर्यटन विकासको पूर्वाधार तीव्ररूपमा तयार हुँदै गएको छ । 

    विगतमा चौदण्डीगढीमा रहेका सेनराजाका दरबारको पर्खाल तथा महत्वपूर्ण वस्तुका भग्नावशेषको संरक्षण र दरबार क्षेत्र वरपर घेराबेरा गरेर यसलाई अझ व्यवस्थित बनाउने तथा दरबार परिसरको संरक्षणसमेत भइरहेको छ । सन् १७७१ सम्म पूर्वका चौदण्डी, विजयपुर र कमला क्षेत्रसम्म एउटै चौदण्डी सेनराज्य रहेको पूर्वप्रध्यापक डा अपार लम्साल बताउनुहुन्छ । सन् १६७१ मा पूर्वको सेनराज्य विभाजनपछि विजयपुर र चौदण्डीगढीमा विभाजित भई चौदण्डीगढी राज्य रहन गएको इतिहासविद् बताउँछन् ।

    चौदण्डीका पहिला राजा जगत सेन थिए भने त्यसपछि विक्रम सेन, मुकुन्दसेन तृतीय र चौथौ अन्तिम राजा बुद्धिकर्ण सेन रहेको इतिहास छ ।  सन् १६ जुलाई १७७३ मा गोर्खाका राजा पृथ्वीनारायण शाहको फौजका अभिमानसिंह बस्नेत, स्वरुपसिंह कार्कीलगायतको नेतृत्वमा चौदण्डीगढीमा आक्रमण गरी नेपालमा गाभिएको इतिहास छ । कोभिड सङ्क्रमणका कारण पर्यटन विकासका केही अधुरा काम बाँकी रहेको र पर्यटक आगमन बन्द हुन पुगे पनि मङ्सिर लागेसँगै पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको चौदण्डी नगरपालिकाका उपप्रमुख राजकुमारी चौधरीले बताउनुभयो ।

सम्वन्धित समाचार

 इलाम, १७ फागुन :  इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलाला…

ढोरपाटन (बागलुङ), १५ फागुन : बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र…

 ढोरपाटन (बागलुङ), १ फागुन : बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई…

 काठमाडौँ, १९ माघ : हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष &…