मोरङ । मोरङको पथरी शनिश्चरे १ मा स्थापित पथरी अस्पतालले पूर्ब प्रहरी (सेवा निवृत्त)हरुलाई औषधि उपचारमा छुट गर्ने भएको छ ।
नेपाल पूर्ब प्रहरी संगठन पथरी शनिश्चरे र पथरी अस्पतालवीच आज (बुधबार) पूर्ब प्रहरी र प्रहरीको परिवारलाई छुटमा औषधि उपचार गर्ने सम्झौता भएको छ ।
इलाका प्रहरी कार्यालय पथरीमा इन्चार्ज भएर आएका डीएसपी बेदप्रसाद गौतमको संयोजनमा पूर्ब प्रहरी र उनको परिवारलाई उपचारमा छुट गर्ने सम्झौता भएको हो ।
पथरी स्थित नेपाल पूर्ब प्रहरी संगठनको पथरीशनिश्चरे नगर समितिको कार्यालयमा एक कार्यक्रमवीच सम्झौता भएको हो । पूर्ब प्रहरीहरुलाई उपचारमा बेड सहित ५५ प्रतिशत, ल्याब सेवामा ४० र औषधिमा १० प्रतिशत छुट गर्ने पथरी अस्पतालका प्रबन्धक इश्वरी साप्कोटा र पूर्ब प्रहरीवीच सम्झौता भएको हो ।
पूर्ब प्रहरी संगठन पथरीशनिश्चरे नगर समितिका अध्यक्ष नरहाङ राईको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि रहेका डीएसपी बेदप्रसाद गौतमले आफ्नो प्रस्ताव स्वीकारेर पूर्ब प्रहरीहरुलाई उपचारमा सहयोग दिने अस्पताल परिवारलाई धन्यवाद दिएका थिए ।
अस्पतालका प्रबन्धक इश्वरी साप्कोटाले सामाजिक उत्तरदायित्व स्वरुप पूर्ब प्रहरीहरुलाई औषधि उपचारमा छुट दिने बताएका थिए । साप्कोटाले जेष्ठ नागरिक र बेवारिस बिरामी गरिबहरुलाई सामाजिक दायित्व सम्झेर केही निशुल्क र केही छुटमा उपचार गर्दै आएको साप्कोटाले बताए ।
हरेक अस्पतालले १० प्रतिशतलाई सामाजिक उत्तरदायित्व स्वरुप उपचारमा छुटमा उपचार गर्ने राज्यको नियम रहेको पनि साप्कोटाले बताएका थिए । पथरी अस्पतालको तर्फबाट साप्कोटा, पूर्ब प्रहरीको तर्फबाट अध्यक्ष नरहाङ राई र रोहोबरको रुपमा डीएसपी बेदप्रसाद गौतमले हस्ताक्षर गरेका छन् । अस्पतालले पेन्सन पट्टाको आधारमा परिचय पत्र दिने सो आधारमा छुट गरिने अस्पतालको प्रबन्धक इश्वरी साप्कोटाले बताए ।