भैरहवा, ६ वैशाख
गौतमबुद्धको जन्मस्थल रुपन्देहीको लुम्बिनीको गुरुयोजना बनेको ४४ वर्ष भयो । लुम्बिनी विकास कोषको समय गुरुयोजना सम्पन्न गर्ने भाषणमै बितिरहेको छ ।
विश्वस्तरीय शान्ति केन्द्र र पर्यटन केन्द्रको रूपमा विकास गर्न गुरुयोजना बनेको हो । १ डिसेम्बर १८९६ मा ब्रिटिस इन्डियाका पुरातत्वविद् डा.एलोइस् एन्टोनी फुहाररले नेपालको लुम्बिनी गौतम बुद्धको पवित्र जन्मस्थल हो भन्ने आधिकारिकता दिलाएपछि सन् १९७८ मा लुम्बिनी विकासको गुर योजनाको निर्माण र कार्यान्वयनमा संयुक्त राष्ट्रसंघको विशेष सहयोग अगाडि बढ्योे ।
बुद्ध जन्मस्थल लुम्बिनीको विकासका लागि सन् १९६७ मा राष्ट्रसंघका तत्कालीन महासचिव उथान्तले लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण र विकास गर्न जापानीज वास्तुविद् केन्जोटांँगेलाई गुरुयोजना बनाउने जिम्मा दिएका थिए । लुम्बिनीको भ्रमणमा आएका उथान्तले र नेपालका तत्कालीन राजा महेन्द्रसँग भएको सहमति र सहयोगको वातावरणले टाँगेले तयार पारेको लुम्बिनीको गुरु योजना स्वीकृत भई नेपालको तर्फबाट कार्यान्वयन गरे ।
सरकारद्वारा स्वीकृत गुरुयोजनाअनुसार सन् १९९३ देखि लुम्बिनी क्षेत्रमा विभिन्न बौद्ध मुलुकका विहार-मन्दिर निर्माण थालियो, सन् १९९७ मा लुम्बिनीलाई विश्व सम्पदामा सूचीकृत गरियो । ६ वर्ष लगाएर बनेको गुरुयोजना केन्जो टाँगेले ५५ मिलियन डलर बजेट लाग्ने मूल्यांकन गरी उल्लेख गरे पनि सरकारले आर्थिक वर्ष ०७०-०७१ देखि मात्रै राष्ट्रिय गौरवको आयोजनामा राखेर बजेट छुट्ट्याउन थाल्यो ।
विकास समिति ऐन, २०१३ अनुसार लुम्बिनी विकास कोष गठन भयो । हालसम्म विकास कोषले गुरुयोजानको ८५ प्रतिशत काम सम्पन्न गरेको छ । विकास कोषले ४४ वर्षसम्म गुरुयोजनालाई मूर्तरूप दिन नसक्नुको मुख्य कारण आर्थिक भए पनि राजनीतिक हस्तक्षेप, आन्तरिक चुनौती, आर्थिक सुनिश्चतता, पदीय अस्थिरता र खिचातानीलगायतका विविध कारण देखाउँदै कछुवा गतिमा विकास गरेको छ । १४ वर्षमा हुनुपर्ने काम ४४ वर्ष बित्दा पनि हुन सकेकाे छैन ।
‘नेपालकै व्यवस्थित र ठूलो गुरुयोजना कहीँ पनि छैन । प्रति वर्ष १८ लाख मानिस लुम्बिनी आउँछन्यो । नै लुम्बिनीप्रति लगाव हो । लुम्बिनी गुरुयोजना समयमै सम्पन्न हुँदा यसले नेपालको अर्थतन्त्रमा धैरै ठूलो योग्दान पुर्याउँछ, हाम्रो पहिलो प्रयास गुरुयोजनाको सबै काम यथाशीघ्र सम्पन्न गरी लुम्बिनीलाई व्यवस्थित सुन्दर अन्तर्राष्ट्रिय उद्यानको रूपमा बनाउने र लुम्बिनी आउने पर्यटकलाई लुम्बिनीका साथै कपिलवस्तु, रामग्राम आदि जोडेर एक हप्तासम्म भुल्ने कार्यक्रम निर्माण गर्ने चाहना हाे,’ लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय) ले भने ।
