• २०७४ फाल्गुन १८

    काठमाडौं । तराई क्षेत्रमा शुक्रबार होली मनाइँदैछ ।

    हिमाली तथा पहाडी भेगमा पूर्णिमाको दिनमा तथा तराईमा पूर्णिमाको अर्को दिन होली मनाउने चलन छ ।

    सरकारले होली मनाउँन शुक्रबार तराई भेगमा सार्वजनिक विदा दिएको छ ।

    आपसी प्रेम र सद्भाव दर्शाउने होली (फागु) पर्वको रौनक मिथिलामा ह्वातै बढेको छ ।

    मिथिला माध्यमिकी परिक्रमाका यात्रीले शुक्रबार जनकपुरमा एकआपसमा रङ अबीर खेलेर वसन्त उत्सव मनाउने भएपछि यस क्षेत्रमा होली पर्वको रौनक ह्वात्तै बढेको हो ।

    यतिखेर मथिला क्षेत्रका गाउँनगर बस्तीमा रङ अबीरको खरिद बिक्री ह्वात्तै बढेको छ ।

    फागु पूर्णिमाका दिन राति होलिका दहन (राक्षसी प्रवृत्तिकी प्रतीक मानिएकी होलिका राक्षसीको प्रतिमा दहन गरिने काम) सकेर भोलिपल्ट रङ अबीर खेल्दै मिष्टान्न भोजन गरेपछि समापन गरिने होली पर्व मिथिला क्षेत्रको आपसी प्रेम दर्शाउने मुख्य पर्व रहँदै आएको यस क्षेत्रका बुढापाका बताउँछन् ।

    होली (फागु) पर्वको सन्दर्भ सत्य युगमा दैंत्यराज हीरण्यकशिपुले विष्णुभक्त आफ्ना छोरा प्रह्लादलाई मार्न आगोमा पोलिएर नमर्ने अभय बरदान पाएकी बहिनी होलिकाको काखमा राखेर प्रह्लादलाई अग्निकुण्डमा राख्दा होलिका भष्म भएकी र प्रह्लाद भने ध्यान मुद्रामा भगवान्को नाम जप्दै रहेको विश्वाससँगै जोडिएको विद्वानको मत छ ।

    त्यही सन्दर्भ भए पनि मिथिलाको हकमा पर्वप्रति अपनत्व बढाउन मिथिलावासीले मिथिलापुत्री जानकीको सन्दर्भ जोडेर यो पर्वको ओज बढाएका याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका उपप्राध्यापक ध्रुव राय बताउँछन् ।

    “पुराणमा हीरण्यकशिपु, होलिका र प्रह्लादको प्रसंग फागु पर्वका लागि छँदैछ”, उपप्रध्यापक रायले भने, “तर मिथिलामा यो पर्वप्रति अपनत्व बढाउन आफ्नै चेली सीताको सन्दर्भ पर्व विशेषका लागि जोडिएको हो ।”

    फागु पर्वको बढ्दो रमझमसँगै महोत्तरी जिल्लाका बजारमा विभिन्न रंङका अबीरको माग बढेको व्यापारीले बताएका छन् ।

    बिहीबार राति होलिका दहन गरेपछि भोलिपल्ट शुक्रबार होली मनाइने तयारी छ ।

    पर्वका लागि भोजनमा मासुको प्रयोग आमरुपमा हुने भएकाले खसीबोका र कुखुरासँगै साकाहारीले खाने मिष्टान्न परिकारका समानका लागि मैथिल (मिथिलावासी) कुराकानी पक्का गर्न लागेका छन् ।

    पर्वकै लागि आवश्यक सामग्री बजारमा सजाउन व्यापारी लागिपरेको बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष प्रह्लाद क्षेत्रीले बताए ।

    होली आपसी प्रेम दर्शाउने रमाइलो पर्व भए पनि केही वर्षयता पर्वका नाउँमा उच्छृङ्खलता र विकृति बढेकोतर्फ भने बुद्घिजीवीले चिन्ता व्यक्त गरेका छन् ।

    अमर्यादित ढंगले रंङका नाउँमा कालो पोतो दल्ने, अनिच्छुकलाई जबर्जस्ती रङ छ्याप्ने र मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने बढ्दो विकृतिलाई भने तत्काल नियन्त्रण गरिन आवश्यक रहेको बर्दिवास जनता बहुमुखी क्याम्पसका प्रमुख तोपबहादुर ठकुरीको मत छ ।

    असत्यविरुद्ध सत्यको जीत हुने सन्देश प्रवाह गर्ने यस पर्वको गरिमा र महत्वलाई बुझेर यस पर्वको नाउँमा उच्छृङ्खलता र विकृति बढ्न नदिनतर्फ नयाँ पुस्ता सजग हुनुपर्ने पाका बुद्धिजीवीको सुझाव छ ।

सम्वन्धित समाचार

मोरङ । निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चना…

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले नजिकिँदै गरेका दशैं सहितका विभ…

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरीमा बुधबार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पथरीको संयुक्…