•  पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले धुलिखेलको संस्कृति जीवित राख्ने खालको विकासको काम गर्न सुझाव दिनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबार भएको धुलिखेल नगरपालिकाको ३६औँ स्थापना दिवस कार्यक्रममा उहाँले कला र सीपको हस्तान्तण गर्नुपर्ने भएकाले नगरभित्रको शङ्खुको इँटे र धुलिखेल बजारलाई सिमेन्टको कङ्क्रिट नभई पहिला इँटा छापेको ठाउँमा इँटा तथा ढुङ्गा छापेको ठाउँमा ढुङ्गा नै प्रयोग गर्न आग्रह गर्नुभयो ।

    विकासमा कसैले पनि राजनीति गर्नुपर्ने अवस्था नरहेको समेत उहाँको भनाइ छ । उहाँले मान्छे प्रगतिबाट कहिल्यै नअघाउने भएकाले नगरपालिकाले अहिलेसम्ममा प्राप्त गरेका उपलब्धिलाई थप अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । नेता बाँस्कोटाले नेपालको राजनीतिक नेतृत्वको स्ट्राइकर कहाँ छ भनेर खोज्ने बेला आएको उल्लेख गर्दै राजनीति सही बाटोमा अगाडि नबढेको उल्लेख गर्नुभयो । 

    कार्यक्रममा नगर प्रमुख अशोक व्याञ्जूले आर्थिक वर्ष २०७४÷७५ देखि २०७७÷७८ सम्ममा करिब रु दुई अर्ब ९२ करोड ८३ लाख ३० हजार बजेट भएकामा रु दुई अर्ब ७९ करोड ४१ लाख ४८ हजार खर्च भएको बताउनुभयो । नगरपालिकाको नेतृत्व लिएपछि नगरभित्रमा ३४ किमी सडक कालोपत्र भएको जनाउँदै उहाँले पाँच किलोमिटर ढलान, ७१ किलोमिटर ग्राभेल र ३२० किलोमिटर कच्ची सडक निर्माण भएको बताउनुभयो । उहाँले सो अवधिभित्र नगरपालिकाले दुई हजार ५१९ घरधुरीमा थप धारा जडान गरी कूल पाँच हजार ७१६ घरधुरीमा खानेपानी सुविधा उपलब्ध गराएको जानकारी दिनुभयो । त्यस्तै साना–ठूला गरी ५१ उद्यान, दुई ट्रिटमेन्ट प्लान्ट र दुई झोलुङ्गे पुल निर्माण गरेको जनाइएको छ ।

    त्यस्तै नगरपालिकाले धुलिखेलस्थित क्याम्पसमा स्नातक तहसम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गर्नाका साथै काभ्रेभञ्ज्याङमा १५ शय्याको अस्पताल निर्माणाधीन रहेको उहाँले सुनाउनुभयो । नगरपालिकाको १२ वडामध्ये आठ वडा कार्यालयमा एकीकृत इन्टरनेट सेवा प्रवाहका लागि आफ्नै फाइवर जडान तथा बाँकी चारमा संस्थागत इन्टरनेट कनेक्टिभिटी मिलाइएको जनाइएको छ । त्यससँगै सेवाग्राहीलाई घरबाटै कर भुक्तानीका लागि ई–पेमेन्ट सेवा सञ्चालन र नगरपालिकाका गतिविधिको जानकारी दिनका लागि नगरपालिकाको एप्स तथा वेबसाइट र फेसबुक सञ्चालन गरिएको सो अवसरमा उहाँले बताउनुभयो ।

    कर्मचारीसहित विभिन्न व्यक्ति सम्मानित

    नगरपालिकाले विभिन्न कार्यमा सहयोग पु¥याउने कर्मचारी तथा सहयोगी, दाता एवं व्यक्तिलाई सम्मान गरेको छ । नगरपालिकाले स्थापना दिवसको अवसर पारेर विभिन्न व्यक्तित्वलाई सम्मान गरेको हो ।

    सो क्रममा नेपाल सरकारका सचिव एवं धुलिखेल नगरवासी रवीन्द्र घोलिजुलाई धुलिखेल रत्न, रविओपी गाविसका पूर्वअध्यक्ष केदारप्रसाद कोइरालालाई धुलिखेल नक्षेत्र, कलाकार दिनेशकाजी योगललाई धुलिखेल प्रज्ञाश्री र कृषि तथा पर्यटन व्यवसायी रामबहादुर गौतम, गैससकर्मी वसन्त कुँवर, जैविक कृषि फार्म सञ्चालक रेणुका गुरुङ, धुलिखेल क्याम्पसका प्रमुख सागर तिवारी, रमाइलो छत्रछायामुनि सामाजिक संस्था र सेतीदेवी माविका प्रध्यानाध्यापक धनबहादुर विष्टलाई धुलिखेल ताराले सम्मान गरिएको छ ।

    त्यस्तै नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका भोजकुमार ठकुरी र जिन्सी शाखाका मीनगोपाल तखाछेंलाई जनसेवा श्रीले सम्मान गरिएको छ । नगरपालिकाले सो अवसरमा सांस्कृतिक क्षेत्रमा योगदान पु¥याउने, समाजसेवाको क्षेत्र, विद्यालय, स्वास्थ्यचौकी र खानेपानी आयोजनाका लागि जग्गा दान गर्ने जग्गादातालाई सम्मान गरेको छ ।

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…