मोरङ । चैत्र ५ गते कोशी प्रदेश नाम विरुद्धको विराटनगरमा भएको जनप्रदर्शनमा प्रहरीको पिटाइबाट पदमबहादुर लिम्बू (लाजेहाङ) गम्भीर घाइते भएका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियर्सको केन्द्रीय सहकमाण्डर लाजेहाङको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्ष (आइसीयु)मा उपचार भइरहेको छ ।
कोशी प्रदेश नाम विरुद्ध चैत्र ५ गते प्रदेश नं. १ पुनः नामाङकण संयुक्त संघर्ष समितिको आयोजनामा जनप्रदर्शन भएको थियो ।
प्रदर्शनको क्रममा रोडशेस चोकमा आन्दोलनकारी र प्रहरीवीच झडप भएको थियो । प्रदर्शनकारीले सरकारले लगाएको ३ सय मिटरको निशेधित क्षेत्र तोडेर मुख्यमन्त्रीको गेट नजिक पुगेका थिए ।
सोही क्रममा प्रहरीको लाठी टाउकोमा लागेका पदमबहादुर लिम्बू (लाजेहाङ)को बाहिर समान्य निलडाम रहेको थियो । बुधबार (८ चैत्र) अपरान्ह बान्ता गर्दै बेहोस भएपछि अस्पताल भर्ना भएको थियो । अस्पताल भर्ना भएको लिम्बूको अझै होस नखुलेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले बताए । लिम्बूको टाउकोमा रगत जम्नुको साथै नसाहरु छिनिएको चिकित्सकहरुले बताएको घाइतेकी बहिनी लिला गुरुङले जानकारी दिए ।