• म ५५ वर्षीय पुरुष हुँ । मैले ४५ वर्षको उमेरमा २७ वर्षकी युवतीसँग विवाह गरेको हुँ । विवाह गरेको चार वर्षपछि मैले थाहा पाएँ, जीवनमा जागिर, पैसा र प्रसिद्धि ठूलो कुरा होइन, मुख्य कुरा त श्रीमतीसँग व्यवस्थित रूपमा जीवन चलाउनु रहेछ । अहिले उनको र मेरो दैनिक जीवनको रुचि खासै मिल्दैन । उनी सौन्दर्य, सिनेमा र घुमघाममा रुचि राख्छिन् भने म उनले चाँडोभन्दा चाँडो सरकारी जागिर खानुपर्छ भन्ने कुरामा जोड दिन्छु । उनी मलाई बूढो भैसक्नुभयो भनेर गाली गर्छिन् भने म तिम्रो केटाकेटीपन कहिल्यै गएन भनेर रिसाउँछु । हामी दुईको रुचि र उद्देश्य नमिल्दा हाम्रो यौनसम्पर्कसमेत कम हुँदै गएको छ । यसलाई कसरी व्यवस्थित गर्ने ? 

     

    कुरूणा कुँवर (मनाेविद)काे जवाफ ।

    अध्ययनहरूले देखाएअनुसार आदर्श सम्बन्धका लागि श्रीमान् र श्रीमतीबीचको उमेर भिन्नता सामान्यत: तीनदेखि चार वर्ष मात्र हुनुपर्छ । उस्तै–उस्तै उमेरका श्रीमान्–श्रीमती वा श्रीमान्भन्दा श्रीमती केही कम उमेरको भए पनि उनीहरूबीचको हरेक सम्बन्धमा खासै समस्या सिर्जना हुँदैन भने यौनजीवनसमेत सन्तुष्टिले भरिपूर्ण हुन्छ । यद्यपि यदि उनीहरूले उमेरको विषयलाई ठूलो मुद्दा बनाउँदैनन् भने श्रीमती श्रीमान्भन्दा केही बढी उमेरको भए पनि खासै फरक पर्दैन ।

    श्रीमान र श्रीमतीबीचको उमेर १२ वर्षभन्दा बढी छ भने उनीहरूका चाहना, प्राथमिकता तथा शारीरिक गतिविधिहरूमा भिन्नता देखा पर्छ । ४५ वर्षको श्रीमान् गल्फ वा टेनिस मन पराउने खालको हुन्छ भने ३० वर्षभन्दा कम उमेरकी महिलाको प्राथमिकता पौडी खेल्ने, रात्रि क्लब जाने, नाच्ने वा पार्टीहरूमा सहभागी हुने हुन्छ ।

    २७ वर्षकी श्रीमतीलाई उनका उमेरजन्य गतिविधिहरूको बिन्दास अनुभव गर्न रोक्नु अप्राकृतिक निषेध हुन्छ अर्थात् मूलको पानी थुन्न खोज्नुजस्तै हुन्छ । अर्को कुरा, ४५ वर्षको श्रीमान्लाई ३० वर्षमुनिका गतिविधिहरूमा तानेर ल्याउँदा पुरानै कुरा दोहोर्‍याउँदा हुने जस्तो दिक्दारी हुनु पनि स्वभाविक हो । किनभने उनका पनि उमेरजन्य प्राथमिकता एवं चाहना हुन्छन् । बढी उमेरका श्रीमान् कम उमेरकी श्रीमतीका लागि साथीभन्दा पनि अभिभावकजस्ता हुन्छन् । यसैलाई सकारात्मक रूपमा लिने हो भने श्रीमान्बाट अभिभावकले जस्तै बढी केयरिङ पनि प्राप्त हुन सक्छ । यहाँ तपाईंहरूको उमेरको फरकबाट सिर्जित समस्या हेर्दा श्रीमान्ले श्रीमतीको उमेरजन्य चञ्चले व्यवहारलाई सहज रूपमा बुझ्नु, त्यसलाई स्वीकार गर्नु तथा उनका चाहनाअनुरूप व्यवहार गर्नु नै समाधानको उपाय हुन सक्छ । तपार्इं आफूले लाखौं रुपैयाँको सोच बनाइरहनुभएको हुन सक्छ, तर श्रीमतीलाई २ सय रुपैयाँको टिकट लिएर चलचित्र देखाउन लाँदा त्योभन्दा बढी सन्तुष्टि प्राप्त हुन सक्छ भन्ने कुरा भुलिरहनुभएको हुन सक्छ । त्यसैगरी अर्को पक्षबाट हेर्दा श्रीमतीले पनि परिपक्व श्रीमान्बाट हुने बढी अभिभावकत्व तथा अनुभवबाट प्राप्त हुन सक्ने लाभ लिनुपर्ने हुन्छ ।

