• काठमाडौं, २ माघ 

    नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध ल्याइएको महाअभियोगको प्रस्ताव लोकतन्त्रमाथि हमला भएको बताएको छ ।

    नयाँबानेश्वरस्थित संसद भवनमा सोमबार बसेको एमाले संसदीय दलको बैठकमा सांसदहरूको धारणा सुनेपछि दलका नेता तथा अध्यक्ष केपी ओलीले जबराविरुद्धको महाअभियोग प्रस्ताव लोकतन्त्रमाथिको निरन्तर हमलाको रुपमा लिनुपर्ने बताएका हुन् । 

    कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

    जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका विषयमा औपचारिक धारणा बनाउन सोमबार बसेको दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सत्तारुढ गठबन्धनबाट भइरहेको लोकतन्त्रमाथिको हमलाको निरन्तरता रहेको बताएका हुन् । 

    ‘आजको बैठकमा सांसदले धारणा राखेपछि अध्यक्ष ओलीले जबरामाथिको महाअभियोग लोकतन्त्रमाथिको हमलाको निरन्तरताको रुपमा रहेको बताउनु भयो,’ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । 

    जबराविरुद्धको महाअभियोगको प्रस्ताव अदालतलाई अस्थिर बनाउन, निर्वाचन सार्न र एमसीसी पारित गर्ने तीन कारणले आएको भन्दै ओलीले यसको प्रतिवाद गर्नुपर्ने बताएका छन् । 

    ‘महाअभियोगको प्रस्ताव जुन बेला आएको छ । त्यसलाई हेर्दा तीन कारण देखिन्छन्,’ ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने, ‘अदालतलाई अस्थिर बनाउने रहने, निर्वाचन सार्ने र एमसीसी पारित गर्ने तीन कारण देखिएका छन् । यसको एमालेले प्रतिवाद गर्नुपर्छ ।’ 

    यद्यपि, प्रधानन्यायाधीश जबरालाई जोगाउनुपर्छ भन्ने एमालेको धारणा नभएको प्रमुख सचेतक भट्टराईको भनाइ छ । 

    बैठकमा भीम रावल, घनश्याम भुसाल, गोकुल बाँस्कोटा, झपट रावल, विमला विश्वकर्मासहितका सांसदले धारणा राखेको र उनीहरू महाअभियोग प्रस्ताव र एमसीसीबारे पार्टी स्पष्ट धारणा आउनुपर्ने बताएका भट्टराईले जानकारी दिए । 

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…