•  चितवन, २२ पुस 

    शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले उल्लेख्य प्रगति हासिल गरेको छ । देशका अन्य पालिकामा हुन नसकेका नमूनायोग्य काम सो महानगर गर्न सफल भएको छ । महानगर प्रमुख रेनु दाहालले शिक्षाको विकासमा भरतपुर महानगर अग्रणी रहेको बताउनुभयो । उहाँको भनाइमा महानगरमा अटिजम विद्यालयको स्थापना, शिक्षक दरबन्दी सिर्जना गरी युवा स्वयंसेवक शिक्षक परिचालन, खुला आवेदनबाट पूर्ण छात्रवृत्ति प्रदानजस्ता कार्यक्रम उक्त महानगरपालिकाले मात्र गरेको छ ।

        यी कार्य अन्य पालिकाका लागि सिको गर्ने कार्य भएको उहाँको भनाइ छ । भरतपुर महानगरले आफ्नो आन्तरिक आम्दानीको १३ प्रतिशत शिक्षामा लगानी गरेको छ । सङ्घीय सरकारले १० प्रतिशत मात्र शिक्षामा बजेट छुट्याएको छ । प्रमुख दाहालले भन्नुभयो, “हामीले शिक्षामा दिएको प्राथमिकताका कारण नतिजा पाउन सकेका छौँ ।” अन्य पालिकाले गर्न नसकेका काम भरतपुरले गर्न सकेको उहाँको भनाइ छ । महानगरपालिकाले उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्नेका लागि वार्षिक रु १० हजार छात्रवृत्ति उपलब्ध गराउन सुरु गरेको छ ।

        सामुदायिक विद्यालयमा शिक्षक दरबन्दीको न्यूनतालाई परिपूर्ति गर्ने उद्देश्यले महाननगरपालिकाले स्वयंसेवक शिक्षक परिचालन गर्ने भएको छ । गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्न चालु आर्थिक वर्षमा महानगरको आन्तरिक स्रोतबाट रु ६५ लाख अनुदान रकम विनियोजन गरेको छ । शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले ३० युवा स्वयंसेवक शिक्षक परिचालन गरिने बताउनुभयो । सामुदायिक विद्यालयमा शिक्षक अभाव हुन नदिन सो कार्यक्रम राखिएको उहाँको भनाइ छ ।  

        यससँगै सामुदायिक विद्यालयको शिक्षक दरबन्दी मिलान र प्रधानाध्यापक व्यवस्थापनको महत्वपूर्ण कार्य सम्पन्न भएको छ । यस अवधिमा सामुदायिक विद्यालयको विद्यार्थी सङ्ख्यामा करिब छ हजार वृद्धि भएको उहाँले बताउनुभयो । आधारभूत तहका विद्यार्थीको सिकाइ उपलब्धि विसं २०७५ मा ५६ दशमलव ४७ प्रतिशत रहेकामा शैक्षिक सत्र विसं २०७७ मा पाँच दशमलव ५३ प्रतिशतले वृद्धि भई ६२ प्रतिशत पुगेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य प्रगति भएको पौडेलको भनाइ छ । कूल साक्षरता दर गुणस्तरमा ९८ दशमलव पाँच प्रतिशत रहेको छ । विभिन्न स्थानमा नमूना विद्यालय स्थापना भएको उहाँले बताउनुभयो ।

        शिक्षकको प्रविधि उपयोगको क्षमता विकास गर्न आइसिटी तालिम सञ्चालन गरिएको छ । सबै आधारभूत विद्यालयमा इन्टरनेट सुविधा विस्तार गरी शिक्षासँग सिकाइ जोडिएको उहाँले बताउनुभयो । शिक्षकको पेसागत दक्षता विकासका कार्य अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विगत चार वर्ष छ महिनामा ‘हाम्रो गौरव हाम्रो भरतपुर’ विषयको कक्षा १ देखि ८ को स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिएको छ ।” शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रत्येक वडामा एक नमूना विद्यालय विकासको कार्य कार्यान्वयनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । संस्थागत विद्यालयको साझेदारीमा कक्षा ११ का २३९ विद्यार्थीलाई मेरिट बेसमा आधारित पूर्ण छात्रवृत्ति प्रदान गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो नेपालमा नै पहिलो कार्य हो ।”  

        लैङ्गिक हिंसारहित विद्यालय बनाउन सबै सामुदायिक तथा संस्थागत विद्यालयमा एक महिला शिक्षिकालाई लैङ्गिक सम्पर्क शिक्षक तोकिएको उहाँको भनाइ छ । उनीहरुलाई लैङ्गिक हिंसासम्बन्धी अभिमुखीकरणसमेत दिइसकिएको छ । भरतपुर बालमन्दिरमा अटिजम विशेष विद्यालय स्थापना गरी अटिजम भएका बालबालिकाको शिक्षामा पहुँचको सुनिश्चितता गरिएको छ । सामुदायिक विद्यालयमा पाँच बस उपलब्ध गराइएको र अहिले पनि त्यो कार्यक्रम सञ्चालन गरिने छ ।

        महानगरपालिकाभित्र सामुदायिक १२३ र संस्थागत विद्यालय ९७  रहेका छन्् । ती विद्यालयमा ८६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । महानगरपालिकाभित्र कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय, दुई मेडिकल कलेजसहित अन्य प्राविधिक कलेजसँगै विभिन्न विश्वविद्यालयका आंगिक क्याम्पस, सामुदायिक क्याम्पस र निजी क्याम्पस रहेका छन् । चितवनसहित छिमेकी जिल्लाबाट यहाँका स्कुल र कलेजमा विद्यार्थी पढ्न आउने गर्दछन् ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…