• काठमाडौं । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकालका लागि राष्ट्रपति हुने इच्छा पूरा हुने संकेत देखिएको छ ।
    एमालेबाट २०७२ कात्तिक कात्तिक ११ गते राष्ट्रपतिको पदभार ग्रहण गरेकी वर्तमान राष्ट्रपति भण्डारीलाई नै फेरि राष्ट्रपतिको उम्मेदवार बनाउने मनस्थितिमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन् । यस विषयमा एमालेमा ’लगभग’ सहमति बनिसकेको एमालेका नेताहरूले बताउने गरेका छन ।
    निर्वाचन आयोगले फागुन २९ गते राष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । जसका लागि २१ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक भएको छ । यहीँ कार्यतालिकालाई मध्यनजर गर्दै एमालेले मनोनयन दर्ताको एकदिन अगाडि नै राष्ट्रपतिको उम्मेदवार तय गर्ने भएको छ । सोही विषयमा औपचारिक निर्णय गर्न एमालेको स्थायी कमिटी बैठकको मिति समेत तय भएको छ । यता, संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि खुल्ला रुपमा तयारी गरेको देखिदैन ।
    राष्ट्रपतिमा वाम गठबन्धनबाट बन्ने उम्मेद्वार स्वतः जित्ने देखेपछि उसले औपचारिक रुपमा नेतृत्वले छलफल र सुझाव नमागेको कांग्रेसका एक नेताले बताए । अध्यक्ष एवं प्रधानमन्त्री ओलीले गरेको निर्णय उक्त बैठक मार्फत सार्वजनिक गर्ने तयारी गरेका छन् । यसअघि ओलीले संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने कसरत गरिरहेका छन्। संघीय समाजवादी फोरम सरकारमा आए वाम गठबन्धनबाट राष्ट्रपति उम्मेदवार बन्नेको पल्ला भारी हुनेछ । फोरमलाई सरकारमा ल्याउनका लागि शनिबारसम्म सहमति जुट्ने एमाले र माओवादी एवं फोरमकै नेताहरूले बताउँदै आएका छन् । बिहीबार बसेको वाम गठबन्धन(फोरमको बैठकले आन्तरिक छलफलका लागि सहमतिपत्रमा हस्ताक्षर गर्ने समय पर सारेका थिए । त्यसो त फोरमले सरकारमा सहभागी हुन चार मन्त्रालय मागेपछि सहमति हुन सकेको छैन । दुई मन्त्रालय र एक राज्यमन्त्री दिएर शनिबारसम्म फोरमलाई सरकारमा ल्याउने सत्ताधारी वाम गठबन्धनको तयारी थियो । एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले एमालेका तर्फबाट अहिलेकै राष्ट्रपति दोर्होयाउने सम्भावना रहेको स्विकार्छन् । त्यसको औपचारिक निर्णय भने स्थायी कमिटीले गरेर टुङ्ग्याउने नेम्वाङले बताए ।
    ’यस विषयमा औपचारिक रुपमा निर्णय भएको छैन। २० गतेसम्म स्थायी समितिले निर्णय हुनेछ’ उनले भने। राष्ट्रपतिका लागि एमालेभित्र पूर्व प्रधानमन्त्री तथा महासचिव माधवकुमार नेपालको कुरा पनि अगाडि आएको छ । तर, उनले आफू सक्रिय राजनीतिमा रहने बताउँदै आएका छन्। पूर्व प्रधानमन्त्री तथा अध्यक्ष झलनाथ खनालले पनि राष्ट्रपतिमा इच्छा जाहेर गरिरहेका छन्। जसमा एमाले भित्रको कुनै पनि समूहले सहमति जनाएको छैन । वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री नेपालले पनि खनाललाई राष्ट्रपति बनाउनेमा सहमति नजनाएको स्रोतले बतायो। एमालेबाट राष्ट्रपतिका लागि अन्य नेताहरूले इच्छा नदेखाएपछि र इच्छा देखाएका नेताको नाममा सहमति नजुट्ने भएपछि भण्डारी दोहोरिने लगभग निश्चित जस्तै छ ।
    संघीय संसदमा पहिलो स्थानमा रहेको एमालेबाट राष्ट्रपतिको उम्मेदवार बन्ने र उक्त उम्मेदवारीमा माओवादी केन्द्र र फोरमको समर्थन रहने सम्भावना भएकाले पनि अब एमालेबाट राष्ट्रपतिको उम्मेदवार बन्ने व्यक्ति निर्वा्चित हुने निश्चित जस्तै छ । प्रतिनिधिसभारप्रदेशसभाको निर्वाचनमा पहिलो पार्टी बनेको नेकपा एमालेले माओवादीसँग सत्ता गठबन्धनसँगै पार्टी एकिकरणमा लागेपछि राष्ट्रपति भण्डारीले आफुलाई दोर्होयाउनका निम्ती पहल थालेकी थिइन् । त्यसो त राष्ट्रपति र उपराष्ट्रपति दोर्होयाउने सन्दर्भमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैको एउटै मत देखिन्छ ।
    संघीय संसदमा एमालेको १४८, माओवादी केन्द्रको ६५ र फोरमको १८ सिट छ। त्यस्तै राष्ट्रपतिका मतदाता रहेका प्रदेशसभा सदस्यमा एमालेबाट २४३, माओवादीबाट १०८ र फोरमबाट ३७ सदस्य रहेका छन्। राष्ट्रपति निर्वाचनका लागि संघीय संसदका दुवै सदनका सदस्यहरू प्रदेशसभाका सदस्यहरूले पनि मत हाल्नेछन् तर उनीहरूको मतभार भने फरक हुनेछ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…