• चितवन, ३२ असार

    नेपाली कांग्रेसको केन्द्रिय समितिको जारी बैठकमा संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठेको छ । केही केन्द्रिय सदस्यले संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठाएको कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले बताए ।

    शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै कोइरालाले भने, ‘संविधानमा लेखिएको छ । यो अत्यन्तै पेचिलो विषय हो । प्रादेशिक संरचना खारेज गर्न त्यति सजिलो छैन । राम्रोसँग काम गर्दै गयो भने त्यो हुँदै जान्छ ।’ बैठकमा आफूलाई लागेको कुरा उठाउनु कुनै नौलो कुरा नभएको उनले बताए ।

    आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा पनि केन्द्रिय समितिको बैठकमा छलफल भइरहेको उनले बताए । गठबन्धन गर्दा कांग्रेसलाई कमभन्दा कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्ने उनले बताए ।

    गठबन्धन गर्दा चितवन क्षेत्र नं ३ फेरि पनि कांग्रेसको हातबाट फुस्किने निश्चित हो ? भन्ने प्रश्नमा उनले अहिल्यै आफूले केही  भन्न नसक्ने प्रतिक्रिया दिए ।

    अघिल्लो पटकको प्रतिनिधि सभाको निर्वाचनमा पनि कांग्रेस–राप्रपा गठबन्धन गर्दा क्षेत्र नं ३ कांग्रेसले पाएको थिएन । क्षेत्र नं ३ को अधिकांश भाग पर्ने भरतपुर महानगरपालिकाको निर्वाचनमा पनि माओवादी केन्द्रसँग गठबन्धन गर्दा कांग्रेसले मेयर पाउन सकेन ।

    स्थानीय तहको निर्वाचनका बेला कारबाहीमा परेका नेता कार्यकर्ताको कारबाही फुकुवाको विषयमा पनि वैठकमा छलफल भइरहेको उनले बताए । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसबाट वागी उमेदवारी दिएर कारबाहीमा परेका जगन्नाथ पौडेल कोइरालालाई स्वागत गर्न विमानस्थल पुगेका थिए । 

    फरक प्रसंगमा बोल्दै उनले पार्टी सभापति शेरबहादुर देउवालाई न्यायोचित ढंगले विभाग र भातृ संस्था बनाउन आफूले भनेको बताए । नेताहरुले आफ्नो पक्षका नेता कार्यकर्तालाई बोलाएर सल्लाह लिने कुरालाई ठूलो इस्यु बनाउन जरुरी नरहेको उनी बताउँछन् ।

    १४औँ महाधिवेशनका क्रममा देउवाले आफू निकटका नेताहरुलाई बोलाएर छलफल गरेको भन्दै उनले अहिले आफूले त्यही काम गर्दा गुटबन्दीको आरोप लागेको बताए । 

    ‘कांग्रेस विधिसम्मत, विधानसम्मन हिँडोस् भन्ने हो । यो एउटा समूहको पार्टी होइन, सबैलाई मिलाएर हिँड्नुहोस् भनिएको मात्रै हो’, उनले भने । कांग्रेस विधिसंगत रुपमा चलोस् भनेर आफुहरुले नेतृत्वलाई खबरदारी गर्दै आएको उनले बताए ।  

    रुस र युक्रेनबीचको युद्धले मात्रै नेपालमा यतिधेरै मूल्यबृद्धि नभएको भन्दै उनले बजारमा प्रभावकारी अनुगमन गर्न सरकारलाई अनुरोध गरेको बताए । 

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…