नेपाल सरकारले गुरुयोजनालई चाहिने करिब आठ अर्बको स्रोत सुनिश्चितता गरेको छ । अहिले गुरुयोजनाको बाटोघाटो, कल्भर्ट, व्यवस्थित गेट र लुम्बिनीलाई हरियाली बनाउन गौतमबुद्ध फलफूल बाटिका र अन्तर्राष्ट्रियस्तरका सभा सेमिनार गर्न सभागृहको निर्माण अन्तिम चरणमा रहेको उपाध्यक्ष मैतेयले भने । सडक, फुटपाथ, कल्भर्ट, गेट, पर्यटकलाई बस्ने बेन्चको निर्माण कार्य भइरहेको छ ।
गुरुयोजनाअनुसार लुम्बिनीलाई तीनवटा बराबर पाटामा विभाजन गरिएको छ । बफर जोनबाहेक गुरु योजना तीन वर्गमाइल भूभागमा फैलिएको छ । गौतम बुद्धको जन्मस्थल क्षेत्रलाई पवित्र उद्यान क्षेत्र भनिएको छ । गुरुयोजनाको दक्षिण भागमा रहेको यो क्षेत्र नाै सय मिटर व्यास आकारमा फैलिएको छ । दक्षिणमा पवित्र उद्यान, बीचमा विहार-गुम्बा क्षेत्र र उत्तरमा नयाँ लुम्बिनी ग्राम छ ।
केन्जो टाँगेको गुरुयोजनाअन्तर्गतका मुख्य ६ ठूला काम बाँकी छ । डोम आकारका ६ वटा भवनसहितको संरचना, सौन्दर्यीकरण, फोहोरमैला व्यवस्थापन र ढल निकास, नाली व्यवस्थापन, बाढी व्यवस्थापनका लागि ५६ वटा जलाशय, ग्रिनरी र पार्कसहितको सडक वृद्धिका काम गर्नुपर्नेछ । तीमध्ये गुरुयोजनालाई केही परिवर्तन नगरी काम भइरहेका छन् भने केही हुने प्रक्रियामा छ ।
कोषका सदस्य सचिव सानुराजा शाक्यले बाँकी १५ प्रतिशत भौतिक प्रगति गर्न ४-५ अर्ब लगानी भइसकेको बताए । ‘नेपाल सरकारले दुई वर्ष गुरुयोजना सम्पन्न गर्ने भनेर आर्थिक स्राेत सुनिश्चितता गरिसकेको छ । गत आर्थिक वर्षबाट तीव्रताका साथ बाँकी काम भइरहेका छन् । यो आर्थिक वर्षमा झन्डै चार अर्बको काम गरिरहेका छौं,’ उनले भने ।
गुरुयोजनाअनुसारको संरचना दुई वर्षमा सकिने गरी ठेक्का प्रक्रिया अगाडि बढेको छ । फोहाेरमैला व्यवस्थापन, दुईवटा खोलाको व्यस्थापन र केही भवनको काम मात्रै काम बाँकी रहेकाे शाक्यले बताए ।
गुरुयोजनाका अलावा लुम्बिनी र आसपासका बौद्धस्थल समेटेर ‘ग्रेटर लुम्बिनी’को अवधारणा पनि अगाडि बढाइएको छ । बुद्धको जीवनमा महत्व राख्ने कपिलवस्तुको तिलौराकोट र पश्चिम नवलपरासीस्थित रामग्राम स्तुपको विकासका लागि लुम्बिनी विकास कोषले गुरुयोजना तयार गरेको छ । गुरुयोजना सम्पन्न भएपछि लुम्बिनी एउटा बगैँचाको रूपमा रूपान्तरण हुने छ ।
