• काठमाडौँ, १३ फागुन

    नेपाली कांग्रेसका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार रहनुभएका नेता रामचन्द्र पौडेलले नेपालको संविधानको अक्षरशः पालना गर्ने आफ्नो प्रमुख दायित्व हुने बताउनुभएको छ ।

        यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवार दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधानको रक्षा गर्न, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न र गणतन्त्रलाई संस्थागत गर्न आफ्नो सहयोग हुने बताउनुभयो ।

        नेता पौडेलले भन्नुभयो, “नेपाली जनताको हातमा आएको सार्वभौमसत्तालाई बलियो गरेर सुरक्षित राख्नु पर्नेछ, हालसम्मका परिवर्तनका उपलब्धिलाई रक्षा गर्दै मुलुकको उन्नति अगाडि बढाउने र राष्ट्रिय एकता तथा अखण्डतालाई सवल बनाउन काममा मेरो सहयोग हुनेछ ।”

        उहाँको उम्मेदवारी दर्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत विभिन्न पार्टीका शीर्ष नेताहरू नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन पुग्नुभएको थियो । उहाँको प्रस्तावकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका नेता अशोककुमार राई र जनमत पार्टीका नेता अब्दुल खान हुनुहुन्छ ।

        यसैगरी उम्मेदवार पौडेलको समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मिुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे हुनुहुन्छ ।

        कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संयुक्त बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

        यसअघि आजै बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति पदका लागि हुने निर्वाचनमा पार्टीका तर्फबाट पार्टीका पूर्वकावा सभापति एवं पूर्वसभामुख पौडेललाई उम्मेदवार प्रस्तुत गर्ने निर्णय गरेको थियो ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…