     

    श्रीमान्ले पनि श्रीमतीबाट जागिरको अपेक्षाभन्दा श्रीमतीको चाहना के छ र के–कस्तो जागिरमा रुचि छ भन्ने कुरा बुझ्नुपर्छ अनि त्यसैअनुरुप काम गर्ने अवसर प्रदान गर्नुपर्छ । यसले दुवै जनालाई नजिक ल्याउन मद्दत पुर्‍याउँछ । त्यसपछि यौनजीवनका सम्बन्धमा छलफल गर्ने, श्रीमतीको यौनचाहना र सन्तुष्टिका बारेमा बुझ्ने, यौनमा रोमाञ्चकता भए–नभएको बुझेर त्यसैअनुसार त्यसमा निखार ल्याउने काम भए उमेरको फरकबीच पनि सन्तुष्टि प्राप्तिका नयाँ ढोकाहरू खुल्न सक्छन् । एक–अर्काका चाहना एवं आकांक्षाहरूलाई सम्मान गर्न सक्दा रमाइलो वातावरण निर्माण हुन्छ । दुवै जना अलग–अलग दिशातर्फ फर्कने हो भने त उपलब्ध सम्भावना पनि गुम्छ । त्यसैले उमेरको ठूलो फरकबीचका सम्भावना खोज्नेतिर लाग्नु नै बेस हुन्छ ।

    बूढो महसुस गर्नु तपार्इंको चिन्तन अर्थात् सोचसँग सम्बन्धित विषय हो । तपाईंको सोच, संस्कार, चिन्तन एवं कार्यशैली युवास्तरका छन् भने तपाईंका हरेक गतिविधिको नतिजा पनि ऊर्जाशील हुन्छन् जसरी तपाईं कुनै जमानामा अध्ययनशील हुनुहन्थ्यो र परीक्षामा राम्रो नतिजा ल्याउनुहुन्थ्यो, तपाईंले आफूलाई राम्रो क्षमतावान् हुँ भनेर दाबी गर्न आज पनि त्यही स्तरको मेहनत गर्नु आवश्यक छ, अर्थात् नयाँ कुरा जान्न खोज्ने, ऊर्जाशील भैरहने सोच छैन भने विश्वास गर्नुहोस्, तपाईं बूढो हुनुभयो । सोच र चिन्तनका आधारमै मानिसलाई बूढो वा युवा भनेर परिभाषित गर्न सकिन्छ । युवा भएर पनि निष्क्रिय छ, जोस–जाँगर छैन, नयाँ कुरा जान्न खोज्दैन भने २० वर्षे मानिस पनि वृद्ध हुन्छ । फुर्तिलो, जोसिलो, शारीरिक अभ्यास गरी तन्दुरुस्त रहने एवं ज्ञानका दृष्टिले आफूलाई अद्यावधिक राख्ने मानिसहरू सधैं युवा रहन्छन् । त्यस्ता व्यक्तिलाई उमेरले खासै फरक पार्दैन । त्यसकारण तपाईंले आफूलाई २०–२२ वर्षे जवान सोचे युवाहरूमा हुने जस्तो ऊर्जा कायम रहन्छ । अर्को पक्ष के हो भने तपाईंहरू (श्रीमान् र श्रीमती) बीचको उमेरको फरक निश्चय नै बढी हो । यस्तोमा श्रीमान्– श्रीमतीबीचको सोच, चाहना एवं प्राथमिकताहरू फरक हुनु स्वभाविक पनि हो, तर यस्तो भिन्नतालाई सम्मान गर्ने हो भने तपार्इंहरूबीचको भावनात्मक तथा यौन सम्बन्धमा सुधार आउँछ ।  कान्तिपुर साप्ताहिक

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…