गुरुयोजनाअनुसार विकास हुँदै आएको लुम्बिनीमा पर्यटकको बसाइँ लम्ब्याउने र समग्र बौद्धस्थलको विकास गर्ने उद्देश्यले लुम्बिनी र आसपासका पुरातात्विक स्थल समेटेर बृहत् लुम्बिनी विकास क्षेत्रको लागि खाका तयार गरिएको छ । खाकामा लुम्बिनीलाई केन्द्र मानेर कपिलवस्तु, रामग्राम, देवदहलगायतका बौद्ध सम्पदालाई जोड्दै एकीकृत रूपमा विकास गर्ने अवधारणा छ । यो अवधारणामा टुक्रे योजना सञ्चालन नगरी विश्व विकास बैंकको सहयोग र सहकार्य हुनेछ । जसमा एकीकृत रूपमा समुदायको सामाजिक, सांस्कृतिक, कृषि, आर्थिकलगायतका समग्र अवस्थाको बृहत् अध्ययन गरेर खाका कोरिएको छ ।
टाँगेको गुरुयोजना निर्माण नसकिँदै सरकारले कोरियन प्राध्यापक क्वाक योङहोनको गुरुयोजना स्वीकृत गरेको पनि धेरै भयो । वासिङ्टन डीसीसहितका विभिन्न सहरको गुरुयोजना बनाएका क्वाकले लुम्बिनीको नयाँ गुरुयोजना बनाउन १४ वर्ष अध्ययन गरेका थिए । लुम्बिनी सहर वातावरणमैत्री र विश्वकै सबैभन्दा सुन्दर सहर हुने उनको कल्पना छ, विश्व सहर लुम्बिनीमै बन्छ । त्यसको आकार कमलको फूलजस्तै आठ हजार मिटर क्षेत्रफलमा छ ।
रूपन्देहीका साविकका ११ गाविसलाई समेटेर बनाइएको सो गुरुयोजना १५ वर्षभित्र सम्पन्न गर्ने योजना क्वाकको थियो । उनले करिब मन्त्रीस्तरीय बैठकमा सो योजना देखाएका थिए । ६ हजार चार सय ७५ हेक्टरमा फैलिएको सो सहरलाई क्वाकले कमलको आठ पत्रजस्तै देखिने सो सहरलाई तीन भागमा विभाजन गरिएको छ । पहिलो घेराभित्रको १.६ किमी क्षेत्रलाई बुद्ध क्षेत्र, त्यसपछिको आठ सय मिटर क्षेत्र धर्म क्षेत्र र त्यसपछिको २.४ किलोमिटर क्षेत्रलाई संघ नाम दिइएको छ । बुद्ध क्षेत्रमा पुरानै मन्दिरहरूको संरचना रहनेछन् । धर्म क्षेत्रमा गुम्बाहरू हुनेछन् । त्यसलाई धर्म विश्वविद्यालय क्षेत्र बनाउने योजना छ । संघ क्षेत्रमा कृषि र आवास क्षेत्र हुनेछ । यो क्षेत्रको बीच भागमा गुम्बाहरू बन्नेछन् ।
चार सय २१ जना अट्ने सभा हल बनाउने गुरुयोजनामा भनिए पनि पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र ध्यान केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ, ठूला सभा सम्मलेन गर्ने उद्देश्यका साथ सो बनाइएको छ । यस्तै गुरुयोजनामा उललेख भएको न्यू लुम्बिनी भिलेजमा बस्तीहरू बसाल्ने भन्ने रहेपनि यस्ले पनि प्राथमिकता पाएको छैन । गाँउसँग जोडिएको पडरिया चोकमा रहेको विकास कोषको प्रवेशद्वार ६ नम्बर गेट पनि वर्षौदेखि बन्द रहेको छ, स्थानीय र ककरहवा हुँदै आएका पर्यटकहरू घुमेर भित्र जानुपर्ने बाध्यता छ । लुम्बिनीसँग जोडेर ३० अर्ब बढीको लगानीमा अन्तर्रष्ट्रिय विमानस्थलमा भएको छ, यस्तै निजी क्षेत्रका पनि अर्बौ लगानी भएको छ ।