काठमाडौँ, १२ असार
नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७१ असार २ को निर्णयनुसार चुरे क्षेत्र भूभौगर्भिक रुपमा कमजोर, धेरै पानी पर्ने र जलाधारको महत्वपूर्ण क्षेत्र, भूकम्पीय कारणबाट अति जोखिमयुक्त, जैविक विविधतामा धनी रहेको, दुर्लभ वन्यजन्तुहरुको वासस्थान, जैविक मार्गका रुपमा चुरे क्षेत्रलाई लिने गरिन्छ । नेपालको कूल भूभागको करिब १२.७८ प्रतिशत क्षेत्र ओगटेको तत्कालीन ३६ जिल्लाका (हाल नवलपरासी जिल्लालाई दुई भागमा बाँडेपछि ३७ जिल्ला) मा ५० लाख माानिसको बसोबास रहेको छ । चुरे क्षेत्र, यसको जलाधार क्षेत्र र नदी प्रणालीलाई संवेदनशील एवं जोखिमपूर्ण भौगोलिक क्षेत्र घोषणा गर्दै वातावरण ऐन २०५३ को दफा १० को उपदफा (१) बमोजिम वातावरण क्षेत्र घोषणा गरिएको छ ।
पूर्व–पश्चिम लोकमार्ग, मदन भण्डारी लोकमार्ग र उतर–दक्षिण पहुँच मार्गहरु बनेदेखि खोरिया फँडानी गरी चुरेमा बसोबास गर्ने क्रम पनि बढ्दो छ । चुरे क्षेत्रमा लालपुर्जा नभएको र खेतीपाती गरी जग्गा उपभोग गर्नेको गाउँ बस्ती तथा घरधुरीको सूची लामो रहेको विभिन्न अध्ययनहरुले देखाएको छ । चुरेको वन जङ्गल मासेर खेतीपाती गर्ने, खुल्ला चरिचरन गर्ने गराउने, काठ र दाउराको व्यापक कटानी, वन डढेलो, बालुवा तथा गिट्टीे उत्खनन आदि कामले गर्दा चुरेको पारिस्थितिकीय प्रणालीमा व्यापक क्षति पुगेको छ । वर्षाको समयमा चुुरे क्षेत्रबाट गिट्टी, बालुवा बाढीले बगाएर तराईको उब्जाउ जग्गामा थुपारेर भूमि मरुभूमिका रुपमा परिणत हुँदैछ । चुरेबाट बग्ने नदीका बाढीले नदी किनारको जग्गा कटान गरेर नदीको चौडाइ पनि बढ्दो छ । तराईको तल्लो भागमा बाढीले डुबानको समस्या ल्याएको छ ।
कपिलवस्तुमा रहेको देशकै सबैभन्दा ठूलो दुई सय २५ हेक्टरमा फैलिएको मानव निर्मित अन्तरराष्ट्रिय रामसार सन्धिमा समावेश भएको जगदीशपुर तालको पानीको स्रोत वाणगङ्गा नदीको चुरे क्षेत्रमा फैलिएको जलाधार क्षेत्र नै हो । यस्तै अन्तरराष्ट्रिय रामसार सन्धिमा समावेश भएको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने तीन हजार २०० हेक्टरको बीस हजारी ताल र कैलालीको दुई हजार ५६३ हेक्टरमा फैलिएको घोडाघोडी ताल त झन चुरे क्षेत्रमा नै अवस्थित छ । दाङको घोराहीमा रहेको ५.५ विघा (३.७ हेक्टर) मा फैलिएको जखिरा ताल, मोरङको लेटाङमा रहेको १५ हेक्टरमा फैलिएको राजारानी तालको पानीको स्रोत पनि चुरे नै हो । चितवनका १७ वटा तालहरु, दाङको जखिरालगायत नौवटा ताल, कञ्चनपुरको वेदकोट ताल र झिमिला ताल, सुर्खेतको जजुरा ताल, सिरहा बाबा ताललगायत चुरे क्षेत्रमा करिब ३५ भन्दा बढी ठूला तालतलैयाको पानीको स्रोत चुरे पहाड हो ।
