• जुम्ला, २९ माघ 
    कोरोना संक्रमाणबाट मृत्यु भएका जुम्लामा २२ परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश विपद् व्यवस्थापन कोषबाट उनीहरूलाई रकम उपलब्ध गराइएको हो । 

    पहिलो चरणको कोरोना लहरमा जुम्लाले मृत्यु ब्यहोरेको थिएन । दोस्रो लहरमा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् । उनले भनिन्, ‘संक्रमणको तेस्रो लहरमा जुम्लाले अहिलेसम्म मृत्यु बेहोर्नु परेको छैन ।’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा २० वैशाख ०७७ देखि कोभिड परीक्षण ल्याब सञ्चालनमा आएको छ । संक्रमणको पहिलो लहरमा ११ हजार ६ सय ६३ जनाको कोभिड परीक्षण भएको थियो ।
    यसमध्ये चार सय ६३ जना नागरिकमा संक्रमण देखिएको थियो । दोस्रो लहरको संक्रमण जुम्लामा वैशाख ०७८ देखि देखिएको हो । तीन हजार आठ सय २१ जनाको पीसीआर परीक्षणमध्ये एक हजार दुई सय २४ संक्रमित भएका थिए । 

    तीन हजार आठ सय दुई जनाको एन्टिजेन परीक्षणमध्ये चार सय ५६ जना संक्रमित भएका थिए । एक हजार ६ सय ८० जना संक्रमितमध्ये २३ जनाको संक्रमणका कारण मृत्यु भएको जनस्वास्थ्यको तथ्यांक छ । जिल्लामा ५० हजार नौ सय ८५ जनाले पहिलो डोज कोभिडविरुद्धको खोप लगाएका छन् । पूर्ण डोज खोप लगाएका ३३ हजार ६ सय ४५ रहेका छन् ।

    संक्रमणको तेस्रो लहरमा जुम्लामा संक्रमित हुने संख्या एक सय ७८ पुगेको छ । यसमध्ये ९३ जना निको भइसकेका छन् भने ८५ जना संक्रिय संक्रमित छन् । संक्रिय संक्रमितमध्ये पाँच जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार छन् भने ८० जना होम आइसोलेसनमा छन् ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…