काठमाडौँ, २८ मङ्सिर
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार बिहान ११ः४५ बजेदेखि सुरु भएको मतदान राति ११ंः४५ बजे सम्पन्न भएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार जम्मा चार हजार ७४३ मतदाता (महाधिवेशन प्रतिनिधि) मध्ये चार हजार ६७९ ले मतदान गरेका छन् । १२ घण्टा चलेको मतदानमा ६४ जना अनुपस्थित रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
पूर्व निर्धारित समयमा मतदान नसकिएपछि तेस्रो पटक सोमबार राति ११.३० बजे सम्मका लागि मतदान समय निर्धारण गरिएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि भएको निर्वाचनमध्ये सभापति पदको मतगणना केही बेरमै सुरु गरिने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
सभापतिका लागि प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधी, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्धय डा शेखर कोइराला र कल्याणकुमार गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।