मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकामा आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट नगर प्रमुखमा दिनानाथ तिम्सिना र उपप्रमुखमा अनु राई सर्वसहमत उमेद्वार चयन भएको सो संगठनले जनाएको छ ।
पार्टीको सोमबार १० नं. वडा कार्यालय उद्घाटनसँगै नगर प्रमुख र उपप्रमुखको उमेद्वार घोषणा गरेको हो । आइतबारको बैठकले प्रमुख र उपप्रमुखको उमेद्वार सर्बसहमत निर्णय भएको सो पार्टीले जनाएको छ ।
यस अघि नगर प्रमुखमा चार र उपप्रमुखमा पाँचभन्दा बढीले आकांक्षा राख्दै आएपनि निर्वाचन जित्नको लागि सर्बसहमत उमेद्वार छानिएको पार्टी नगर उपाध्यक्ष प्रेम ढकालले बताए ।
नगर प्रमुख, उपप्रमुखसँगै वडा अध्यक्षहरु १ नं. मा युवाराज चौलागाई, ३ मा टंक पराजुली, ५ मा नगेन्द्र घिमिरे (अखिल जिल्ला अध्यक्ष), ६ मा कमल कटुवाल, ७ मा मोहन लिम्बू, ९ मा गोबिन्द कटुवाल र १० नं. वडामा रबिन्द्र राई सर्बसहमत भएर गाउँगाउँमा भोट माग्न थालेको पार्टी नगर समितिको उपाध्यक्ष कमल हाङबाङ लिम्बूले बताए । २, ४ र ८ नं. वडामा चाँडै उमेद्वार टुगिने बताइएको छ ।