काठमाडौँ, २८ मङ्सिर
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानको सभापतिको मतगणना सुरु भएको छ ।
महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा विहान ४ः२० बजेदेखि मतगणना सुरु भएको पार्टीको केन्द्रीय निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार मतगणना पूरा गर्न करिब तीनदेखि चार घण्टा समय लाग्नेछ ।
सोमबार बिहान ११ः४५ बजेदेखि राति ११ंः४५ बजेसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदान सकिए लगत्तै मतपेटिका शिलबन्दी गर्ने, मुचुल्का तयार गर्ने, मतगणना आचारसंहिता तयार गर्नेलगायत आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिएको समितिले जनाएको छ ।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलो पटक नै दुई जनामात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानको व्यवस्था छ ।
सभापतिका लागि प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधी, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यद्धय डा शेखर कोइराला र कल्याणकुमार गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।