यी तालतलैयाहरु सिँचाइ, खानेपानीका स्रोत, जलचर तथा विभिन्न जीवजन्तु र पशुपक्षीको बासस्थान पनि हुन् । यसबाहेक भावर र तराईमा रहेका सर्लाहीको नारही मैन ताल, बाराको हलखोरिया दह, बाँकेको खस्रे ताल, बर्दियाको तारा ताल, धनुषाको जङ्गल दह, कैलालीको पुरैना र जोखर ताललगायत एक सय २० भन्दा बढी तालको पानीको स्रोत चु्रे पहाड नै हो । यी ताल तलैयाहरु स्वदेशी र पाहुना चराहरुको महत्वपूर्ण वासस्थान हुनाका साथै लाखौँ हेक्टर जमिन सिञ्चित भएको छ । यी तालहरुले भावर र तराईको जमिनमुनिको पानी रिचार्ज गर्न पनि महत्वपूर्ण भूमिका खेलेको छ । एकपटक माटो, ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरेपछि त्यसले पारिस्थितिकीय प्रणालीमा दीर्घकालीन असर गर्दछ ।
नेपालका चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका बाघ, गैँडा, हात्ती, गोहीलगायत अन्य वन्यजन्तुको खानेपानीको स्रोत खोल्साखोल्सीहरु तथा प्राकृतिक वा मानव निर्मित तालतलैयाहरुको पानीको स्रोत भनेकै चुरे हो । चितवन राष्ट्रिय निकुञ्जभित्र तथा मध्यवर्ती क्षेत्रभित्र पर्ने विसहजारी ताल, देवी ताल, नन्दन ताललगायत १० वटा ताल, पर्सा राष्ट्रिय निकुञ्जभित्र मानव निर्मित रमौल प्रतापपुर ताल, बर्दिया राष्ट्रिय निकुञ्जभित्र पनि १९ वटा सानाठूला तालको पानी चुरे क्षेत्रबाट नै आउँछ । चुरेभित्र पर्ने बाँके राष्ट्रिय निकुञ्जभित्र १५ वटा खोल्साखोल्सी र मानव निर्मित आठवटा तालतलैयाको स्रोत पनि चुरे क्षेत्र नै हो । चुरे क्षेत्र नेपालको जैविक विविधताको धनी क्षेत्र हो । बाघ, गैँडा, हात्तीलगायत महत्वपूर्ण वन्यजन्तुको बासस्थान यसै चुरे र भावर क्षेत्रमा पर्दछन् ।
यसबाहेक चुरे क्षेत्रमा वा चुरेसँग जोडिएका एक सय ३६ वटा पालिकामा बसोबास गर्ने मानिसकोे पानीको एकमात्र स्रोत चुरे पहाड मात्र हो । हेटौँडाको माछा केन्द्रमा रहेको माछापोखरीहरुको पानीको स्रोत चुरे नै हो । हेटौँडा उपमहानगरपालिकाको ठाडो खोलामा ५० भन्दा पनि साना पोखरी निर्माण गरी व्यावसायिक रुपमा माछा उत्पादन गरी त्यहाँ महिला समूहले उदाहरणीय कार्य गरेका छन् । सिँचाइ आयोजनाहरु धनुषा र सिरहामा कमला, चितवनको खगेरी, मकवानपुर र चितवनमा पूर्वी राप्ती सिँचाइ, रौतहटमा लालवकिया सिँचाइ, बर्दियाको रिहु खोला सिँचाइ, बाँकेमा झिगरिया नाला सिँचाइलगायतका थुप्रै साना र मध्यम खालका आयोजनाहरुको पानीको जलाधार क्षेत्र चुरे नै हो ।