• काठमाडौं, ४ कात्तिक

    नेपाल समाजवादी पार्टी (नेसपा) बाट गोरखा २ (क) का प्रदेशसभा उम्मेदवार फणिन्द्र देवकोटाले जिल्लाको विकास तथा पूर्वाधारका लागि आफ्ना प्रतिबद्धताहरू अघि सारेका छन् ।

    पार्टीको निर्णयअनुसार माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिह्न लिएर चुनावी अभियानमा सक्रिय देवकोटाले गोरखाको विकासका लागि सडक, पर्यटन, खेलकुद, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, सिँचाइजस्ता पूर्वाधारमा जोड दिएका छन् ।

    डा.बाबुराम भट्टराई अर्थमन्त्री र प्रधानमन्त्री रहँदा उनको सचिवालयको नेतृत्व गर्दै गोरखाको समृद्धिका लागि क्रियाशील रहेका देवकोटाले तीन दशकको कानुनी, राजनीतिक र प्रशासनिक कार्यानुभवको आधारमा जनताले दिएको जिम्मेवारी कुशल र इमान्दारितापूर्वक निर्वाह गर्ने विश्वास सम्पूर्ण मतदातामा व्यक्त गरेका छन् ।

    देवकोटाले गोरखाको सडक सञ्जाल तथा यातायातमा बढी जोड दिएका छन् । यातायात सुविधा नै विकास र समृद्धिको पहिलो आधार भन्ने तथ्यलाई मध्यनजर राखी आफूले अघि सारेका योजनालाई प्रदेश सरकारको सहयोग र स्थानीय सरकारसँगको समन्वयमा अगाडि बढाउने वाचा गरेका छन् । 

    उनी भन्छन्, ‘पन्थडीहि–कटहरे–हर्मी–साइंलीटार सडकको कालोपत्रे गराउने कार्य सम्पन्न नहुन्जेल संघको सरकारलाई ताकेता गरिरहनेछु । दुधपोखरी सडक निर्माण कार्यलाई अगाडि बढाउन लाग्नेछु । गोरखा र पालुङटार नगरपलिकाका सबै वडा कार्यालयलाई सम्बन्धित नगरपालिकासँग कालोपत्रे सडकले जोडने कार्यमा लाग्नेछु ।’

    पालुङटार रिङरोड योजनालाई अगाडि बढाउने पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन् । पालुङटार विमानस्थललाई स्तरोन्नति गरी यथाशीघ्र कम्तीमा पनि काठमाडौं, पोखरा र भरतपुरसँग उडान भर्न लगाउने कार्यको पहल गर्ने देवकोटाले बताए । अहिले पनि विमानस्थल स्तरोन्नतिको काम भइरहेको छ । उनले गोरखाको पर्यटन प्रबद्र्धनलाई मुख्य योजनाको रूपमा अघि सार्दै त्यसका लागि लिगलिगकोट, देवकोट, बुढीकोटी जस्ता कोटहरूलाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने बताएका छन् ।

    पालुङटार र गोरखा नगरपालिका भित्रका भूलभुलेखार जस्ता तातोपानी निस्कने स्थानमा तातोपानी कुण्ड निर्माणकार्य सम्पन्न गर्ने, तालपोखरी, शिखरबेसी ताल, दरौँदीलगायत अन्य ताल–तलाउहरूलाई आन्तरिक पर्यटकहरूलाई आकर्षण गर्ने प्रकृतिका ताल–तलैया बनाउने कार्यमा लाग्ने बताउँदै देवकोटाले त्यसबाट सिँचाइलगायतका कार्यहरूसमेत गर्न सकिने बताएका छन् । गण्डकी प्रदेशसभा उम्मेदवार देवकोटाले मठ, मन्दिर, गुम्बा जस्ता धार्मिक स्थलहरूको स्तरोन्नति गर्ने कार्यमा पनि आफूले ध्यान दिने बताएका छन् ।  

    नेता देवकोटाले गोरखाका माथिका पर्यटकीय स्थलहरूलाई गोरखा बजार–मनकामना–लखन थापा÷भीमसेन थापा÷काजी कालु पाँडे जन्मस्थलहरू जस्ता अन्य पर्यटकीय स्थलहरूसँग जोडी एक गोरखा जिल्लाको दक्षिण भेगीय पर्यटकीय हब बनाउने बताए । उनले यसरी पर्यटन प्रबद्र्धन गर्दा रोजगारी र आयआर्जन हुने बताए । उनले सम्बन्धित ठाउँहरूमा होमस्टेका सुविधा विकास गरी आर्थिक आयआर्जनमासमेत सहयोग पुग्ने कार्यहरूमा यथेष्ट ध्यान दिने प्रतिबद्धता जनाएका छन् ।

