• काठमाडौं,  २३ मंसिर 

    गोविन्द गिरी प्रेरणाद्वारा लिखित जीवनीमूलक कृति ‘सुश्री पारिजात’ लोकार्पण गरिएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा बिहीबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो । प्राध्यापक भुवन ढुंगाना, लेखक एवम् सम्पादक श्रीओम श्रेष्ठ रोदन र लेखक प्रेरणाले पुस्तक सार्वजनिक गरे ।

    कार्यक्रमका वक्ता श्रीओम श्रेष्ठ रोदनले पारिजातको व्यक्तित्व र उनको साहित्यिक यात्रा एवम् जीवन जगतबारे आफ्ना धारणा राखे । साथै उनले प्रेरणासँगका आफ्ना अन्तरंग सम्बन्धहरुबारे पनि कार्यक्रममा प्रस्ट्याए । पारिजातका विषयमा यति खोजमूलक पुस्तक ल्याउनु आफैमा चुनौतीपूर्ण रहेको उनको भनाइ छ । श्रेष्ठले पारिजात इतिहासकै महान व्यक्तित्व भएको बताए । 'पारिजातको विषयमा यस अघि पनि कृति लेखिएका छन्, पछाडि पनि लेखिएलान् । तर पारिजातको विषयमा अध्ययन र अनुसन्धान गरेर लेखिएको यो पुस्तक अरु भन्दा फरक छ,' उनले भने, 'यो पुस्तक लेख्न उहाँले २ दशक लगाउनु भएको छ भने  यसमा पक्कै केही विशेष छ ।'

    यस्तै अर्का वक्ता प्राध्यापक भुवन ढुंगानाले पारिजातका विषयमा यति सूक्ष्म किसिमले अध्ययन गरी लेखिएको पुस्तक सायदै अर्को रहेको बताइन् । साथै उनले पारिजातसँगका आफ्ना सम्बन्ध एवम् भेटबारे पनि उल्लेख गरिन् । उनले पारिजातको व्यक्तित्वको विषयमा चर्चा गर्दै पारिजातको बाबासँगको सम्बन्धको बारेमा पनि कुराकानी गरिन् । उनले समग्रमा यो पुस्तक पारिजातलाई बुझ्नका लागि मात्र हैन उनका कृतिहरुको बारेमा जान्नको लागि पनि उपयोगी रहेको बताइन् ।

    कार्यक्रममा लेखक प्रेरणाले ‘सुश्री पारिजात’ पुस्तक लेख्न आफूलाई वर्षौँ लागेको र यसका सामग्री खोजबिनमा लामो समय खर्चिएको बताए । उनले यो पुस्तक २ दशकको समय लगाएर लेखेको बताएका छन् । यस्तै जीवनी लेख्न शुरु गर्दा प्रेरणाले आफूसँग भएका थुप्रै नाममध्ये पारिजात नै छानेको पनि उल्लेख गरे । पारिजातलाई प्रत्यक्ष रुपमा भेटेर गरेका संवाद अनि उनका विविध अन्तरंग सम्बन्धहरुका विषयमा पनि उनले उल्लेख गरे ।

    को हुन् प्रेरणा ?

    मकवानपुरको टेक्कर सिस्नेरीमा जन्मिएका गोविन्द गिरी प्रेरणा अमेरिका बस्छन् । एकाउन्टेन्ट तथा लेखा परीक्षकका रुपमा नेपालको त्रिभुवन विश्वविद्यालयमा साढे २२ वर्ष काम गरी स्वेच्छिक अवकाश लिएका उनी अमेरिकामा जीवन बिमा व्यवसायमा संलग्न छन् । कथा, उपन्यास, कविता, नियात्रा, निबन्धलगायतका विभिन्न २६ ओटा पुस्तक लेखिसकेका प्रेरणाले केही कृति सम्पादन तथा अनुवादसमेत गरेका छन्  । 

    नारायणी वाङ्मय पुरस्कार, युवा वर्ष मोती पुरस्कार, मैनाली कथा पुरस्कार, वासु शशी स्मृति साहित्य पुरस्कारलगायत पुरस्कारहरू तथा कैयन् सम्मान प्राप्त गरेका उनका केही रचना हिन्दी, अङ्ग्रेजी, मलाय, टर्किस, चिनियाँ तथा बङ्गाली भाषामा समेत अनुवाद भएका छन्  । विभिन्न नेपाली तथा विदेशी साहित्यकारहरूका फुटकर जीवनीमूलक रचना लेख्दै आएका प्रेरणाको पूर्ण जीवनी पुस्तक भने ‘सुश्री पारिजात’ पहिलो हो ।

    सुश्री पारिजातमा के छ ?

    शिरीषको फूल उपन्यासका लागि मदन पुरस्कार पाएकी सशक्त लेखक पारिजात आफ्नो समयमा सधैं नेपाली साहित्यको केन्द्रमा रहिन् । वाम राजनीतिमा प्रवेशका कारण होस् , आफ्नै उपन्यास च्यातिदिए हुन्छ, जलाइदिए हुन्छ भन्ने अभिव्यक्तिका कारण होस्, मोदनाथ प्रश्रितसँगको साइकल काण्डकै कारण होस्, जनआन्दोलनमा संलग्नताका कारण होस् वा प्राज्ञिक आन्दोलनको नेतृत्वकै विषयमा किन नहोस्, उनी कहिले के त कहिले के विषयका कारण चर्चाको चुलीमा रहिरहिन् ।  

    आजीवन लेखनको क्षेत्रमै समय बिताएकी उनले उपन्यास, कथा, कविता र बेजोड आत्मसंस्मरणमार्फत पाठकलाई आकर्षित गरिरहिन् । नियमित स्तम्भ लेखनका माध्यमबाट पाठक–शुभेच्छुकसँग संवाद पनि गरिरहिन् ।

    यिनै विलक्षण प्रतिभा पारिजातको सम्पूर्ण पक्ष केलाउँदै लामो समय लगाएर गोविन्द गिरी प्रेरणाले लेखेको पुस्तक हो, सुश्री पारिजात । यसअघि आधिकारिक जन्ममितिसहित पारिजातमाथि यति विस्तृत जीवनी सायदै प्रकाशन भएको थियो । पारिजातप्रति रूचि राख्ने अध्येता, अनुसन्धाता एवम् विज्ञ सबैका लागि पुस्तकले विशेष दिग्दर्शन गराउँछ । साथै तत्कालीन समयको साहित्यको अनौपचारिक इतिहाससमेत प्रस्तुत गर्छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…