    पालुङटारको क्षेत्रीय रंगशालालाई प्राथमिकतामा राखेर पूर्णता दिने प्रतिबद्धता देवकोटाको छ । साथै भट्टबेसीको खेलकुद मैदान निर्माण कार्य सम्पन्न गर्न गर्ने बताउँदै छेपेटारमा रहेको रंगशालालाई एकेडमीको रूपमा विकास गर्ने बताएका छन् ।

    प्रदेश सभा २ (क) का धेरैजसो बस्तीमा खानेपानीको समस्या भएको बताउँदै नेता देवकोटाले चेपे नदीबाट लिफ्ट खानेपानी योजनालाई सम्बन्धित निकायमा समन्वय गरी यथाशीघ्र सम्पन्न गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उनले भने, ‘नेवारे खानेपानी योजना, छेपेटार–सातदोवाटो खानेपानी योजना लगायतलाई अगाडि बढाउनेछु । स्वच्छ खानेपानी सबैको मौलिक अधिकार भएकोले अन्यत्रका गाउँवस्तीहरूमा त्यहाँको स्थिति हेरेर खानेपानी योजनाहरूको निर्माण गर्ने कार्यमा प्राथमिकताका साथ लाग्नेछु ।’ 

    गोरखा २ (क) निर्वाचन क्षेत्र कृषि उब्जनीको लागि पनि उर्वर भूमि हो । कृषकहरूले कृषि उत्पादनका लागि सिँचाइको समस्या भोग्नुपरेको छ । देवकोटाले सिँचाइका लागि आफूले सक्दो पहल गरिरहेको र चुनाव जितेपछि काम गर्न सहज हुने भन्दै छेपेटार–कुन्दुरटार सिँचाइ योजना यथाशीघ्र सम्पन्न गर्न पहल गर्ने बताए । उनले थप भने, ‘आवश्यकताअनुसार कृषियोग्य भूमिमा सिँचाइको व्यवस्था मिलाउन लागिपर्नेछु ।’

    लामो समय विद्यार्थी नेताको रूपमा रही राजनीति गरेका देवकोटाले शिक्षा तथा स्वास्थ्य विकास सम्बन्धमा आफूले गर्ने कामहरू पनि अघि सारेका छन् । उनले प्राविधिक र व्यावहारिक शिक्षा सरकारी स्कुलमा व्यवस्था गर्न स्थानीय तहका लागि प्रादेशिक सहयोग जुटाउने बताउँदै शैक्षिक सशक्तीकरण कार्यक्रममार्फत प्रत्येक तीन वर्षमा एकपटक भाग लिन पाउने गरी सबै शिक्षकका लागि पढाइका विषयवस्तुमा पुनर्ताजगी, अध्ययन अध्यापनमा आधुनिक प्रविधिहरूको प्रयोग, प्रभावकारी कक्षा सञ्चालन विधि, ई–टेक्नोलोजीको प्रयोग जस्ता विषयहरूमा क्षमता अभिवृद्धि हुने तालिमका कार्यक्रमहरूका लागि प्रादेशिक सहयोग जुटाउने पनि बताए ।

    प्रदेश सभा (क) मा स्वास्थ्य समस्या रहेको बताउँदै नेता देवकोटाले आँपपीपल तथा गोरखा अस्पातालको स्तरोन्नतिका लागि प्रादेशिक सरकारको सहयोगजुटाउने र विभिन्न स्थानमा रहेका स्वास्थ्य सस्थाहरूको स्तरोन्नतिको लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

    गण्डकी प्रदेश सरकारका तर्फबाट गोरखा २ (क) मा थालिएका जनहितका विकास निर्माणका कार्यक्रमहरूलाई निरन्तरता दिई यथाशीघ्र सम्पन्न गर्ने देवकोटाले बताएका छन् । उनले पालुङटार तथा गोरखा नगरपालिकाहरूले थालेका जनहितका विकास निर्माणका कार्यक्रमलाई निरन्तरता दिने तथा प्रदेश सरकारबाट यथासम्भव सहयोग बढाउने कार्यमा लाग्ने पनि बताए ।

    यो निर्वाचन क्षेत्रमा एक अन्तर्राष्ट्रियस्तरको नेसनल टेक्निकल इन्स्टिच्युट स्थापना गर्न र च्याङ्लि÷धुवाँकोटमा विशेष आर्थिक क्षेत्रका कामकारबाही अगाडि बढाउन लागिपर्ने, एकीकृत मस्र्याङ्दी करिडोर विकास योजनालाई प्रादेशिक गौरवको योजनामा राखी अगाडि बढाउन आफ्नो विशेष प्रयास हुने देवकोटाले बताएका छन् ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…